सेनाले क्याम्प राख्न लागेपछि विरोध
भैरहवा- ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउपालिका-६ मा नेपाली सेनाको क्याम्प स्थापना गर्न लागेपछि स्थानीयले विरोध जनाएका छन् । उक्त वडाको बयलचौरमा स्थानीयसित छलफल नगरी क्याम्प राख्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन् । सामुदायिक वन सरोकार समूहका अध्यक्ष कर्मप्रसाद शाहीले स्थानीयको सरोकार रहेको विषयमा स्थानीयसँग कुनै चासो नराखेर एकपक्षीय ढंगबाट गर्न लागिएको कामको विरोध गरिएको बताए ।
यो निर्णयबाट पछि नहट्दासम्म आन्दोलन गरिने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मा सम्बन्धित निकायले लिनुपर्ने शाहीले बताए । यस विषयमा केही दिन अघि छलफल पनि भएको थियो । तर क्याम्प राख्ने विषयमा स्थानीयले विरोध गरेका थिए । क्याम्प राख्दा स्थानीयको माग र आवश्यक्तालाई सम्बोधन गर्नुपर्ने भए पनि त्यसको वेवास्ता गरेरै जवरजस्ती गर्न खोजिएको अध्यक्ष शाहीले बताए । यस अघि पनि पटकपटक क्याम्प राख्ने प्रयास गरिए पनि सम्भव भएको थिएन । यस पटक पनि आफूहरु क्याम्प राख्ने कुराको विरोधमा निरन्तर लागिरहेको भनाई शाहीको छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालयले भने ढोरपाटन सिकार आरक्षको सुरक्षाका लागि आरक्ष पोष्ट राख्न लागेको बताएको छ । प्रमुख संरक्षण अधिकृत विरेन्द्र कडेलले सबैको सल्लाहमा आरक्ष पोष्ट निर्माण गर्ने र सुरक्षा राख्ने तयारी भइरहेको जानकारी दिए । केही स्थानीयले विरोध गरेको र अधिकांशले सुरक्षा राख्नुपर्ने माग गरेको उनले बताए । गाउँपालिकाका पदाधिकारी समेत सकारात्मक रहेको भन्दै उनले सुरक्षा पोष्ट राखेका कारण सर्वसाधारणलाई कुनै असजिलो नहुने बताए ।
प्रतिकृया दिनुहोस्