एक सय ६ मतदान केन्द्र संवेदनशील
बाँके- भोलि देशभर नै स्थानीय तहकाे निर्वाचन हुँदैछ। त्यसका लागि निर्वाचनमा खटिएका कर्मचारीहरू मतदान केन्द्रको व्यवस्थापनमा जुटेका छन्। मतदाता परिचयपत्र वितरण गरिरहेका छन्।
बाँकेमा एक सय ३६ वटा मतदानस्थल छन्। त्यसमा तीन सय ७९ वटा मतदान केन्द्र छन्। स्थानीय प्रशासनले एक सय ६ वटा मतदान केन्द्रलाई संवेदनशीलको सूचीमा राखेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले संवेदनशीलको सूचीमा परेका मतदान केन्द्रहरू धेरैजसो दक्षिणभेगका रहेको जानकारी दिए।
बाँके सीमावर्ती जिल्ला हो। यसको दक्षिणमा भारत पर्दछ। खुल्ला सीमानाकाका कारण दक्षिणका मतदान केन्द्रलाई संवेदनशील मानिएको हाे।
पूर्वको नरैनापुरदेखि नेपालगञ्ज हुँदै पश्चिमको खजुरा गाउँपालिकासम्मको ६५ किलोमिटर सीमामा रहेका मतदान केन्द्रलाई संवेदनशीलमा राखेको प्रशासनले त्यहाँ निगरानी बढाएको छ।
सुरक्षाको तीन घेरामा चुनाव हुँदैछ। बाहिरी घेरामा नेपाली सेना रहेको छ। सेनाले गस्ती, पेट्रोलिङ गरिरहेको छ। त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरा रहेको छ।
जिल्लाका हरेक मतदान केन्द्रमा सहज तरिकाले गएर भोट हाल्ने व्यवस्था मिलाएको प्रशासनले जनाएको छ।
६५ किलोमिटरभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अढाई किलोमिटरमा र सशस्त्र प्रहरीको पाँच किलोमिटर आसपासमा पोस्ट रहेका छन्।
प्रतिकृया दिनुहोस्