कांग्रेस कपिलवस्तुको महाराजगंजकी उपमेयर उम्मेदवारको मृत्यु
कपिलवस्तु– काँग्रेसबाट कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । सोमबार राति १ बजे उनको मृत्यु परिवारले पुष्टि गरेका छन् ।
राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । कुर्मी दिनभर घरदैलोमा सहभागी भएर घर आएकी थिइन् ।
२०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।
उम्मेदवार कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए । आयोगको निर्देशन अनुसार बाँकी निर्वाचन प्रकृया अघि बढाइने उनले बताए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भए अनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुन्छ । मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ । यदि सात दिनभन्दा अघि नै मृत्यु भएमा भने मतदानको मिति सार्न पर्ने छैन ।
प्रतिकृया दिनुहोस्