April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस विजयी

गुल्मी- गुल्मीदरबार गाउंपालिका, गुल्मीमा अध्यक्ष र उपाध्यक्षसहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेंगा विजयी भएका हुन् । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ ।

Advertisement

कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका उम्मेदवार कृष्णप्रसाद भुसाल र उपाध्यक्षका उम्मेदवार शुसिल पुन पराजित भए । भुसाल र पुन गत स्थानीय निर्वाचनमा समेत पराजित भएका थिए । २०७४ को निर्वाचनमा समेत कांग्रेस चार वटा वडासहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।

Advertisement

कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित थापाले ६१६६ मत ल्याउंदा एमालेका भुसालले ५६०२ मत ल्याए । थापाले भुसाललाई ५६४ मत अन्तरले पराजित गरे । कांग्रेसबाट पालिका उपाध्यक्ष विजयी ढेंगाले ६१८८ मत ल्याउंदा पुनले ५५८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयका प्रकाश थापाले जानकारी दिए । थापाले पुनलाई ५९९ मत अन्तरले पछाडी पारेका हुन् । यस पालिकामा कांग्रेस र एमाले दुवै पार्टीले किल्ला जोगाउने र भत्काउने दाउमा थिए । कांग्रेसले आफ्नो किल्ला जोगाउन सफल भएको छ । एमालेको पालिका पल्टाउने रणनीति सफल हुन सकेन ।

वडा नं. १ मा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद कंडेल विजयी हभएका छन् । यस वडामा गत निर्वाचनमा एमाले विजयी भएको थियो । वडा नं. २ मा एमालेबाट विष्णुप्रसाद गौतम विजयी भएका छन् । गत निर्वाचनमा यस वडामा एमाले नै विजयी भएको थियो ।

वडा नं. ३ कांग्रेसका रामबहादुर थापा विजयी भएका छन् । गत निर्वाचनमा यस वडा कांग्रेसले नै जितेको थियो । वडा नं. ४ मा एमालेबाट देविराम (बावुराम) पोखरेल विजयी भएका छन् । यस वडामा गत निर्वाचनमा एमाले नै विजयी भएको थियो ।

वडा नं. ५ मा एमालेबाट गुणानिधि पौडेल विजयी भएका छन् । गत निर्वाचनमा यस वडामा कांग्रेस विजयी भएको थियो । वडा नंं ६ मा कांग्रेसबाट मुकेश थापा विजयी भएका छन् । गत निर्वाचनमा कांग्रेस नै विजयी भएको थियो । वडा नं. ७ मा कांग्रेसबाट शालिकराम टण्डन विजयी भएका छन् । गत निर्वाचन पनि यस वडामा कांग्रेस नै विजयी भएको थियो ।