March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

‘सुरक्षित सुत्केरीका लागि गाउँमा अस्पताल स्थापना गर्नेछु’

कपिलवस्तुको मायादेबी गाउँपालिका–२, भैसकुण्डाका २९ वर्षीय फजलुर्र खाँ (फैजल खाँ) पूर्व १९ वर्ष मूनिको अन्तर्राष्ट्रिय खेलाडी हुन् । गाउँ, जिल्ला, क्षेत्र हुँदैं मुलुकको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याती प्राप्त गरेका खाँ यतिबेला कपिलवस्तुको राजनीतिमा चर्चाको शिखरमा छन् । पाँच वर्षअघि प्रदेशसभा सदस्यका उम्मेदवार बनेका उनले सफलता प्राप्त गर्न सकेनन् । यसपाली नेकपा एकीकृत समाजबादीबाट कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । देश–बिदेशमा क्रिकेट खेलमा शतक हानेर चर्चा कमाएका खाँ अहिले राजनीतिक खेलाडी बन्न पुगेका छन् । सानैदेखि क्रिकेट क्रेजले खेलाडी बनेका उनले समाजसेवाका लागि राजनीतिमा दोस्रो इनिङ सुरु गरेको बताउँछन् । दुईपटक मैदानमा उत्रिसकेका उनले खेल भन्दा राजनीति नितान्त फरक विषय भएको बताए । ६–७ वर्ष राष्ट्रिय टिममा रहेर क्रिकेटमा योगदान पु¥याएका उनले राजनीतिको मैदानमा समेत उत्तिकै मिहेनत गरिरहेको बताएका छन् । पालिकामा स्वास्थ्य, शिक्षा र रोजगार व्यवस्थापनमा जोड दिइरहेका उनले भ्रष्टाचारमुक्त साशनलाई प्राथमिकता दिएका छन् । पूर्व क्रिकेटर खानसित पब्लिक कुराले गरेको कुराकानीको सारसंक्षेप :

Advertisement

राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
लामो समय खेल जीवन बिताएपछि राजनीतिबाट आफ्नो गाउँको सेवा गर्ने लहर जाग्यो । त्यसका लागि प्रत्यक्ष राजनीतिमा उत्रिएँ । राजनीतिमा पनि राम्रो काम गरेर देखाउने लक्ष्यसाथ आएको छु । क्रिकेट खेल जस्तो राजनीति होइन् । तर, सावधानीपूर्वक खेल्ने बिचारले आएको छु । त्यहीँ अनुसार रणनीति बनाएर चुनाव प्रचारमा होमिएको छु । मायादेवीका युवादेखि बृद्धासम्मले आशीर्वाद दिइरहनु भएको छ । यसले मलाई हौंसला मिलेको छ ।

Advertisement

तपाइँका एजेण्डा कस्ता छन् ?
अध्यक्ष निर्वाचित भएमा पालिकाबाट पाउने सवारीसाधन र पारिश्रमिक तथा भत्ता लगायत कुनै पनि सुविधा लिने छैन । त्यसवापतको रकमले खेल मैदान निर्माणमा खर्च गर्नेछु । कक्षा १२ उत्तीर्ण सबै छात्रछात्रालाई निःशुल्क ल्यापटपको व्यवस्था गर्छु । गरिब र विपन्न किशोरीको विवाहका लागि डेढदेखि दुई लाख रुपैयाँ गाउँपालिकाबाट अनुदान दिने व्यवस्था गर्नेछु । क्रिकेटमा नेपालले प्राप्त गरिरहेको सफलता जस्तै गाउँपालिकालाई नमूना र सफल बनाउने छु ।

बिजय प्राप्त गरेपछि तपाइँले गर्ने मुख्य काम के–के हुन् ?
मायादेवी गाउँपालिकामा अहिले इमान्दार र बेइमानबीच लडाइ भइरहेको छ । खासगरी यो भ्रष्टाचारबिरुद्धको लडाई हो । गाउँपालिकामा अलिहेसम्म लुटतन्त्र मात्रै छ । बिगतमा चुनावमा पराजित भए पनि पाँच वर्ष म जनताको सेवामा थिएँ । त्यसैले अहिले सबैले मलाई सघाइरहेका छन् । जनताका समस्यासित भिजेको छु । मैले जितेपछि विद्यालय स्थापनामा जोड दिनेछु । सुरक्षित सुत्केरीका लागि गाउँमा अस्पताल स्थापना गर्नेछु । यहाँका धेरै युवा बेरोजगार छन् । त्यसले पालिकामा धेरैको चुलो बल्दैन । चुलो बाल्ने वातावरण बनाउन रोजगारीको व्यवस्था मिलाउने छु । खासमा बिगत पाँच वर्षमा राजनीति बुझेँ । अव त्यसलाई व्यवहारमा देखाउँछु ।

तपाइँको खेल जीवनबारे केही बताउनुस् न ?
मैले सन् २०११ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका हुँ । सन् २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै खेल खेलेँ । सन् २०११ मा थाइल्याण्डमा आयोजना भएको अन्डर १९ एसीसी ट्रफी अन्तर्राष्ट्रिय प्रतियोगितामा ओमानविरुद्ध शतक हानेपछि मेरो धेरै चर्चा भयो । सन् २०१२ मा मलेशियामा सपन्न एशियन कप क्वालिफाइङ प्रतियोगितामा पनि खेलेको थिएँ । सन् २०१३ मा अष्ट्रेलियामा आयोजना भएको वल्र्ड कप क्वालिफाइङ प्रतियोगिता पनि खेलेको थिएँ । अन्डर १९ मा छनोट प्रतियोगिताका क्रममा पोखराविरुद्ध भैरहवाबाट खेलेर विष्फोटक व्याटिङ गरेपछि मेरो राष्ट्रिय टिममा छनोट भएको थियो । त्यसबेला मैले १ सय ३१ रन बनाएको थिएँ । सन् २०१४ मा पेप्सी स्टायाण्डर्ड कप क्रिकेट प्रतियोगिताका एपीएफविरुद्ध फाइनल खेलमो उत्कृष्ट ब्याटिङ गरेको थिएँ । उक्त फाइनलमा १ सय २५ रन बनाएपछि चर्चा भएको थियो । सन् २०१३ मा धनगढीमा संपन्न एनपीएलमा १८ बलमा ६६ रन बनाए पछि मेरो खेल जीवनले उचाई पाएको हो ।

क्रिकेट खेलले राजनीतिमा कस्तो प्रेरणा दिन्छ ?
क्रिकेट खेलेर जसरी चिनिए त्यसरी नै राजनीति गरेर नाम राख्छु । खेलाडीले राम्रै गर्न सक्छन् भन्ने देखाउने गरि योजना र काम आँटेको छु । गाउँपालिकालाई हिलो र धुलो मुक्त बनाउँछु । खरका छाना मुक्त बनाउँछु । हरेक विद्यालयमा वर्षेनि खेल सामग्री वितरण गर्छु । विद्यार्थीलाई खेलप्रति उत्साहित गरेर लगाब बढाउँछु । खेलले अनुशासन सिकाएको छ । लगन सिकाएको छ । क्रिकेट खेल्दा आर्जन गरेको अनुशासन र लगत राजनीतिमा पनि देखाउँछु ।

तपाइँको चुनाव प्रचार कस्तो चलिरहेको छ ?
अहिले नियमित घरदैलो कार्यक्रममा ब्यस्त छु । त्यस क्रममा सर्वसाधरणको राम्रो सद्भाव आइरहेको छ । सबैले यसपटक फैजललाई अवसर दिनुपर्छ भनिरहेका छन् । युवा नेतृत्व खोजेका छन् । पुरानो राजनीतिबाट वाक्क भइसकेका छन् । गाउँपालिकामा परिवर्तन चाहेका छन् । त्यो म जस्तो युवाबाट सम्भव हुने देखेका छन् । मैले धेरै समय मतदातासित भेटघाटमा बिताइरहेको छ । आफ्ना एजेण्डा प्रष्ट राखिरहेको छु ।

अन्तमा तपाइँको भन्नु केही छ ?
मधेशको समाज बेलाबेला बिभाजित भइरहन्छ । मैले नेतृत्व गर्ने मौका पाए भने सबैभन्दा पहिला त्यसलाई जोड्ने काम गर्छु । साम्प्रदायिक सद्भाव कसिलो बनाउन भूमिका खेल्नेछु । विभिन्न जातजाति र सम्प्रदाय कसरी मिलेर बसेका छन् भनेर उदाहरण देखाउँछु । अशिक्षा चेतनाले गाउँमा विकास हुन सकेको छैन् । त्यसलाई चिरेर विकासमा युवा सहभागिता बढाउन परिवारले सघाउने वातावरण बनाउने छु । पालिकाको नेतृत्व गर्दै यहाँ हुने सबै क्रियाकलामा युवालाई अघि बढाउँछु ।