‘नगर विकासमा मैले देखेका सपनाहरू निर्वाचित भएर पूरा गर्न चाहन्छु’


डेढ दशकदेखि राजनीतिमा क्रियाशील छन्, कमला थापा । सिद्धार्थनगर–६ निवासी ६२ वर्षीया थापा भैरहवा क्षेत्रका हरेक समस्यासँग परिचित छन् । नेकपा माओवादी केन्द्रकी नेतृ उनी स्थानीय तह निर्वाचनमा माओवादी र नेपाली काँग्रेसको गठबन्धनबाट सिद्धार्थनगरको उपमेयर पदकी उम्मेदवार छिन् । नेतृत्व पाए नगर विकास गर्ने आफूसँग स्पष्ट योजना भएको उनी बताउँछिन् । यसै सन्दर्भमा पब्लिक कुराको निर्वाचन विशेषका लागि थापासँग गरिएको कुराकानीको सारसंक्षेप ।
तपाइँको राजनीतिक यात्रा ?
म २०६२ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेकी हुँ । त्यसयता नेकपा माओवादी केन्द्रमा आबद्ध भई विभिन्न तहमा रहेर काम गर्दै आएकी छु । म विगतमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य, सिद्धार्थनगर कमिटीको कोषाध्यक्ष पदमा रही नेतृत्व सम्हालेकी थिएँ । करिब दुई दशकदेखि हरेक राजनीतिक घटना क्रममा सक्रिय सहभागी भएर काम गर्दै आएकी छु । यसका अलबा विभिन्न सामाजिक संस्थामा कहिले नेतृत्वमा रहेर त कहिले साधारण सदस्य भएर पनि सफलतापूर्वक काम गरेही छु ।
उमेयरमा तपाइँको उम्मेदवारी किन ?
गरिब, दुखी र पिछडा वर्गको न्यायका लागि मैले उम्मेदवारी दिएकी हँु । नगरको समग्र विकास गर्न, पछाडि परेका र पछाडि पारिएका समुदायको संरक्षण गर्न, सामाजिक, आर्थिक, पर्यटकीय हिसावले नगरको विकास गर्न मेरो उम्मेदवारी हो । अवसर पाए निरन्तर नगरको विकासलाई अगाडि बढाउने छु । सचेत मतदाता बस्ने यस नगरमा पक्कै पनि मैले नगरको विकासका लागि देखेका सपनाहरू पूरा गर्न सहयोग गर्नुहुने छ भन्नेमा विश्वस्त छु । हामी अहिले नेपाली काँग्रेससँगको गठबन्धनमा छौं । सबै साथीहरु गठबन्धनलाई जिताउन एक ढिक्का भएर लाग्नु भएको छ । गठबन्धन एक ढिक्का हुनुको संकेत भनेको यहाँ हाम्रो जित सुनिश्चित हुनु हो । हाम्रो जित हुनु भनेकै नगरको समग्र विकास हुनु हो । गठबन्धनको नेतृत्वले नै सिद्धार्थनगरको समृद्धि हासिल गर्न सक्छ भन्ने मेरो विश्वास छ ।
नगरको विकास गर्न कस्ता योजना बनाउनुभएको छ ?
राजतन्त्रकालीन व्यवस्थाका सबै खाले अवशेषहरूलाई दुरूत्साहित गर्ने, नगर कार्यालयलाई सर्वसाधारणको पहुँचमा पारदर्शी र सरलता ल्याउने, सिद्धार्थनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पहल गर्ने, भैरहवा नगरलाई हरित सिटी बनाउने, दिर्घकालीन फोहोर मैला व्यवस्थापन गर्ने गठबन्धनले योजना बनाएको छ । यस्तै, सडक मानवमुक्त सहर, नगरभित्र नगर बस सञ्चालनसहित एक रिङ्ग रोड, बेलहियाको प्रवेशद्वारमा अत्याधुनिक पर्यटन सूचना केन्द्र, पार्किङ व्यवस्थापन, पुरातात्विक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थलहरूको संरक्षण, सार्वजनिक र सरकारी जग्गाको पहिचान र संरक्षण, भैरहवाको डुवान क्षेत्रलाई उचित ढल नालाको व्यवस्थापन गरी डुबानमुक्त क्षेत्र बनाउने लगायतका योजना छन् । त्यस्तै लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि छुट्टै नीति, प्राविधिक विद्यालयको स्थापना, प्रत्येक शिक्षा, स्वास्थ्यको पहुँच विस्तार, सहरका ठाउँठाउँमा सार्वजनिक शौचालय, वाइफाइ फ्रि–जोन, पार्कस्थलको निर्माण, खेलकुदको विकास, हस्तकला, सीप विकास लगायतका योजनाहरू छन् । यसका साथै जेष्ठ नागरिक, बुद्धिजीवी, महिला, युवाहरुको सम्मान गर्ने योजना गठबन्धन र मेरो छ ।
विशेष गरेर मैले यो नगर गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबेशद्वार भएकाले पनि यहाँ धेरै पर्यटक भित्र्याउने खालका योजनाहरू ल्याउनु मेरो मूख्य कार्य हुने छ । साथै नगरबासीहरूलाई सहज र कम शुल्कमा औषधि उपचारको व्यवस्था गर्ने, खानेपानी, ढल निकासी, व्यवस्थित र गुणस्तरीय सडकको निर्माण, औद्योगिक करिडोरको निर्माण गर्ने, विभिन्न अवसरहरू ल्याई रोजगारीहरूको सृजना गर्ने, बेरोजगारहरूका लागि बिभिन्न सिपमूलक तालिमको व्यवस्था गर्ने स्पष्ट खाका हामीले अघि सारेका छौं । नगरलाई भ्रष्टाचारमुक्त बनाउने र सुशासन कायम गर्ने गठबन्धन र मेरो लक्ष्य छ ।
तपाइँलाई नगरबासीले किन मत दिने ?
म यही नगरकी छोरी, बुहारी, दिदीबहिनी हुँ । यहाँका हरेक सुसदुःखमा मैले नगरबासीसँगै हातेमालो गर्दै आएकी छु । मैले जहाँ नेतृत्व सम्हालेकी छु, त्यहाँ सफल नेतृत्व निर्वाह गर्दै आएकी छु । म सक्षम छु, नगरका समस्यासँग परिचित छु, अवसर पाए काम गरेर देखाउन सक्ने क्षमता छ । अर्कातर्फ सबैको सल्लाह सुझावअनुसार म काम गर्न सक्छु । एक्लै होइन्, नगर बनाउन सबैसँग हातेमालो गर्नुपर्छ भन्ने मेरो सोंच छ । मसँग कुनै लोभलालच छैन । यी र यस्ता कारणले नै मलाई नगरबासीले मत दिनहुन्छ भन्ने लाग्छ ।
तपाइँका जित्ने आधारहरु के हुन् ?
खासगरी म महिला हकअधिकारका लागि संघर्षरत व्यक्ति हुँ । सिद्धार्थनगरमा हजारौं महिला मतदाता हुनुहुन्छ । माओवादी केन्द्र र काँग्रेसले नै महिलाहरुको हकअधिकारको बारेमा आवाज उठाइरहेकाले उहाँहरूले पक्कै पनि मलाई र मेयर इस्तियाक अहमदजीलाई जिताउनुहुने छ भन्नेमा विश्वस्त छु । सिद्धार्थनगर जन्मथलोदेखि कर्मथलो भएको हुनाले सबैमाझ परिचित छु । यहाँको स्थानीय भाषा, संस्कृति, रहनसहनकाबारे मलाई राम्रोसँग ज्ञान छ । मलाई सिद्धार्थनगरको विकासको बारेमा चिन्ता र चासो पनि भएका कारण भोलीका दिनमा चुनाव जितेर मैले यहाँको विकास र यस क्षेत्रका जनताहरूका लागि केही गरेर देखाउनु छ । सबैसँग हातेमालो गरेको, निष्पक्षता र इमान्दारिता नै मेरा जित्ने आधारहरू हुन् । अर्को कुरा मैले नेतृत्व गर्न सक्छु, यस नगरको विकास गर्न सक्छु, महिला अधिकारका क्षेत्रमा काम गर्न सक्छु । गठबन्धनले प्रतिबद्धता गरेका हरेक कामहरू चरणबद्ध गर्ने हामीले योजना बनाएर अगाडि बढेका छौं । त्यसैले पनि मलाई गोलाकार भित्रको हसियाँ हथौडाभित्र मतदान गरी नगरबासीले काम गर्ने अवसर प्रदान गर्नुहुने छ भन्ने लागेको छ । आफ्नो राजनीतिक यात्रामा मैले अहिलेसम्म कतै कमी कमजोरी हुन दिएकी छैन् । यदि मैले जिते भने सक्षम उपमेयरको हैसियत प्रदान गर्न सक्छु, त्यसैले पनि मलाई नगरबासीले मतदान गर्नु पर्छ जस्तो लाग्छ । अर्कातर्फ हामी गठबन्धनमा छौं । काँग्रेस र माओवादीका संगठन यहाँ बलिया छन्, ती बलिया संगठन हाम्रा जितका सबैभन्दा ठूला आधार हुन् ।
प्रतिकृया दिनुहोस्