September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

‘अहोरात्र वडाबासीको सेवामा छु, निर्वाचन जित्छु’

सिद्धार्थनगर नगरपालिका–६ निवासी रामदयाल गुप्ता प्रखर वक्ता हुन् । लामो समयदेखि भ्रष्टाचार, समाजिक विभेदविरुद्ध उनले आवाज उठाउँदै आएका छन् । नेकपा एमाले सिद्धार्थनगर–६ का वडाध्यक्षका उम्मेदवार उनी वडाबासीसँग भिजेका छन् । प्रस्तुत छ गुप्तासँग निर्वाचन विशेषमा रहेर पब्लिक कुराकाले गरेको कुराकानीको सारसंक्षेप :

Advertisement

चुनाव प्रचारप्रसार कसरी अगाडि बढ्दै छ ?
मतदातालाई भेट्ने र घरदैलो गर्ने गरिरहेको छु । मतदातामाको मलाई र एमालेप्रति अथाह माया पाएका छौं । हाम्रो एजेण्डा सबैलाई बुझाइरहेका छौं । वडावासीको आशीर्वाद लिइरहेका छौं ।

Advertisement

वडाको विकासका लागि तपाइँंका प्राथमिकता के–के छन् ?
वडाभित्र रहेको श्री महात्मा बुद्ध माध्यमिक विद्यालयको स्तरोन्नति तथा प्राविधिक शिक्षाको व्यवस्था गर्ने छु । शिक्षा, स्वास्थ्य तथा रोजगार, सडक, नाला लगायतको उचित व्यवस्था गर्नेछु । झुटा आश्वासन दिन सक्दिन । जे बोल्छु त्यो गरेर देखाउँछु । विगतमा पदमा नहुँदा पनि जनताको सेवामा लागेको हुँ । योजना र प्राथमिकताको बारेमा भन्नुपर्दा अहिले चुनावी प्रतिवद्धता पत्र बनाइएको छ । मुख्य गरी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गर्ने योजना र प्राथमिकता रहनेछ । युवायुवती, महिला, वृद्धवृद्धा, उद्योगी, व्यवसायी लगायतलाई समेटेर योजना बनाइनेछ ।

वडाका मुख्य समस्या के–के हुन् ?
वडामा समस्याहरु धेरै नै छन् । विगत ५ वर्षमा वडामा कति काम भए त्यो वडाबासीलाई सोधे पनि धेरै कुरा थाहा पाउन सकिन्छ । वर्षायाममा यहाँ डुबान हुने गरेको छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि अपेक्षित रुपमा विकास हुन सकेको छैन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मलाई मतदाताले जिताउनुहुनेछ भन्ने कुरामा विश्वस्त छु । जितेपछि जनताको काममा लाग्छु र वडामा भएका समस्याहरुको समाधान गर्नेछु ।

यहाँका चुनाव जित्ने आधारहरु के–के हुन् ?
विगत २० वर्षदेखि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा रहेर जनताको पक्षमा काम गर्दै आएको छु । वडाबासी र विभिन्न संघ–संस्थासँग समन्वय गर्दै विकास निर्माणका कार्यलाई अगाडि बढाउँदै आएको छु । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गरेको थिए । निर्वाचनमा दोस्रो स्थान प्राप्त गरे पनि अग्रस्थानमा रहेर जनताको सेवा गर्दै आएको छु । यो कुरा मैले भन्नु भन्दा पनि जनताले राम्रोसँग बुझ्नुभएको छ । जनतासँग नजिक भएर उहाँहरुको घरदैलोमा पुगेर सेवा गरिहरेको छु । मेरो चुनाव जित्ने मुख्य आधार भनेकै सम्मानित जनताको अमूल्य मत हो ।

मतदाताले तपाइँलाई नै किन जिताउने ?
मतदाताले मलाई नै किन जिताउने भन्ने कुराको आधार मैले हालसम्म गरेका कामहरु नै हुन् । अहोरात्र वडाबासीको सेवामा निरन्तर लागेको छु । अहिले जुन स्थानमा वडा कार्यालय बनेको छ, त्यो कार्यालय बनाउनका लागि विगतमा हामीले संघर्ष गरेको थियौं । म तीनदिन हिरासतमा थिए । अहिले वडा कार्यालय र स्वास्थ्य चौकी बनेको छ । मैले जितेपछि स्वास्थ्य चौकीबाटै वडाबासीका लागि एम्बुलेन्सको व्यवस्था गर्नेछु । वडाका उम्मेदवारहरुमध्ये सबैभन्दा बढी जनताको सेवामा लाग्ने व्यक्ति राम दयाल गुप्ता हो भन्ने कुरा मतदाताबाट सुनिरहेको छु । त्यसैले म लगायत मेरो टीममा रहेका वडा सदस्यका उम्मेदवार अनिता थापा, स्वेता कुमारी हरिजन, मोहम्मद अकिल मुसलमान र राम प्रसाद श्रेष्ठ तथा एमालेबाट नगरप्रमुखका उम्मेदवार डा. रामप्रसाद बस्याल र उपप्रमुखका उम्मेदवार उमा अधिकारीलाई मतदाताले अत्याधिक मतले जिताउनुहुन्छ भन्ने कुरामा विश्वस्त छौं । सिद्धार्थनगरको जनताको चाहना नै एमालेलाई जिताउनु हो ।

मुख्य प्रतिष्पर्धी कसलाई ठान्नु भएको छ ?
मुलुकको ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हो । अहिलेसम्म वडामा मुख्य प्रतिष्पर्धी पार्टी कुन हो भनेर थाहा पाउन सकेको छैन ।

राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचनको बेला मात्र घरदैलोमा आउँछन्, अन्य बेला आउँदैनन् र निर्वाचन जितेपछि पनि जनतालाई बिर्सछन् भन्ने गुनासो छ नी ?
म त्यस्तो नेता होइन । म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेता हुँ । म जनताको सेवक हुँ । २०७४ सालको निर्वाचनमा दोस्रो स्थान ल्याएर पराजित भए पनि म जनताको घरदैलोमा पुगेर निरन्तर उहाँहरुको सेवामा लागिरहेको छु । निर्वाचनमा पराजित भएर जनताबाट टाढा थिइन् र जितेपछि त जनताबाट टाढा हुने कुरै हुँदैन ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
देश र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा (एमाले) हो । वैशाख ३० गते हुने निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरी मेयर, उपमेयर, वडाअध्यक्ष तथा सदस्यहरुलाई अत्याधिक मतले विजयी गराइदिनुहुन सम्मानित जनतामा विनम्र अनुरोध गर्दछु । यहाँहरुकै सल्लाह सुझाव अनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।