December 10, 2024, Tuesday
२०८१ मंसिर २५

‘वडाबासीले फेरि मलाई सेवा गर्ने मौका दिनुहुन्छ’

थानेश्वर पौडेलः वडाध्यक्ष उम्मेदवार, सिद्धार्थनगर–३ (एमाले)

म २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भए पछि धेरै विकासका कामले गति लिए । वडाका अधिकांश सडक कालोपत्रे भएका छन् । मुख्य सडकहरु हरियाली छन् । सार्वजनिक जमिनको खोजी गरी संरक्षण भएको छ । सार्वजनिक जमिनमा बहुउद्देश्यीय खेलमैदान बनिरहेको छ । नदी किनारमा आकर्षक पार्क बनेको छ । वडामा बन्ने हरेक पूर्वाधारलाई गुणस्तरीयता बनाउन प्रत्यक्ष निगरानी गरेको थिएँ । नगरसँगै संघीय र प्रदेश सरकारबाट बजेट ल्याए र पूर्वाधार विकासमा लगाएँ ।

वडाध्यक्ष भएपछिसरसफाइको अभियान चलाएँ, अहिले वडा धेरै सफा छ । प्रत्येक वडाबासीको घरघरमा पुग्ने, सुखदुःख साटासाट गरेँ । समस्यामा सहयोग गरेँ । डण्डा नदी छेवैमा दरखसवा पार्क निर्माण अन्तिम चरणमा छ । बहुउद्देश्यीय दरखसवा खेलमैदान निर्माण भइरहेको छ । विभिन्न विद्यालयलाई फर्निचर, कम्प्युटर, कुर्सी, डेक्सबेन्च उपलब्ध गराएँ । खजना आधारभूत विद्यालयमा दुई तल्लाको भवन निर्माण भएको छ । तेस्रो तल्ला निर्माण प्रक्रियामा छ । यो विद्यालयलाई ल्यावसहितको नमूना आधारभूत विद्यालय बनाउने योजना छ । गरिबी, भोक, रोग र अशिक्षाको मुक्तिका लागि आफ्नो कार्यकालमा प्रयास गरेँ ।

Advertisement

मेरो पहलमा नगरमै पहिलो ब्लड बैंक यही वडामा निर्माण भइरहेको छ । यस्तै, वडाको भवनमा तल्ला थपेर प्रशासनिक कामलाई थप सहज बनाइएको छ । काँटागाउँमा कर्वस्थानलाई ब्लक विछ्याएर व्यवस्थित गरिएको छ । विपन्न ६ घरपरिवारलाई मेयर आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको छ । मैत्रीपथमा नगरकै पहिलो खुल्ला ब्यायमशाला निर्माण प्रक्रिया अघि बढेको छ । वडाका अधिकांश घरमा स्वच्छ खानेपानी पुर्याइएको छ । सडक फराकिला र ढल निकासलाई व्यवस्थित गरिएको छ ।

वडामा आधारभूत स्वास्थ्य सेवा सुरु भएको छ । कोरोना महामारीका बेला कयौं गरिब तथा विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेँ । लक्षित समुदायको विकासमा विभिन्न तालिम, सीपमूलक कार्यक्रम संचालनमा पहल गरेँ । कयौंलाई स्वरोजगार हुन प्रेरित गरेँ । तालिम लिएका र सीप सिकेकाहरु धेरै जना विभिन्न पेसा तथा व्यवसायमा आबद्ध छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कलासंस्कृतिका क्षेत्रमा वडालाई अग्रस्थानमा ल्याउन एकपटक वडाबासीले मलाई सेवा गर्ने मौका दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।

विकाससँगै समाजलाई शिक्षित र व्यवस्थित बनाउन चाहन्छु । खेलमैदान र पार्क निर्माण पूरा गर्ने लक्ष्य छ । यसपछि रोगजारी सिर्जना हुन्छ । रोजगारीका काममा युवालाई प्राथमिकता दिन्छु । मदरसा तथा धार्मिक विद्यालय र त्यस्ता समुदायको बालबालिकाको उत्थान, शिक्षा र क्षमता विकासमा काम गर्ने योजना बनाएको छु । वडाबासीलाई मेरो काम हरेर मत दिनुस् भन्न चाहन्छु । (पब्लि कुरासँगको कुराकानीमा आधारित)