August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

‘ग्रिन, क्लिन र हेल्थ’ नगर बनाउन लाग्छु’

सिद्धार्थनगरको राजनीतिक बृत्तमा उनको नाम धेरैलाई नौलो लाग्न सक्छ । तर, सिद्धार्थनगर–३, खजहनाकी ३४ वर्षीया बिनिता गुप्ता धेरै पहिल्यैदेखि नै घरायसी कामकाजसँगै समाजसेवा र राजनीतिक क्षेत्रमा पनि क्रियाशील थिइन् । उनी एक सफल महिला उद्यमी समेत हुन् । स्नातक तहको अध्ययन पुरा गरि सूचना प्रबिधिको विषयमा दक्षता हासिल गरेकी बिनिता सानै उमेरदेखि नै राजनीतिक संस्कारमा हुर्केकी महिला हुन् । उनका ससुरा रतनप्रसाद गुप्ता यसअघि नै सिद्धार्थनगरको उपप्रमुख भइसकेका छन् । श्रीमान् अजयकुमार गुप्ता राप्रपाका रुपन्देही उपाध्यक्ष छन् ।यस पटक सिद्धार्थनगरवासीले उनलाई राजनीतिक क्षेत्रमा उदाउँदै गरेका महिला नक्षेत्र मध्येकी एक महिलाको रुपमा चिन्ने अवसर पाएका छन् । आउँदो स्थानीय तहको निर्बाचनमा सिद्धार्थनगरको उप-प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट उनले आफ्नो उमेदवारी दिएपछि एकाएक उनी राजनीतिक बृत्तमा चर्चामा आउन थालेकी छन् । प्रस्तुत छ, सरल र मिठासपूर्ण भाषामा घरदैलो गर्दै गरेको वेला भेट भएकी बिनितासंग पब्लिक कुराका लागि गरिएको कुराकानीको सारसंक्षेप :

Advertisement

तपाइँलाई आफ्नो उमेदवारीप्रति कस्तो महशुस भइरहेको छ ?
सानो उमेरदेखि नै राजनीतिक संस्कारमा हुर्किएकाले मलाई राजनीतिक क्षेत्र नौलो होइन् । माइतमा पनि बुवा राजनीतिज्ञ र घरमा पनि ससुरा बुवादेखि श्रीमान पनि राजनीतिक क्षेत्रमा रहनु भएकाले यस क्षेत्रमा आउन मलाई प्रेरणा मिल्यो । निर्बाचनमा यो उम्मेदवारी मेरो पहिलो हो । नेपालको राजनीतिक अवस्थालाई हेर्दा, आधा आकास ढाकेको महिलाको उमेदवारी निकै कम रहेको अवस्थामा म आफूले महिला उम्मेदवारका रुपमा नगरवासी समक्ष परिचित हुन पाउँदा गर्वको महशुस गरेकी छु । यो अवसरले मलाई निकै प्रेरणा मिलेको छ ।

Advertisement

मतदाता समक्ष के–कस्ता योजना लिएर जानुभएको छ ?
सवै उम्मेदवारले यतिबेला अआफ्ना चुनावी मुद्दा लिएर मतदाता समक्ष जानुभएको छ । म पनि मेरो राजनीतिक पार्टीले अघि सारेका र मेरो आफ्नै बिचार लिएर मतदातासामु छु । अरु उम्मेदवार के–कस्ता मुद्दा लिएर घरदैलो गर्नुभएको छ ? म त्यतातिर जान चाहन्नँ । फरक यत्ति हो, म ठूलाठूला सपना र गर्न नसकिने खालका चुनावी मुद्दा लिएर अघि बढेकी छैन । सर्वसाधारण जनताले भोग्नु परेका साना भन्दा साना घरायसी समस्यादेखि नगरमा देखा परेका र टड्कारो रुपमा आवश्यक परेका समस्यालाइ उठाएकी छु ।

तपाइँको विशेष प्राथमिकताका विषयबस्तु के–के हुन् ?
हुन त नगरवासीले भोग्नु परेका सार्वजनिक सरोकारकारदेखि घरायसी समस्या सवै बिषयबस्तुलाई उठान गर्नु पर्ने हुन्छ । तथापी महिला, नवजात शिशु तथा बालवालिका, बेरोजगार युवा, अशक्त तथा बृद्ध, नगरको प्रदूषण तथा फोहर व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा सवैको पहुँच, नगरको सौन्दर्यकरण र महिला सशक्तिकरण तथा सचेतनाका विषयबस्तु मेरो प्राथमिकता हो । महिलाको पाठेघरसंग सम्बन्धित रोग र पाठेघरको क्यान्सरबिरुद्ध खोपका लागि पहल गर्नेमा बिशेष प्राथकिता छ ।

नगरमा मुख्य समस्या के–के देख्नु भएको छ ?
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन लागेसंगै हाम्रो नगरको पहिचान जुन ढंगले हुनु पर्ने हो, त्यो छैन । स्वदेशी र बिदेशी पर्यटकले नगरमा यात्रा गर्दा फोहर र धुलोले नाक छोपेर हिँड्नु पर्ने अवस्था छ । बुद्धचोकदेखि बिमानस्थल जाने लुम्बिनी रोडको अवस्था हेरौं वा मिलनचोकदेखि गल्लामण्डी हुँदै बिमानस्थलसम्म जाने मुख्य सडकको अवस्था हेरौं, दुर्दशा छ । छाडा जनावर भुस्याहा कुकुरको आतंक उस्तै छ । दीर्घकालीन फोहोरको व्यवस्थापन हुन सकेको छैन । हरियाली खोई ? मरभूमि जस्तो देखिन्छ, नगर । विकास निर्माणका कार्य समानुपातिक ढंगले र गुणस्तरीय छैनन् । नगरमा प्रशासनिक अवस्था चुस्त, सरल र सहज छैन । शिक्षा अति महंगो हुन थालेकाले सामान्य र निम्न बर्गका बालवालिकाको शिक्षामा पहुँच गाह्रो हुन थाल्यो । यस्ता धेरै समस्या छन् ।

अनि महिला र बालवालिकाको क्षेत्रमा नी ?
नवजात शिशु स्याहार केन्द्र छैन । बालरोग बिशेषज्ञको सेवा सहज छैन । गरिव परिवारको धेरै वालवालिकामा पोषणयुक्त खाने कुराको कमीले कुपोषण छ । धेरै महिलामा जनचेतना छैन । उनीहरु अभैm पनि आफूसँग भएको रोगका वारेमा बताउन सक्दैनन् । पाठेघरको क्यान्सर, पाठेघर खस्ने लगायतका पाठेघर सम्बन्धि धेरै रोग भित्र भित्रै लुकाएर बसेका छन् । छात्रा महिनावारी भएका वेला बिद्यालयमा निःशुल्क सेनेटरी प्याड नभएकाले अध्ययन नै छाड्ने गरेका छन् । कतिपय विद्यालयमा छात्र र छात्रालाई अलग्गै शौचालयको व्यवस्था समेत छैन । महिलाहरु महिनावारी भएका वेला भान्सामा गएर तातो पानी तताएर खान नपाउने संस्कारमा गांजिएका छन् । नगर भित्रैपनि बालविवाह, दाइजो, बेचबिखन, बलात्कार, घरेलु हिंसा लगायतका समस्या विद्यमान छन् । यी समस्यासँगको लडाइका लागि नै मेरो उम्मेदवारी हो । त्यसैले गर्न नसक्ने ठूलाठूला आश्वासन बाँड्नु भन्दा समाजमा लुकेर रहेका समस्या समाधान र गर्न सक्ने मुद्दा उठाएकी छु । यी समस्या समाधानका लागि ठूलो आकारको बजेट र स्रोतसाधन भन्दा कुल नेतृत्व लिन सक्ने र योजना भएको जनप्रतिनिधिको आवश्यकता छ ।

तपाइँ बिजय भएमा भोलिको नगर कस्तो हुने छ ?
हरियालीसहितको ‘ग्रिन क्लिन र हेल्थ’ नगर हुने छ । निर्माणसँगै काटिएका तथा मासिएका रुखका ठाउँमा पुन वृक्षारोपण र घर निर्माणसँगै अनिबार्य एउटा वा दुईवटा (जग्गाको क्षेत्रफलको आरधारमा) रुख हुर्काउनु पर्ने, प्राविधिक जनशक्तिका लागि प्राविधिक शिक्षालय, बाल शिशु स्याहार केन्द्र, सडक, ढल, बिद्युतिकरणसहितको सफा, स्वच्छ र व्यवस्थित नगर हुने छ ।

तपाइँको बिजय सुनिश्चतताका आधार के छन् ?
म पिछडिएको मधेशी समुदायको नेपाली चेली जनप्रतिनिधि बनेर समाजको नेतृत्व गर्न खोज्दा आम मतदाताले मप्रति देखाउनु भएका माया, सद्भाव र सहयोग नै मेरो बिजयीको सुनिश्चितता हो । उहाँहरुको यो सहयोग र सद्भाव सदैव मलाई प्रेरणाको श्रोत बन्ने छ । यो सहयोगको मैले सदा कदर गर्ने छु । उहाँहरुले मप्रति गर्नु भएको बिश्वासलाई खेर जान दिने छैन । अर्कातर्फ नगरमा पार्टीको संगठन बलियो छ ।