December 10, 2024, Tuesday
२०८१ मंसिर २५

‘मेरो अठोट समृद्ध सिद्धार्थनगर बनाउने हो’

राजनीतिसँगै खेलकुद लगायत अन्य सामाजिक क्षेत्रमा क्रियाशील उमा अधिकारी सिद्धार्थनगर–७ की बासिन्दा हुन् । ४१ वर्षीया अधिकारी दुई दशक भन्दा लामो समयदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा क्रियाशील छन् । एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयर पदको उम्मेदवार रहेकी उनले स्नातकोत्तरसम्म अध्ययन गरेकी छन् । महिला अधिकार स्थापित, युवालाई रोजगार, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको विकासमा आफूले परिवर्तन चाहेको उनी बताउँछिन् । प्रस्तुत छ, पब्लिक कुरा निर्वाचन विशेषमा रहेर उनै अधिकारीसँग गरिएको कुराकानीको सारसंक्षेप ।

राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
म करिब २२ वर्षदेखि सक्रिय राजनीतिमा छु । विद्यार्थी जीवनबाट मैले राजनीतिक यात्रा सुरु गरेकी हुँ । २०५६ सालमा म एमालेको भातृ संगठन अनेरास्ववियुमा आबद्ध भए । त्यसको एक वर्षपछि सदस्यता लिएँ । २०६० मा अनेरास्ववियुबाट उम्मेदवार बनेर भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष निर्वाचित भएँ । त्यस पछि संगठनको जिल्ला, तत्कालीन अंचल हुँदै केन्द्रिय समस्य भएँ । विद्यार्थी जीवनबाट बाहिर आएपछि म एमालेको सक्रिय राजनीतिमा निरन्तर क्रियाशील छु । नगर, क्षेत्र हँुदै अहिले दुई कार्यकाल भयो एमाले जिल्ला कमिटी सदस्य छु । अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत छु । जिल्लामा विद्यार्थी संगठनको सह–इन्चार्जको रुपमा काम गरिरहेकी छु । अन्यायकाबिरूद्धमा र न्यायको पक्षमा लड्नु पर्छ भन्ने मेरो सानैदेखिको भावना थियो । यही भावनालाई आत्मासाथ गर्दै राजनीतिमा क्रियाशील रहँदै आएकी छु । मेरो अठोट अनुसार काम पनि गरेकी छु । मेरो राजनीतिक यात्रामा आमाबुवा, श्रीमान, सासु आमा लगायत परिवारको ठूलो योदान छ । सबैको सहयोग, सद्भाव, प्रेरणाका कारण आज म उपमेयरको उम्मेदवार भएर नगरबासी समक्ष आएकी छु ।

Advertisement

सिद्धार्थनगरको उपमेयर पदमा यहाँको उम्मेदवारी किन ?
मसँग दुई दशक लामो राजनीतिक र सामाजिक अनुभव छ । अवसर पाए महिलाहरूले पनि नेतृत्व सम्हाल्न सक्छन् भन्ने कुराको आत्मविश्वास भएका कारण पनि मैले उपमेयरमा उम्मेदवारी दिएकी हुँ । समृद्ध सिद्धार्थनगर मेरो सपना छ । त्यसलाई पुरा गर्न म आतुर छु । राजनीतिक आन्दोलन सँगसँगै विभिन्न सामाजिक संस्थामा रहेर सफलतापूर्व नेतृत्व गरेकी छु । मसँग आत्मविश्वास छ । अवसर पाए नगरको विकास गर्न थुप्रै योजना बनाएकी छु । जिम्मेवारी पाएमा कुशलतापूर्वक नेतृत्व गर्न सक्छु भन्ने हेतुले म उपप्रमुखको उम्मेदवार भएकी हुँ । पार्टीले पनि मलाई सक्षम देखेर नै उम्मेदवार बनाएको हो । यदि मैले अवसर पाएँ महिलालाई नेतृत्व दियो भने असल, इमान्दार र कर्मनिष्ठ तरिकाले काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गराउने छु । अर्कातर्फ म युवा हुँ, युवादेखि बृद्धसम्मको भावना बुझ्न सक्छु । लामो समय यही रहेकाले सिद्धार्थनगरको वास्तविक धरातल बुझेकी छु । नगर कस्तो हुनुपर्छ र बनाउनुपर्छ भन्ने मसँग स्पष्ट योजना र खाका छ । अनुभवलाई व्यवहारमा उतार्न सबैको साझा उम्मेदवार भएर आएकी छु भन्ने मलाई लाग्छ ।

नगर विकासमा यहाँले कस्ता किसिमका योजना बनाउनुभएको छ ?
यो नगरलाई शान्त, सभ्य, सुन्दर, स्वच्छ, स्वस्थ र समृद्ध पर्यटकीय बुद्ध नगरीका रूपमा विकसित गर्न आवश्यक योजना बनाई अगाडि बढ्ने छु । यसबारे हाम्रो नेकपा एमालेले विस्तृत विवरणसहितको घोषणा पत्र लिएर मतदाता समक्ष पुगिरहेको छ । निर्वाचित भएमा हामीले बनाएका योजना यथेष्टरुपमा पुरा गर्न लाग्ने छौं । यसका साथसाथै अन्य राजनीतिक दलहरूले अगाडि सार्नू भएका राम्रा योजनालाई सबै क्षेत्रको सहकार्यमा अगाडि बढाइने छ । नगरको मुख्य समस्या भनेकै फोहोर व्यवस्थापन, शहरी सुद्धिकरण तथा सबै वडाहरूमा समानुपातिक विकासको खाँचो हो । यसमा हामीले काम गर्ने छौं । शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन क्षेत्रको समुचित विकासको खाँचो यहाँ छ । सँगसँगै सबै जातजाति, धर्म–संस्कृति, समुदाय, भाषाभाषी, वर्ग, क्षेत्र, लिंगको संरक्षण र विभेद अन्त्यको नीति, बेलहिया नाका थप सुदृढ, नगरलाई गाउँपालिकासँग जोड्न चक्रपथ निर्माण, गाउँका उत्पादनलाई सहर र सहरका उत्पादन गाउँसम्म पुर्याउन विशेष योजना अगाडि बढाइने छ । त्यस्तै नजिकका गाउँपालिकाका वडाहरूलाई जोडेर उपमहानगर र विस्तारै महानगर बनाउन पहल, जातीय विभेद र छुवाछुतको अन्त्य गर्न सचेतनामूलक र सीपमूलक कार्यक्रम संचालन, निम्न वर्गका महिलाहरूका लागि उचित मापदण्डका आधारमा नगरपालिकाबाट निःशुल्क कानूनी उपचारमा पहल तथा रोजगारी र सीप विकास गर्न पहल गर्ने छु । यस्तै भ्रष्टाचारमुक्त नगर निर्माण गर्न पारदर्शिताको नीति अबलम्बन गर्ने, खेलकुद क्षेत्रको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण, उद्योगी–व्यवसायी, होटल व्यवसायी, पर्यटन व्यवसायी, यातायात व्यवसायी, सडक निर्माण लगायतको समस्या समाधान गर्न पहल गर्ने योजना बनाएकी छु ।

भैरहवा मण्डप निर्माण, युवा स्वरोगारका कार्यक्रम संचालन, सार्वजनिकस्थलहरूको भरपूर्ण प्रयोग गरी फ्रि वाईफाइ जोनको व्यवस्था, कृषि आधुनिकी करण, ट्राफिक व्यवस्थापन, स्वास्थ्य तथा शिक्षामा सबै नगरबासीको सहज पहुँच, गृहणी सीप तालिमको संचालन, बालिबिबाह, लागूऔषध दुव्र्यसनीको निराकरण, एकल महिला तथा गरीब परिवारका लागि उचित कार्यक्रम, अपांगमैत्री सिद्धार्थनगर बनाउने लगायतका योजना छन् । यसअघि एमालेले नेतृत्व गर्दा नगरको विकासको जग बसालेको छ । पहिलाका कामलाई निरन्तरता दिँदै थप योजनाहरुलाई मूतरुप दिने हाम्रो योजना छ । मेरो अठोट समृद्ध सिद्धार्थनगर हो । यसमा लाग्ने छु ।

तपाइँले जित्ने आधार के छ ?
मैले जित्ने पहिलो आधार भनेकै पार्टी संगठन हो । एमाले नेतृत्वको यसअघिको स्थानीय सरकारले गरेका काम हुन् । अर्को कुरा हाम्रो पार्टी नेकपा एमालेले राष्ट्रियता, राष्ट्रि अखण्डता र स्वाभिमानका पक्षमा लिएको अडान, एमालेप्रति जनताको आशा, भरोसा र विश्वास, मेरो समाजसेवा र राजनीतिप्रति निरन्तरता, सक्रियता, इमान्दारिता, सक्षमता, योग्यता हो । साथसाथै यहाँका सचेत र शिक्षित मतदाताहरूले योग्य उम्मेदवार रोज्नु नै मैले जित्ने आधारहरू हुन् । महिला अधिकार र महिला हिंसाविरूद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छु । राजनीतिक जीवनमा म कहीकतै गलत नियत राखेकी छैन । जहाँ नेतृत्व लिएकी छु, त्यहाँ कुशलतापूर्वक नेतृत्व सम्हालेकी छु । यी नै मेरा जित्ने आधारहरू हुन् । अर्कातर्फ म खेलकुद क्षेत्रमा लामो समयदेखि क्रियाशील हुँदै आएकी छु । खेल क्षेत्रको विकासबारे ज्ञान छ, सबै खेलप्रेमीले मलाई जिताउन लागि पर्नुभएको छ । यहाँ असल, सक्षम र कुशल मतादाता हुनुहुन्छ । युवा हुँ, युवाले नेतृत्व लिए नगरको विकास गर्न सक्छन् भन्ने धेरैकी प्रतिक्रिया पाएकी छु । यी मेरा जितका आधारहरु हुन् ।