जनभावनाअनुसार नगरको विकासमा लाग्न जनप्रतिनिधिलाई सुझाव


भैरहवा– सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानले पार्टीभन्दा माथि उठेर आफूले नगर विकासको काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आस्था र धर्म भन्दा माथि मानवता भएको जनाउँदै आफूले कुनै भेदभाव र पक्षपत नगरी काम गर्ने जनाए । उद्योग व्यापार संगठन रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख खानले नगरलाई उत्कृष्ट नगर बनाउन लागिपर्ने बताए । उनले भने, ‘उत्कृष्ट नगर बनाउन नसके पाँच वर्षपछि नगरबासीले मसँग हिसाब माग्ने पूर्ण अधिकारी छ ।’
उनले आफूपार्टी भन्दा माथि उठेर काम गर्ने जनाउँदै नगरबासीलाई कुनै पीडा र अप्ठ्यारो भए गुनासो गर्ने पूर्ण अधिकार भएको जनाए । पैसा कमाउने नियतका साथ काम नगर्न आफूले प्राविधिकहरुलाई निर्देशन दिइसकेको उनले बताए । उनले भने, ‘वातावरणमैत्री शहर बनाउन लागिपरेका छौं, मैले पाएको मत बराबर विरुवा रोप्ने घोषणा गरिसकेको छु ।’
नगरपालिकाको निर्वाचित टीम एकढिक्का भएर काम गर्नुपर्नेमा जोड उनको छ । काम गर्दा जनताको नोक्सानी नभए पार्टीको पनि नोक्सानी नहुने उनले दावी गरे । जनताले जिताएर आफूहरुलाई सम्मान गरेको बताउँदै खानले एकछिन पनि जनमतको अपमान हुन नदिने जनाए । उनले छाडा चौपाय र फोहोरमैलाको व्यवस्थापन नगरपालिकाको प्राथमिकतामा रहेको बताए । ‘नगर सफा भएन र दुर्गन्धित भए त्यसले मलाई पनि असर गर्छ, त्यसैले नगरलाई ‘क्लिन एण्ड ग्रीन’ बनाउन लागि पर्नेछु’, उनले भने ।
नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जनप्रतिनिधिको रुपमा निर्वाचित सबैको एउटै उद्देश्य नगरको विकास नै भएको बताइन् । ‘नगरमा साना–साना कामबाट सुरु गर्नुपर्छ, साना भनिएका कामबाट नागरिकलाई ठूलो राहत मिल्छ’, उनले भनिन् । यसअघिको स्थानीय सरकारको नेतृत्वले सिद्धार्थनगरमा राम्रो काम गरेको र राम्रो काम गर्ने क्रममा केही कमीकमजोरी हुनु स्वभाविक भएको बताइन् । ‘म विश्वास दिलाउन चाहन्छु, हातेमालो गरेर अगाडि बढ्छौं, आफूहरुबाट केही कमीकमजोरी भए ढुक्कसँग भन्न आग्रह गर्न चाहन्छु’, उनले भनिन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नारायणप्रसाद उपाध्याय, ५ का अध्यक्ष पुरनप्रसाद श्रेष्ठ, ९ का अध्यक्ष शेषकान्त भण्डारीले सिद्धार्थनगर कुनै व्यक्ति विशेषको नभइ सबैको भएको बताउँदै जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उद्योग व्यापार संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले संगठनले उद्योगी व्यवसायीको आवाज निरन्तर उठाउँदै आएको जनाउँदै अहिलेका निर्वाचित जनप्रतिनिधिबाट संगठनलाई सहयोग हुने विश्वास व्यक्त गरे ।
संगठनका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले केन्द्रमार्फत नगरपालिकामा आएको सम्पूर्ण रकम संगठनलाई प्राप्त नभएकाले उक्त रकम उपलब्ध गराइदिन माग गरे । ‘विभिन्न समस्याका बाबजुद संगठनको भवन निर्माण गरिएको छ, तर केन्द्रबाट नगरपालिकामा आएको सम्पूर्ण रकम पाएका छैनौं, उक्त रकम उपलब्ध गराउन नवनिर्वाचित जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्छ’, उनले भने । उनले निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न जनप्रतिनिधिलाई आग्रह गरे ।
संगठनका पूर्व अध्यक्ष तथा सल्लाहकार खिमबहादुर खत्री, सल्लाहकार सुरेन्द्र बस्याल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, संगठनको उद्यमी महिला उपसमितिका अध्यक्ष विन्दु न्यौपाने लगायतले बोल्दै नगरभित्र रहेको मुख्य समस्याहरु समाधान गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।








प्रतिकृया दिनुहोस्