May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

मोदी आउने भएपछि लुम्बिनीमा उच्च सुरक्षा सतर्कता

भैरहवा– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी लुम्बिनी आउने भएपछि यहाँको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । सुरक्षा निकायले मोदीको सुरक्षाका लागि उच्च सतर्कता अपनाएका छन् ।

Advertisement

मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउन लागेका हुन् । यसअघि उनी आउने भनिए पछि अन्तिम समयमा आएर रद्ध गरिएको थियो । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) बुधबार नै लुम्बिनी आइसकेको नेपाली सुरक्षा निकायले जनाएका छन् ।

मोदी आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर लुम्बिनी आउन लागेका हुन् । लुम्बिनी विकास कोषले मोदीको स्वागतको लागि तयारी तीव्र पारेको छ । मोदीका लागि लुम्बिनीमा ४ वटा हेलिप्याडको निर्माण अन्तिम चरणमा पुगेको छ । स्वागतद्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको लुम्बिनी विकास सदस्य सचिव सानुराजा शाक्यले बताए ।

उनकाअनुसार मायादेवी मन्दिर परिसर रंगरोगन, अन्य ठाउँमा पनि सरसफाई, बाटा निर्माण लगायतका काम भइरहेका छन् । लुम्बिनी आएका भारतीय सुरक्षाकर्मीले बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसेकेको छन् । ‘फ्रन्टलाइनमा भारतीय सुरक्षाकर्मी हुनेछन्, भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको छ, जिल्लाले बाहिरी सुरक्षा मात्र हामीले हेरेका छौं’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले भने, ‘हामीले अहिले लुम्बिनीसहित वरिपरिका सबै क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’

कोषका अनुसार लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्तम तय भएको छ । त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरुको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेरेडेसन भारतको संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । एक अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र बौद्ध बिहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । मायादेवी मन्दिरमा करिब ४० मिनेट बिशेष पूजामा सहभागी हुने र त्यहाँ केही बेर फोटोशेसन तथा अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गर्ने कार्यक्रम छ । मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा पनि सहभागी हुनेछन् ।

मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने जनाइएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट एउटामा मोदी र अन्य तीन वटा हेलिकप्टरले मोदीलाई स्कटिङ गरेर लुम्बिनी ल्याउने छन् । मोदीले लुम्बिनीमा २ देखि ३ घण्टा विताउने छन् । मोदी आउने भएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी हर्षित छन् ।