May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला दाङ प्रहरीको नियन्त्रणमा

दाङ– विप्लब नेतृत्वको नेकपाबाट फुटेर केही दिन अघि छुट्टै पार्टी बनाएका नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

चुनाब बहिष्कार गर्ने केन्द्रिय नीति लिएको सो पार्टीका केन्द्रिय अध्यक्ष बास्तोलालाई आज बिहान ४ बजे दाङको भालुबाङबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो घर नेपालगञ्ज जानेक्रममा उनी पक्राउ परेका हुन् ।

शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्षरुपमा गराउने बारेमा बास्तोलासँग प्रहरीले छलफल जारी राखेको एसपी काफ्लेले बताए । चुनाब बहिष्कारदेखि चुनाब भाड्ने गरि बिरोधी गतिबिधि गर्ने पार्टीले नीति लिएपछि बास्तोलालाई प्रहरीले निगरानीमै राखिरहेको थियो ।

‘उहाँलाई हामीले भालुबाङबाट नियन्त्रणमा लिएका छौं र प्रहरीले अहिले छाडेको पनि छैन,’ काफ्लेले भने, ‘उहाँहरूको निर्वाचन बहिष्कार अभियान रहेकै कारण हिजो मात्रै बुटवलमा बम बिस्फोट पनि भएको छ, सोही कारण उहाँलाई निगरानीमा राखेर सोधपुछ गरेर घटनाको अनुसन्धान भइरहेको छ।’

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरी प्रधान कार्यालको निर्देशन अनुसार नै निगरानी बढाइएको थियो । निर्वाचन बहिष्कारको नीति लिएकै बेला हिजो मात्रै बुटवलमा बम बिस्फोट भएपछि दाङ प्रहरीले सजगता अपनाउँदै बास्तोला दाङ प्रवेश गरे लगत्तै प्रहरी सजग र सचेत भएर नियन्त्रणमा लिएको एसपी काफ्लेले बताए ।

एसपी काफ्लेका अनुसार बास्तोला अहिले प्रहरी घेरामै रहेकै कारण निर्वाचन सम्पन्न नहुँदासम्म उनलाई प्रहरी निगरानीमै राखिने भएको छ।