July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

रुपन्देहीमा बस दुर्घटना: मृतक ९ मध्ये ४ जनाको पहिचान खुल्यो [अपडेट]

भैरहवा– रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा मृतक ९ जना मध्ये ४ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास छन् ।

Advertisement

यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३२ जनामध्ये २४ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर र ८ जनाको अवस्था भने मध्यम रहेको उनले बताए । दुर्घटना के–कति कारणले भयो ? भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।