March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

स्थानीय तह निर्वाचन : रूपन्देहीमा ४६०४ सुरक्षाकर्मी परिचालन

भैरहवा– स्थानीय तह निर्वाचनलाई लक्षित गरेर रुपन्देहीमा सुरक्षा व्यवस्था र निगरानीलाई कडा पारिएको छ । सबै मतदानस्थल, केन्द्रको सुरक्षा र निगरानीसँगै नागरिकलाई भयरहित वातावरणमा मतादान गर्ने वातावरण तयार गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

Advertisement

जिल्लामा निर्वाचन सुरक्षाका लागि चार हजार ६ सय चार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशसन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नेपाल प्रहरी १ हजार ४ सय, सशस्त्र प्रहरी ६ सय, नेपाली सेना ६ सय र म्यादी प्रहरी २ हजार ४ सय परिचालन गरिएको उनले जनाए ।

Advertisement

सुरक्षा निकायका अनुसार तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने छ । पहिलोमा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घरामा नेपाली सेना रहने छन् । यसका साथै जिल्लाभर प्रहरी, सशस्त्र, सेनाको मोबाइल टोली पनि खटाइने छ ।

रुपन्देहीमा ७ सय मतदान केन्द्र र २ सय ८ मतदानस्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको संख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । जिल्लामा ६२ वटा मतदानस्थललाई सुरक्षा निकायले अतिसंवेदनशील सूचीमा राखेको छ । यस्तै, ६८ वटालाई संवेदनशील र ७८ वटालाई समान्य सूचिमा राखिएको छ । निर्वाचन कार्यालयका अनुसार मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।

सुरक्षा चुनौतीलाई मध्यनजरमा राखेर त्यहीअनुसार सुरक्षा रणनीति बनाइएको प्रशासनको भनाई छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रुपन्देही चौथो जिल्ला पर्छ । उनका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रुपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको संख्या आठ छ ।

निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता थिए । नगरपालिकामा सबभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थिए । जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता रहेका थिए । रुपन्देहीमा ३८ दल चुनावी प्रतिस्पर्धामा छन् भने अधिकांश पालिकामा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।