December 10, 2024, Tuesday
२०८१ मंसिर २५

निरंकुशताविरुद्ध लड्ने कवि

विनय रावल भन्नासाथ गोडा खोच्याएर हिँड्ने तर कसिलो, गठिलो शरीर र जोसिलो आवाज अनि आँटिलो ऊर्जावान् मानिसको अनुहार आँखामा आउँछ, उनलाई चिन्ने सबैको ।

बाल्यकालमा समयमै उपचार नपाएकाले कमजोर भएको एउटा गोडाका कारण शारीरिक दृष्टिले केही कमजोर भए पनि मानसिक रूपले अत्यन्त सबल र ऊर्जावान् थिए, विनय । वैचारिक रूपमा पनि सशक्त र जुझारु थिए ।

Advertisement

हत्तपत्त कसैसँग नदब्ने, कसैका सामु ननिहुरिने र आफ्नो अडानमा दृढ रहने उनको स्वभाव थियो । अन्याय नसहने र मनमा लागेको बोलिहाल्ने उनको बानी थियो । व्यंग्यमिश्रित हल्का मुस्कानयुक्त बोलीले प्रहार गर्न खप्पिस थिए उनी ।

३० को दशकमा नेपाली साहित्यमा निकै प्रतिभाशाली स्रष्टाहरू देखापरे । तिनैमध्येका एक हुन् विनय रावल । विनयको व्यक्तित्व छरिएको थियो, अलिकति साहित्यमा, अलिकति पत्रकारितामा, अलिकति जागिरमा ।

निश्चय नै जागिरले उनलाई परिवार पाल्न भरथेग गरेको थियो । तर, उनको पहिचान बनाउन सहयोग गरिरहेका थिए साहित्य र पत्रकारिताले । उनी भन्थे– जागिर नखाए त पेट कसरी पाल्ने ?

‘जागिर खाँदै, पदीय जिम्मेवारी पूरा गर्दै अन्यत्र पनि संलग्न र सक्रिय हुनुपर्छ । यसो गर्दा जागिरपछिको जीवन सहज हुन्छ ।’ अरूलाई यसो भन्ने उनी आफू पनि त्यसै गर्थे ।

पञ्चायती निर्दलीय शासन व्यवस्थाका विरुद्ध पटक–पटकका आन्दोलन र ज्ञानेन्द्र शासनकालका विरुद्ध पनि उनी विभिन्न माध्यमबाट लडी नै रहे । माओवादीले मच्चाएको आतंकविरुद्ध पनि उनले लेखेरै लडे । उनी निरंकुशता र अन्यायका विरुद्ध सधैँ लडे ।

विनय विभिन्न भूमिकामा रहे । नेपाल साहित्यकार संघको अध्यक्ष बने । प्रेस काउन्सिलको सदस्य बने । साझाको सञ्चालक चुनिए । वि.सं. २०१३ सालमा वीरगन्जमा जन्मिएका उनी लेखनसँगसँगै सम्पादनकार्यमा पनि संलग्न थिए । उनको सम्पादनमा अभिवन, मुकुट र श्रीजा प्रकाशित थियो । यद्यपि, यी पत्रिका दिगो हुन सकेनन् ।

तर, एकताका चर्चा बटुल्न सफल ‘तरलतावाद’का प्रवर्तकमध्येका एक उनले राष्ट्रपुकार र पुनर्जागरण साप्ताहिकमा अतुलेश र अभिनव रावल उपनामबाट स्तम्भ समेत लेखे । अन्य पत्रपत्रिकामा राजनीतिक तथा साहित्यिक लेख, रचनाहरूको निरन्तर प्रकाशन भयो । यी सबै भूमिकाले विनय बहुमुखी प्रतिभासम्पन्न थिए भन्ने पुष्टि हुन्छ ।

विनयको पहिलो कृति ‘मलाई तिमी आफूजस्तै बनाऊ’ कवितासंग्रह २०४९ सालमा साझा प्रकाशनले प्रकाशित गरेको थियो । ‘सपनाको देशमा’ उनको पछिल्लो कृति हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०६१ सालमा प्रकाशित यो कृति दिवंगत स्रष्टाहरूलाई समर्पण गरेका उनी अर्को वर्ष आफैँ दिवंगत भए ।

म्यानमार यात्राको संस्मरण ‘ठूल्दिदीको देश’ र ‘समय–प्रवाह’ नामक विभिन्न पत्रपत्रिकामा प्रकाशित समसामयिक लेखहरूको सँगालो उनका अरू प्रकाशित कृति हुन् । ‘समय–प्रवाह’ अतुलेशको नामबाट प्रकाशित छ ।

प्रजातन्त्रका हिमायती विनय हक, अधिकार र स्वतन्त्रताका पक्षपाती थिए । विनयले निरन्तर प्रजातन्त्रको पक्षमा लेखे । नागरिक हक, अधिकार र स्वतन्त्रताको पक्षमा लेखे । यिनै कारण रावललाई प्रजातन्त्र, मानवाधिकार र स्वतन्त्रताका पक्षपाती कविका रूपमा लिन सकिन्छ ।

समीक्षकहरूको दृष्टिमा विनय मानवीय अस्मिताको संरक्षणका पक्षमा दृढताका साथ उभिने मुखर कवि हुन् । मूलतः कवि व्यक्तित्वकै रूपमा चिनिने तर बहुमुखी प्रतिभा हुन् विनय । आफूले देखेजानेका, भोगेका, अनुभव गरेका विषयलाई जीवन्त रूपमा प्रस्तुत गर्नु उनको कवितामा पाइने वैशिष्ट्य हो ।

लघु आयामका उनका कवितामा विचारको ठाडो हस्तक्षेप रहने तर अभिव्यक्तिको इमानदारीका कारण तिनमा लय र संरचनाको विशिष्ट सन्तुलन पाइने समीक्षकहरूको धारणा छ ।

ध्रुव मधिकर्मीले ‘समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर’मा विनयलाई ‘अस्तित्व र वैचारिक आग्रहका कवि’ भनेका छन् । यो ठम्याइ गलत होइन । मधिकर्मीले भनेझैँ विनयले आफ्ना कवितामा मानवीय चाहना, सामाजिक एवम् राजनैतिक विसंगतिहरूलाई वैचारिक आग्रहमा अभिव्यक्त गरेको पाइन्छ ।

विनयको भनाइमा ‘साहित्य मनको सम्पूर्ण अभिव्यक्ति हो । साहित्य वा कवितामा मान्छेको जीवनलाई सुन्दर बनाउने, मानवीय बनाउने र परापूर्वकालदेखि यथास्थितिमा रहेको छ भने त्यसलाई परिवर्तन गरेर नयाँ रूप दिने जुन सपना र कल्पना हुन्छ, त्यसको अभिव्यक्ति नै सुन्दर साहित्य वा कविता हो ।’

मोहन कोइरालाले ‘मलाई तिमी आफूजस्तै बनाऊ’को भूमिकामा लेखेका छन्, ‘अन्य कविको जस्तो उनको एक कवितामा चिन्तन उकुसमुकुस र विचार अनि कथ्यको घुइँचोपन कोचाकोच भएको नलाग्ला, तर विनय रावलको आफ्नो पद्दतिको धैर्य र दृढपन कवितामा यथेष्ट र प्रस्ट छ । उनको छोटो अनि सजिलोपन पाठकलाई आफूतिर तान्ने बडो सक्षम प्रविधि हो । त्यसैमा उनी लामो कालपर्यन्त कवितामा हावी पनि रहनेछन् ।’

विष्णुविभु घिमिरेले विनयलाई ‘कवितामा अराजक थिए’ भनेका छन् । यो उनका कविता पढ्ने जो कसैले सहजै महसुस गर्न सक्ने कुरा हो । गोविन्द गिरी ‘प्रेरणा’ले चाहिँ ‘विनय रावल प्रतिबद्ध कवि थिए, तर कविताभन्दा उनको पहिलो सर्त प्रजातन्त्र थियो, अभिव्यक्ति स्वतन्त्रता पहिलो सर्त थियो’ भनेका छन् ।

गिरीले राजनीतिमा प्रधानमन्त्री हुनुअघि गिरिजाप्रसाद कोइराला कम्युनिस्टका जति कट्टर विरोधी थिए, साहित्यमा विनय रावल उस्तै लाग्थे’ भनेका छन् । गिरीले विनयको उद्धृत गर्दै आफ्नो एक आलेखमा लेखेका छन्, ‘उनको एउटै तर्क हुन्थ्यो– अभिव्यक्ति स्वतन्त्रताका विरोधी कम्युनिस्ट पनि साहित्यकार हुन्छन् ?’ उनको विचारमा विनयको मृत्यु अकल्पनीय, असामयिक र अपूरणीय थियो ।

माथि नै उल्लेख गरियो, ३० को दशकमा नेपाली साहित्याकाशमा थुप्रै प्रतिभाशाली कवि, स्रष्टा देखापरे । तिनैमध्येका एक विनय अल्पायुमै मृत्युको मुखमा परे । विनयका कृतिहरू हाम्रासामु छन् । त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । सधैँ केही न केही लेख्ने उनले लेखेजति सबै रचना पक्कै प्रकाशित भएका छैनन् । अवश्य पनि प्रशस्त रचना अप्रकाशित अवस्थामा होलान् । त्यस्ता रचनाहरूको संकलन, संरक्षण र प्रकाशन गर्नु अबको जिम्मेवारी हो ।

यसका लागि विनयलाई माया गर्ने, विनयको लेखनका प्रशंसक, विचारका अनुयायी र शुभेच्छुक सबैको सक्रियता आवश्यक छ । त्यसो त यस कार्यका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनजस्ता संस्थाले अग्रसरता लिनुपर्ने हो । तर, त्यस्तो सम्भावना क्षीण नै रहेकाले परिवारसँग सम्पर्क गरी उनका रचना संकलन गर्ने र प्रकाशित गर्नेतर्फ हामी सबैको ध्यान पुग्नु जरुरी छ । यसो गर्न सकिएमा त्यो नै विनयप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । baarhakhari