छोट्टी बस्न जाने
जुम्लाबाट डोल्पासम्म जाने दुईजना भरियाको व्यवस्था पनि मिल्यो । आज केही आकाश धुम्मिएकोले हिउँ पर्ला भन्ने बडो डर लागेको छ । कारण, हिउँ परे हाम्रो बाटो बन्द हुनेछ ।
यत्तिकैमा १५ गतेको दिन बित्यो हामी निवासमा आयौँ ।
बाहिर आकाशवाणीमा जेनेरेटरको भट्भट् आवाज पनि बन्द भइसकेको थियो । गाउँ, बजारका मानिस पनि सुतिसकेका थिए । टाढाटाढाको गाउँबाट यदाकदा कुकुर भुकेको आवाज आएको सुनिन्थ्यो । मनमा झट्ट आयो– उनी त गुप्त काम गर्छिन् गुप्त ।
चारैतिर सुनसान अँध्यारो कोठा, त्यसमा पनि जाडोले गर्दा मुख छोपेर सुतेको । कसैले घरक्क ढोका चलाएको आवाज आयो । पिलिक्क टर्च बालेर हेरेँ, एकजना साथी बाथरुमको ढोका लगाउँदै रहेछन् ।
आज पौष १६ गतेको दिन एउटा नयाँ उमंग र उत्साहको थियो । कारण, हामीले नयाँ ठाउँमा यात्रा गर्नुछ । तर, आर्कातिर मनको एक कुनामा भय पनि थियो । भय अरू कुराको होइन मौसमको ।
जतिजति दिन छिपिँदै गयो उतिउति आकाशमा बादल हट्दै गयो । हामीलाई अपार हर्ष लाग्यो । भारी मिलाएर भरियाको जिम्मा लगायौँ । तयार भएर प्रस्थान गर्दा ११.१५ बज्यो ।
साथमा दुई भरिया थपिएकोले अब हाम्रो दलमा ५ व्यक्ति भयौँ । प्रस्थान गर्नासाथ उनै रहस्यमयी युवतीसित भेट भयो । आज उनले खुलेर कुरा गरिन् । हामीलाई पनि उनीसित कुरा गर्न धक लागने ।
कुरा टुुंगिएपछि बिदा भयौँ । उनको व्यवहार हामीलाई राम्रो लाग्यो । भरियाले भने, ‘यिनी गुप्तचर प्रहरी हुन् ।’ सारा उपन्यासको यहीँ अन्त्य भयो । व्यर्थै पाप चिताइएछ ।
बजारभन्दा केही पर बाटामुनि तम्बु टाँगेको एउटा थर्पु भेटियो । यो वेरी विशप नामक अमेरिकी नागरिकको रहेछ । उनी एक वर्षदेखि यहाँ रहेछन् । सोधपुछ गर्दा उनी जियोग्राफिकल सर्भेका लागि यहाँ बसेका पत्तो लाग्यो ।
उनी यहाँ थिएनन्, नोकरसित भेट भयो । यसपछि हामी क्रमशः अघि बढ्दै गयौँ । त्यसको अलिक वर जाँदा दानसाँघु आयो । यहाँ जवानदी र तिलानदीको संगम छ ।
यसै त्रिवेणीमा महादेवको मन्दिर छ जसमा प्राकृतिक शिवलिंगको पूजा हुन्छ । यस मन्दिरमा हाल कुनै मूर्ति छैनन् । यहाँ भएका दुई धातुका सुन्दर मूर्ति पारिपट्टिको गाउँमा पुजाहारीले आफ्नै घरमा राखेका छन् ।
पुजाहारीसित भेट हुन सकेन र मूर्तिको दर्शन गर्ने सौभाग्यबाट वञ्चित हुनुपर्यो । ती मूर्ति शिवरात्रिका दिन सालको एकपटक त्यहाँ ल्याएर एक रात राखिन्छ र पुनः यथास्थान लगिन्छ भन्ने कुराको संकेत मिल्यो ।
यस संगममा तीन घर छन् । यो ठाउँ जुम्ला र तिब्रीकोटको सिमाना पनि हो ।
हामी तिलानदीको काठेपुल पार गरी दाहिने किनारको बाटो लाग्यौँ । तिलानदीको वारिपारि दुवैतिर पहाड थिए । बीचमा खोलो बगिरहेको थियो । हामी भएतिरको पाटो उत्तर फर्केको हुँदा हरियाली देखिन्थ्यो । उत्तरतिरको दक्षिण फर्केको पहाड नांगो थियो । यदाकदा फाटफुट रूख पनि देखिन्थे । यसमा अधिक पत्थरिलो भएर पनि यसो भएको होला ।
हामी पूर्व गइरहेका थियौँ । उत्तरतिरको पहाडमा गाईवस्तु चरिरहेका थिए । एकाएक पहराको बीचमा एउटा गुफा देखियो । गुफा देख्नासाथ आदिमानवको कल्पना भयो । त्यहाँ जाने इच्छा हुँदाहुँदै पनि बीचमा खोलो भएकोले अघि बढ्न बाध्य हुनुपर्यो ।
यसको केही समयपछि देवाल गाउँ आयो । तिब्रीकोट जिल्लाको सदरमुकाम हाल त्यहीँ छ । जिल्ला पञ्चायत कार्यालय प्रहरी चौकीमा हाम्रो केही समय बित्यो ।
अघि जाँदाजाँदै यस रमाइलो उपत्यकाको सिरानमा गज्याँगकोट आयो । यो मतवाला बुढाथोकी छेत्रीको गाउँ हो । पहिले यिनीहरू यज्ञोपवित धारी छेत्री थिए रे ! यस जलवायुमा हिन्दु समाजको कठोर व्रत सम्भव भएन । त्यसै कारण यज्ञोपवित फ्याँकेर अनुपवित छेत्री भए रे !
पत्यार नलाग्ने कुरै थिएन । हाम्रा भरिया पनि एकजना बोहोरा र एकजना बस्नेत अनुपवित (जनै नभएका) छेत्री नै थिए ।
यहाँ पुग्दा दिनको साँढे दुई बजेको थियो । यसभन्दा पर झन्नै साढे तीन कोस बाटो नहिँडी आर्काे गाउँ थिएन । यति टाढा जाने हाम्रो साहस भएन । हामी वासको खोजीमा लाग्यौँ ।
गाउँको पुछारमा एउटा कुवा थियो । गाउँका स्वास्नीमानिस पानी भरिरहेका थिए । नौला मानिसलाई देखेर एकले आर्कालाई विस्तारै कोट्याएर इशारैले कुरा गर्थे । कुनैकुनै उकुसमुकुुस भएर खित्त हाँसी पनि दिन्थे ।
यिनैसित हामीले यहाँ वास पाइएला कि भन्ने प्रश्न गर्यौँ । एउटीले उत्तर दिइन्, ‘उः त्यतै पाइएला ।’ यत्रो गाउँमा चन्द्रशाखा न्यायले संकेत गरेको घर कुन हो हामीले छुट्टाउन सकेनौँ । हामी यताउताको दृश्यमा एकछिन अलमलियौँ ।
हाम्रो बायाँतिर तरेली परेर पहाडी भूमिका खेतका गराजस्ता सिँढीझैँ एकभन्दा माथि एक भएर जमिनको भित्तामा अडेस लागेर बसेजस्ता घरका समूहको गाउँ थियो ।
पुछारका घरको आँगन (चोक) जमिनमा थियो र त्यसपछिका प्रत्येक घरको आँगन आर्काको छानु हुँदै गएको । पुछारको घरमा लगाएको लिस्नु (एउटै काठको मूढो कपेर पाइला अड्याउने खुडकिला बनाएको भर्याङ) चढ्न थालेपछि एकएक गरेर आर्का घरको आँगन पार गर्दै गाउँको सिरानको घरसम्म वा भनौँ त्यसको छानासम्म वास्तविक जमिन नटेकीकनै पुग्न सकिन्थ्यो ।
पुछारको घर एउटा लामो पाँच छ परिवारको निवास भएको टहरोजस्तो लाग्दथ्यो र यसै क्रममा त्यस माथिका घर पनि । एकले आर्कालाई थिचेर आसन जमाएका थिए ।
वास्तवमा भन्ने हो भने यो गाउँ एउटै अनेक तले घरको ढिकोजस्तो थियो । प्रत्येक घरका छतमा अथवा भनौँ आफ्ना आफ्ना आँगनमा वा चोकमा केटाकेटी खेलेको देखिन्थ्यो । गाउँका सिरानको छत र गाउँका पुछारको घरको आँगन अनन्त जमिनसित मिलेका थिए ।
प्रत्येक घरका छाना र प्रत्येक घरका आँगन पनि दायाँबायाँका अनन्त भूमिसित आत्मसात् भएका थिए, जसबाट मनुष्य, गाईवस्तु आर्काको घरमा नगई सोझै आ–आफ्नो थलामा आउन सक्तथे ।
गाउँको पुछारमा परपरसम्म फैलिएर गएको खेतको फाँट अगलबगल र सिरानमा बारी, आबाद जमिनभन्दा पर देवदारु र धुपीसल्लाको हरियाली, त्यसको बीचबीचमा टाढाटाढा लुकेर बसेका सेतासेता भोजका रूख साह्रै मनोहर लाग्थ्यो यो गाउँ ।
फाँटमा चर्ने गाईवस्तुका घाँडाका आवाजले अझै वातवरणलाई मुग्ध बनाइदिन्थे ।
हामी वास माग्न गाउँतिर उकालो लाग्यौँ । गाउँका कुकुरले दिगन्त थर्काउन थाले । बास कुन घरमा बसे सुविधा होला । सिरानका घरमा कि पुछारका घरमा । यहाँ घर हेरेर सम्पन्न र असम्पन्न छुट्ट्याउन सकिँदैनथ्यो । सबै घर एकनासका थिए ।
थाली पुलकन्याले हामीबीचको घरमा पुग्यौँ । यस घरको कुकुर निकै जन्ड थियो । एउटी युवती निस्केर कुकुर हेरिदिइन् । यी उनै युवती थिइन्, जसले वास त्यतै पाइएला भन्ने संकेत गरेकी थिइन् । प्रश्न गर्यौँ– वास कता पाइएला त ?
उनले पाहुना कोठामा लगेर हाम्रो व्यवस्था गर्दिइन् । दिन ढल्दै गएको हुँदा आगो ताप्ते व्यवस्था पनि भयो । हामी बसेको कोठाको एउटा कुनामा कागजका बन्डलका चार–पाँच भारी ठड्याइएका थिए । जसको रङ कोठामा बालेको आगाका धुवाँले त्यस कोठाका दलिनजस्तै ध्वाँसे देखिन्थे । मनमा लाग्यो, यत्रो कागज किन धुवाँमा राखेको होला ?
पुनः विचार आयो, राख्ने ठाउँ नै कहाँ छ र ? जुन ठाउँमा राखे पनि धुवाँ त ला िहाल्छ । आगो नबाल्ने कोठै कहाँ छन् र यहाँ ?
बस्ताबस्तै भेद खुल्यो । ती कागजका भारी थिएनन्, भोजपत्रका भारी थिए । अर्थात्, भोज नामका रूखका बोक्रा । कागजको आविष्कार नहुँदै ताडतत्रमा जस्तै भोजपत्रमा पनि लेखपढ गर्ने काम हुन्थ्यो ।
के आज पनि यहाँ भोजपत्रमै लेखपढ हुन्छ त ? होइन, समाधान मिल्यो— यो भोजपत्रको समूह घर छाउन र वर्षायाममा गोठाला, खेतालालाई घुम बनाउन ल्याइएको हो । यसैको एक पत्र छापेर त्यसमाथि माटो हालेपछि वर्षाको पानी घरभित्र चुहुँदैन । हुन त मात्रा नै कति हुन्छ र यहाँ ?
हामी आगो तापेर अग्रिम यात्राको कुरा गरिरहेका थियौँ । साँझ परिसकेको थियो । एउटा अर्धबैँसे मानिस आएर दैलाबाहिर ठिंग उभिए । हामीले भित्र आउने संकेत गर्यौँ ।
आसनमा बसेपछि दुवै थरीको परिचय भयो । उहाँ यसै घरको मालिक जिल्ला पञ्चायतका भूतपूर्व उपसभापति भेदबहादुर बूढा हुनुहुँदो रहेछ ।
वास्तवमा उहाँको थर बुढाथोकी हो, तर यहाँ बूढा मात्र भन्ने चलन छ । भरियाले भन्यो, ‘हजुर, तर्कारी छैन ।’ गृहपतिले चोता र असुरो दिन केटाकेटीलाई अराइदिए ।
असुरो त बुझियो, कामज्वरो आएका बेला खाने तीतो दवाई । बाटामा यसको घारी पनि देखिएको थियो ।
मनमनै विचार गरेँ– आज खाने भइयो तीतो दवाईको तर्कारी । मलाई तीतेकरेलाको तर्कारी खुबै मन पर्थ्यो र सन्तोष गरेँ, त्यस्तै होला असुराको तर्कारी ।
तर, चोता समझमा आएन र विचार गरेँ– त्यस्तै जंगली बुटी होला यो पनि । तर, कुरा बिलकुलै भिन्न रहेछ । चोता भनेको डल्ले मूला रहेछ र असुरो भनेको मूलाको सिन्की । मनमनै हाँसेँ, भाषा नजान्नु पनि केही होइन ।
भोजनपछि हाम्रो मण्डली पुनः जम्यो । कुराकुरैमा गृहपतिले भने, ‘छोट्टी बस्न जाने ?’
यो पनि आफ्ना निमित्त असुरोजस्तै भयो । यस क्षेत्रमा गीत गाउने तरुनीलाई छोट्टी भन्दछन् । प्रायः प्रत्येक साँझ गाउँका तरुनीतन्नेरी मिलेर नाचगान गरेर रमाइलो मनाउँछन् । कसैकसैको प्रेमलीला पनि यहीँबाट सुरु हुन्छ । यसैलाई छोट्टी बस्ने भनिएको हो ।
उनले भने, ‘नाच्न आउँछ ?’
‘आउँदैन ।’
‘गाउन आउँछ ?’
‘आउँदैन ।’
उनले अन्त्यमा निराश भएर भने, ‘तब के गर्नुहोला यस क्षेत्रको यात्रा ?’
रात निकै बितिसकेको थियो । यो ठाउँ जुम्लाभन्दा अझै उच्च भएको हुँदा तापमान ३० डिग्री फैरनहीटभन्दा तल झर्यो । हामी सुत्यौँ । baarhakhari
प्रतिकृया दिनुहोस्