April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

‘स्वच्छ छवि र मेरो इमान्दारीता नै विजयीको सुनिश्चितता हो’

परिपक्व उमेर, सालिन व्यक्तित्व, धेरै अनुभव, सामाजिक कामकालागि उत्प्रेरित भावना, भद्र स्वभाव । अनि मिजासिलो व्यवहार । डा.रामप्रसाद बस्यालका व्यक्तित्वमा स्पष्ट देखिने गुण हुन् यी । पहाडको परिवेशदेखि भारतको विभिन्न स्थानमा प्रबासी नेपालीको रुपमा बिताएका सुखदुःखका अवस्था र पछिल्लो अवस्थामा आर्थिक सम्पन्नताको जीवन । सवैको अनुभव छ, डा.बस्यालसँग । आधा दर्जन भन्दा धेरै संघसंस्थामा व्यवस्थापनको गहन जिम्मेवारीलाई सफलतापूर्वक निभाएका बस्याल कुशल व्यवस्थापकसँगै सफल चिकित्सक समेत हुन् । जीवनका अधिकांश समय अरुको जीवन रक्षाकालागि स्वास्थ्य उपचारमा खर्चेका छन् । यतिमात्रै होइन्, शाही कार्यकालको बेलामा बिरोध गरेबापत उनी यही भैरहवाबाटै पक्राउ परेर जेलमापनि परेका थिए । बिगतका निर्बाचनकाबेला आफूले पाउने टिकट समेत पार्टीका अरु साथिकालागि दिएर त्याग गर्ने डा.बस्याल यस पटकको स्थानीय तहको निर्वाचानमा सिद्धार्थनगरको प्रमुख पदमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिएका छन् । प्रस्तुत छ, चुनाबी अभियानका क्रममा जनताको घरदैलोमा व्यस्त रहेका डा.बस्यालसँग पब्लिक कुराका लागि गरिएको कुराकानीको सारसंक्षेप :

Advertisement

तपाइँले आफ्नो यो उम्मेदवारीलाई कसरी लिनुभएको छ ?
हुनतः म पंचायत कालमैंपनि पाल्पाबाट २०४२ सालमा राष्ट्रिय पंचायत सदस्यमा निर्वाचन लडेको हुँ । म नेपाल कम्युनिष्ट पार्टी (पछि नेकपा एमाले) मा लागेपछि सक्रिय भएर काम गर्न थालें । यही उमेदवारीकालागिपनि पार्टीको टिकट लिन भन्दै म कुनैपनि नेतालाई भेट्न गइनँ । लालसीपन देखाइन् । मात्र यत्ति भन्थेँकी, ‘ल है म पनि लाइनमा छु ।’ टिकट पाउनेमा ढुक्कपनि थिइनँ । पार्टीले टिकट दियो । उम्मेदवारी दिएँ । उम्मेदवारीका लागि दावेदार पार्टीका अन्य सवै साथीहरुसँग समन्वय गरिरहेको छु ।

Advertisement

तपाइँले टिकट पाएपछि अन्य दावेदारहरु असन्तुष्ट हुनुहुन्न ?
राजनीतिमा लागेपछि उम्मेदवार बन्ने आकांक्षा हुनु सवैमा स्वभाविक हो । यस पदकालागि आठजना टिकटको दावेदार थियौं । पछि मैले पाएँ । आफूले टिकट नपाएकोमा एक–दुई दिन नरमाइलो लाग्न सक्छ सबैलाई । यो स्वभाविकै हो । अब भने सवै दावेदार, सवै साथीहरु एक भएर दिलो ज्यान दिएर मेरो पक्षमा लाग्नु भएको छ । अहोरात्र खटिनु भएको छ । भोक, तिर्खा, निन्द्रासमेत नभनेर निरन्तर खटिनु भएको छ । उहाहरुप्रति शंका गर्ने रत्तिभरपनि ठाउँ कतै छैन ।

तपाइँको उम्मेदवारी केकालागि हो ?
यो नगरको मुहार फेर्नकालागि हो । स्वच्छ, सफा, सुन्दर र हराभरा नगर बनाउनकालागि । बिगतमा थालेर पुरा नभएका विकास निर्माणका योजना पुरा गर्नकालागि हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसंगै नगरमा आउने विभिन्न बिदेशी पर्यटकलाई यस क्षेत्रको पर्यटकीय स्थलका वारेमा जानकारी गराउन, उनीहरुकै भाषामा पर्यटक पथप्रदर्शक तयार पारेर लुम्बिनीसंगै बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्नकालागि हो । र, अन्तर्राष्ट्रिय जगतमा सिद्धार्थनगर गौतम बुद्धको नगरी हो भन्ने मान्यता स्थापित गराउनकालागि मेरो उम्मेदवारी हो ।

यस नगरका मुख्य समस्या के–के देख्नुभएको छ ?
फोहरमैलाको स्थायी व्यवस्थापन, छाडा जनावर नियन्त्रण नै मुख्य हुन् । यससँगै नगरमा चर्को समस्याको रुपमा देखा परेको पार्किङ समस्या हो । रुग्ण अवस्थामा पुगेका शैक्षिक संस्थाको संरक्षण र सम्बद्र्धन गर्नु छ । सर्वसाधारणलाई पनि स्वास्थ्य उपचार सेवालाई सरल र सहज पहुँच बनाउनु छ । बृद्ध व्यक्तिहरुलाई शितलमा आफ्ना दौंतरीसंग बसेर भलाकुसारी गर्ने स्थान र बातावरण तयार पार्नु लगायतका विभिन्न समस्या छन् । ती समस्याको समाधान एकै पटक वा एक–दुई बर्षमैं गर्न नसकिएपनि क्रमिक रुपमा पुरा गर्न लाग्ने छु ।

तपाइँको योजना पुरा गर्न बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
यस नगरको पाँच बर्ष पहिलाको बजेट भनेको बार्षिक ८÷९ करोड रुपैयाँ हो । अव यो बजेटलाई बार्षिक १८–१९ करोड रुपैयाँमा पु¥याउनमा पहल गर्ने छु । त्योपनि अहिले विभिन्न बिषयमा लिइएका अनाबश्यक करलाई हटाएर र घटाएर । मर्दा, जन्मिदा जस्ता बिषयमा लिइएका करमा सर्वसाधारणलाई राहत दिने गरि करको निर्धारण गरिने छ । गरिव र सर्वसाधारणलाई राहत हुने र सभ्रान्तबाट लिने गरि करको दायरा बढाउने छु । करको दायरा बढाउन बैकल्पिक श्रोतको खोजी गरिने छ । यसकालागि बिज्ञहरुसंग सरसल्लाह लिइने छ । संघीय र प्रदेश सरकारबाट अनुदान र बजेटपनि आउने छ । अर्कोतर्फ, एशियाली विकास बैंकसंग वेस्टर्न करिडोर योजना अन्तर्गत १ सय ४३ अर्व रुपैयाँको विभिन्न योजना यो नगर लगायतका अन्य नगरकालागि पनि प्रस्तावित छ । यो योजना स्वीकृत हुने अवस्थामा छ । यस योजना अन्तर्गतपनि ठूला ठूला र धेरै खर्चिला योजना संचालन गर्नमा सहज हुने छ ।

तपाइँको बिजयीको सुनिश्चितता के हो ?
जनताको सेवामा निरन्तर खटिएको छु । ४५ बर्षसम्म उपचार सेवामा खटिए । कतिपय दिनदुखी र गरिव बिरामीको निःशुल्क उपचार गरें । उनीहरुले ठूलो गुन मानेका छन् । सामाजिक काम र विभिन्न संघसंस्थाको जिम्मेवारी सम्हाल्दा कुनैपनि विषयमा आलोचना हुने गरि काम गरिनँ । म स्वच्छ रहें । भ्रष्टाचार गरिनँ । कसैले एक पैसाको हिनामिना ग¥यो भनेर आरोप लगाउने मौका दिइनँ । सवै मतदाता बिश्वस्त छन् की, यसलाई बिजयी बनाएमा भोलि आर्थिक हिनामिना गर्दैन, आफूले कमाउदैन भन्नेमा । फेरि पार्टीका साथीहरु एकताबद्ध भएर खटिनु भएको छ । मलाई अन्य दलमा आस्थावान जनतालेपनि मेरो इमान्दारीताको कदर गर्नेमा म बिश्वस्त छु । मेरो इमान्दारीता, पार्टीका सवै कार्यकर्ताको एकता र अन्य पार्टीमा आस्थावान जनताको मप्रतिको सद्भाव नै मेरो बिजयकिो सुनिश्चितता हो ।

तपाइँले आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई देख्नुभएको छ ?
मैले मेरो निकटतम प्रतिस्पर्धी त कसैलाईपनि देखेको छैन । तरपनि गठबन्धनको तर्फका उम्मेदवार नै मेरो निकटतम होलान् जस्तो लाग्छ । म बिजयी भएपछि पनि मैले निर्बाचनमा निकटतम रहनु हुने अहिलेका उम्मेदवार र पार्टी सवैसंग सहकार्य गरेर अघि बढ्ने छु । कुनै भेदभाव राख्ने छैन । सवैसंग सहकार्य गरेर नगरपालिकालाई हाकेर लैजाने छु ।