July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

विपत जोखिम क्षेत्रमा पूर्वतयारी

भैरहवा- प्रत्येक वर्ष बाढी र कटानको समस्या झेल्दै आएको पश्चिम नवलपरासीमा विपद् जोखिम पूर्व तयारीको अभ्यास गरिएको छ । बाढी तथा विपद् जोखिमको प्रभावित क्षेत्रमा मनसुनका कारण हुने क्षति न्युनिकरण गर्न पाल्हीनन्दन गाउँपालिकामा प्रयोगात्मक अभ्यास गरिएको हो ।

Advertisement

नेपाली सेनाको गोरखदल गणको आयोजना र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा यस्तो अभ्यास भएको हो । यसमा जिल्लाका तीनै तहका सुरक्षा निकाय संलग्न थिए । उनीहरुले डुबानमा परेकाको कसरी उद्धार गर्ने, क्षतिबाट बचाउने भन्नेबारे अभ्यास गरेका थिए । घरायसी प्रयोगका समाग्रीमार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले स्थानीयलाई जानकारी गराएको थियो । 

Advertisement

बाढी र डुबानको जोखिमका पश्चिम नवलपरासी १७ औं स्थानमा रहेको छ । जिल्लामा वर्षायाममा ठूलो क्षति हुँदै आएकाले स्थानीयलाई समेत सचेत गराउन विपद् प्रतिकार्य अभ्यास गरिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए । स्थानीय तहलाई विपद्को समयमा हुने जोखिम न्युनिकरणका लागि सुरक्षा निकायसंग आपसी समन्वय बढाई जनचेतनाका कार्यक्रम संञ्चालन गर्न पनि प्रतिकार्य अभ्यास मार्फत आग्रह गरिएको छ ।

ठूलै विपद् आइलागेको जस्तो गरि गरिएको प्रयोगात्मक अभ्यास बाट सुरक्षा निकायलाई राहत र उद्धारका लागि सिकाइ हुने र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । बढी आएको समयमा गरीने उद्धारको लागि प्रयोगात्मक अध्यास गरीएको थियो । जिल्लाको सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउँपालिका बाढीको उच्च जोखिममा रहेका छन् ।