March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

‘आँशु लिएर आउने नागरिकलाई हाँसो दिएर पठाउनेछु’

जीवनकालको अधिकांश समय सामाजिक सेवामा बिताएका सिद्धार्थनगरका इस्तियाक अहमद खान ‘सादा जीवन, उच्च बिचार’का व्यक्ति हुन् । संविधानसभा सदस्यका रुपमा मुलुकको मूल कानुन निर्माणमा योगादन पुर्याएका खान अहिले आफ्नो नगरपालिकालाई सफा, स्वच्छ र ‘ब्युटिफुल’ बनाउन सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका छन् । सादा व्यक्तित्व भएका व्यक्ति नगरपालिकाको नेतृत्व गर्न तम्सिएपछि अहिले सिद्धार्थनगरमा खानको पक्षमा जनलहर देखिएको छ । यसपटक सत्ता साझेदार गठबन्धनका तर्फबाट प्रमुख प्रत्यासी खानले सिद्धार्थनगरमा नेपाली कांग्रेसको बिरासत फर्काउने निश्चित जस्तै छ । आफ्नो पक्षमा आएको उभार देखेपछि खानले भारी मतले चुनाव जित्ने दाबी गरे । मतान्तरका हिसावले आफ्नो बिजय ‘रेकर्ड’धारी हुने उनले बताए । सिद्धार्थनगरका सबै वडामा घरदैलो सकेर मतदातासित व्यक्तिगत अन्तक्र्रियामा रहेका उनले निर्वाचन अगाडि जस्तै चुनाव जितेपछि प्रत्येक घरमा पुगेर जनताका समस्या बुझ्ने बताए । प्रस्तुत त, खानसित पब्लिक कुरा संवाददाताले गरेको कुराकानी :

Advertisement

तपाइँको प्रचार–प्रसार कार्यक्रम कस्तो चलिरहेको छ ?
राम्रो र उत्साहपूर्वक चलिरहेको छ । जनताले मलाई निकै माया गरिरहनु भएको छ । साथीभाई, दाजुभाई, दिदी–बहिनी सबैले माया गरिरहनु भएको छ । मेरा इमान्दार साथीहरु धेरै छन् । चाहे ती पुरुष हुन, या महिला । सबैले मलाई हौंस्याइरहनु भएको छ । मसँग इमान्दार र सच्चा साथी, भाई, बुवा, आमा, बहिनी छन् । त्यसमा मलाई घमण्ड पनि छ । मेरो सन्देश मतदाता समक्ष पुगिरहेको छ । मतदाताका अपेक्षा म समक्ष आइरहेका छन् । दोहोरो सम्वाद भइरहेको छ । सकभर सबैलाई भेट्ने प्रयास गरेको छु ।

Advertisement

रातदिन जनताको घरदैलोमा पुगिरहनु भएको छ, कत्तिको थाक्नुभयो ?
जनताको सेवाका लागि र ‘ब्युटिफुल’ सिद्धार्थनगर बनाउने अभियानमा छु । यत्तिकै दौडधुपले थाकियो भने भोलि नगरबासीको कसरी सेवा गरौंला र ? त्यसैले म थाकेको छैन । मतदाताको अपार समर्थनले हौंसिएको छैं । बरु नसुतेरै म आम मतदातासित छलफल र कुराकानीमा बिताइरहेको छु । समाजका लागि लामो समयदेखि सेवा गर्दै आएको मान्छे । जनताको सुखदुःखमा हातेमालो गर्ने बानी परेको छ । यो समय भनेको जतिसकिन्छ जनतासित भेटघाटमा बिताइरहेको छु र पछि पनि विताउने छु ।

अहिले मतदाताको अपेक्षा के पाउनुभयो ?
सबै मतदाताले तपाइँ इमान्दार व्यक्ति हो, अगािड बढ्नुस् भनिरहनु भएको छ । सबैले आशीर्वाद दिनुभएको छ । धेरैजनाले मेरो नाम सुनेको बताउनुहुन्छ । पहिलोपटक भेट्दा खुसी व्यक्त गर्नुहुन्छ । प्रत्यक्ष भेट्न नपाउँदा फोन गरिरहनु भएको छ । दिनमा पाँच हजार कल फोन आइरहेका छन् । सबैको फोन उठाउँछु । फोनमा व्यस्त भएको देखेर घरदैलोमा व्यस्त साथीहरु रिसाउने अवस्था हुन्छ । म सकभर फोनमा भए पनि कुरा गर्न चाहन्छु । गरिरहेको छु । यस अवधिमा मेरो फोनको ब्याट्री तीनपटक बिग्रिसक्यो । नयाँ फेरँे । म सुतेको छैन । फोनमै भए पनि मतदातासित कुराकानीमा छु । सबैको शुभकामना छ । सबैले दुई हातले आशीर्वाद दिइरहनु भएको छ । तपाइँ जस्तो मानिसको आवश्यकता छ भनिरहनु भएको छ । तपाइँ जित्नुहुन्छ भनिरहनु भएको छ । तपाइँ जस्तो हुनुहुन्छ, त्यस्तै रहनु होला, तपाइँ नै नगरलाई आवश्यकता छ भनिरहनु भएको छ ।

अहिले गठबन्धन छ, कस्तो सहकार्य भइरहेको छ ?
गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रबीच एकदम सुमधुर सम्बन्ध छ । दुबैपार्टी एक भएका छौं । तेरो, मेरो छैन । हरेक प्रचारमा माओवादीबाट उपप्रमुखकी उम्मेदवार कमला थापा दिदीलाई भोट मागिरहेको छु । पहिले उहाँको लागि माग्छु, अनि मेरो लागि माग्छु । त्यसपछि वडाध्यक्ष र सदस्यहरुका लागि माग्छु । सौहार्द छ । अहिले त कार्यकर्ता उत्साहित छन् । दुबै दलका कार्यकर्ता मरिमेटेर लाग्नु भएको छ । गठबन्धनका पक्षमा लहर आएको छ, सिद्धार्थनगरमा अहिले ।

प्रचारका लागि समय पर्याप्त भएन जस्तो छ नि ?
धेरै समय होइन् । समय केही कम हुँदा सबै मतदातासित प्रत्यक्ष भेटघाट सम्भव भइरहेको छैन । तर, उहाँहरुसित फोनमै भए पनि कुराकानी भइरहेको छ । मैले गफ लगाएको होइन्, जित्नुपर्छ भनेर शुभकामना र सहयोग गर्ने जनाउँदैं हजारौं फोन आइरहेको छ । तपाइँकै आवश्यकता छ भनिरहनुभएको छ । मलाई फोन उठाउन धांै–धौं भइरहेको छ । जति फोन आइरहेका छन्, त्यतिले मात्रै भोट हाले पनि म जित्छु । भोटरले गरेको फोन नउठाउँदा रिसाउने जोखिम हुन्छ । धेरैले मैले घरदैलोमा रहेका कार्यकर्तालाई सम्झाएर भए पनि फोन रेस्पोन्स गरिरहेको छु । मतदातालाई निरास बनाउन चाहन्न ।

के तपाइँलाई जीत सुनिश्चित लाग्न थालेको हो ?
हो, एकदमै । मलाई आत्मैदेखि जीत पक्का लागिरहेको छ । जुन किसिमले आम साथीभाई र मतदाताको मप्रति सहानुभूति, माया प्राप्त भइरहेको छ, त्यसले त म भारी मतले चुनाव जित्दैछु भन्ने लागेको छ । सायद यसपटक रेकर्ड ब्रेक हुन्छ । मलाई त्यस्तो लागिरहेको छ । धेरै नै अन्तरले जित्ने देखिरहेको छु ।

तपाइँ लामो समयदेखि समाजसेवामा संलग्न व्यक्ति हो । त्यसले पनि फाइदा मिलेको हा ?
धेरै नै फाइदा भइरहेको छ । मेरो नाम सुन्ने धेरै हुनुहुँदो रहेछ । उहाँहरुसँग पहिलो पटक प्रत्यक्ष भेट्दा हर्षले उफ्रिनु हुन्छ । लामो समयदेखि भेट्ने प्रयासमा रहेका व्यक्तिहरुसित कुराकानी भयो । नेपाली कांग्रेसमै आवद्ध नभए पनि मलाई भोट दिने मुड बनाएको धेरैले बताउनुभयो । यसले म खुसी छु । यो सबै सामाजिक गतिविधिले सम्भव भएको हो । त्यो लामो समयको सम्बन्धले मलाई पक्कै फाइदा मिल्नेछ । यस्तो सद्भाव मिल्दा मलाई बेग्लै इनर्जी प्राप्त भइरहेको छ । यो सुखद् हो ।

पार्टीबाट कत्तिको सहयोग मिलेको छ ?
गठबन्धनका दुबै पार्टीबाट निकै सहयोग मिलेको छ । पार्टीले व्यवस्थित ढंगले प्रचारका काम गरिरहेका छन् । दुबै दलका कार्यकर्ता ज्यान फालेर प्रचारमा जुट्नु भएको छ । हामीले लगभग घरदैलो पूरा गरिसकेका छौं । त्यसैले सोमबार नगरसभा पनि गरिसकेका छौं । त्यसमा धेरै कार्यकर्ता सहभागी गराएर एकता प्रदर्शन गरिएको छ । सभापछि शुक्ष्म ढंगले प्रचारका कार्यक्रम सञ्चालन गर्नु छ । निर्वाचन आचारसंहिता ख्याल गरेर प्रचारका कार्यक्रम गरिरहेका छौं । मौन अवधिको पालना र निर्वाचन मर्यादित बनाउन सजग छौं । सबै नेता कार्यकर्ता एक भएर परिचालन भएका छौं ।

मतदाता शिक्षामा पनि केन्द्रित हुनुहुन्छ ?
बिगत २/३ दिनदेखि हामीले मतदाता शिक्षामा ध्यान दिइरहेका छौं । दुई दलको गठबन्धन भएकाले भोट तलमाथि नहोस् भन्नेबारे चिन्ता छ । भोट बदर भएमा नतिजा तलमाथि हुनसक्छ । त्यसैले मत सदर गर्नका लागि पार्टी नै लागि परेका छन् । केही दिनदेखि पहिलो प्राथमिकता नै भोट बदर नहोस् भन्नेमा छ । यसमा कार्यकर्ताको भूमिका ज्यादै महत्तवपूर्ण रहेको छ । हामी पनि लागेका छौं ।

तपाइँले चुनाव जित्नेवित्तिकै गर्ने काम के हुन् ?
मेरो कार्यकालमा सुशासनमा केन्द्रित हुनेछु । सबैले नगरपालिकामा आफ्नै छोरा, भाई बसेको महशुस गर्ने वातावरण बनाउनेछु । त्यसैले म नगरपालिकालाई सबैको साझा घर बनाउन चाहन्छु । कुनै पनि दाजुभाईले नगरपालिकामा आएर बिरानो महशुस गर्न नपरोस् । आँशु लिएर आउने नागरिकलाई हाँसो दिएर पठाउनेछु । खुसीको आँशु बगाउँदैं फर्किने वातावरण बनाउने छु । नागरिकको एक रुपैयाँ पनि खर्च नहोस् भन्नेतर्फ म सचेत छु । कसैले नगरपालिकामा काम लिएर आएपछि घुस दिन नपरोस् । म इमान्दारिता साथ काम गर्नेछु । सबै कर्मचारीलाई पनि इमान्दार बनाउनेछु । नगरपालिका साझा बन्नेछ । यो मेरो वाचा हो ।

तपाइँको जीत अभियानमा परिवारको पनि भूमिका छ ?
मेरो परिवार मात्र होइन्, सबै समुदायको सहयोग छ । अझ भनौं जबरजस्त सहयोग मिलेको छ । उहाँहरुको हौंसलाले मलाई निकै उत्साहित तुल्याएको छ । सबै समुदाय मेरो बिजयका लागि लागि परेका छन् । मसित नगरमा गुनासो भएको कोही मान्छे छैन । मैले घरदैलोमा यो कुरा बुझेँ ।

मतदातासित तपाइँको अनुरोध के छ ?
मैले लगभग सबै मतदाताको घरमा पुग्ने कोसिस गरेको छु । यस अवधिमा कोही छुट्नु भएको छ भने क्रिपया मेरो बारेमा जानकारी लिनुस् । मलाई सेवा गर्ने अवसर दिनुस् । तपाइँहरुले भारी मतले मलाई बिजयी गराउनु भयो भने म गुनासो गर्ने अवसर दिने छैन । म सधैं तपाइँहरुको सेवामा समर्पित रहनेछु । पाँच वर्षका लागि तपाइँहरुले मलाई चुन्नु भयो भने म निरास तुल्याउने छैन । बिगतको नेतृत्वसित तपाइँहरु धेरै रिसाउनु भएको छ । नेतालाई घृणा गर्नुहुन्छ । मलाई अवसर दिनुभयो भने पाँच वर्षमा नेतालाई माया गर्ने वातारण तयार गर्नेछु । मेरो काम हेरेर सबै नेतालाई माया गर्नु हुनेछ । त्यसैले गठबन्धनका उम्मेदवार बिजयी बनाउन अनुरोध छ ।

तपाइँको प्रतिस्पर्धा कोसित छ ?
हाहाहा… साँच्चै भन्नुपर्दा मेरो प्रतिस्पर्धा कसैसित छैन । म त धेरै अझ भनौं भारी मतान्तरले चुनाव जित्दैछु । मेरो जीत पक्का भइसक्यो । मलाई दाजुभाई, दिदीबहिनी र साथीहरुले फोन गरेर जीत सुनिश्चित छ भनिरहेका छन् । आजको दिनमा अरु उम्मेदवार म भन्दा निकै पछाडि छन् ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
म सिद्धार्थनगरमा पाँच वर्षका लागि चुनिने छु । तर, नगरपालिका जनप्रतिनिधि बिहीन त हुँदैन । यहीँ पाँच वर्षमा म आगामी ५० वर्षसम्मका लागि सिद्धार्थनगरको ‘रोडम्याप’ तयार गर्न चाहन्छुु । पाँच, दश, पन्ध्र र त्यसैगरी ५० वर्षसम्म नगरपालिकामा के गर्नुपर्छ भनेर गुरुयोजना तयार गर्नेछु । त्यसले म भन्दा पछाडि आउने जनप्रतिनिधिलाई सहज हुनेछ । मेरो अन्तरआत्माको आवाज हो । सिद्धार्थनगरलाई ‘ब्युटिफूल’ सहर बनाउन चाहन्छु । ढुक्क हुन अनुरोध छ ।