भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनीमा तयारी तीब्र
लुम्बिनी– आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने तय भएपछि स्वागतका लागि तयारी तिव्र पारिएको छ । यसअघि मोदी लुम्बिनी आउने तय भएर पनि अन्तिममा कार्यक्रम स्थगित भएको थियो ।
यसपटक बुद्ध जयन्ती पारेर आउन लागेपछि स्थानीय हर्षित छन् । लुम्बिनी बिकास कोषले सम्बन्धित मन्त्रालयसित समन्वयमा तयारी थालेको जनाएको छ । यसपटक मोदी लुम्बिनीमा आयोजना हुने २५६६ औं बुद्ध जयन्तीका अवसरमा आउन लागेका हुन् ।
लुम्बिनी बिकास कोषका अनुसार मोदी आउने भएपछि अहिले चारवटा हेलिप्याड निर्माण भइरहेको छ । लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल नजिकै हेलिप्याड बनाउन लागिएको हो । प्राविधिकका अनुसार यस्ता हेलिप्याड ढलान गरेर पक्कि बनाइनेछ । हेलीप्याडसम्म आउजाउका लागि चार मिटर चौडा ढुंगाको बाटो निर्माण भइरहेको छ । धेरै समय बाँकी नरहेकाले बैशाख मसान्तभित्र यस्ता तयारी पूरा गर्ने गरी काम भइरहेको छ ।
यहाँ आएपछि मोदी भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ । त्यसका लागि बिहारसम्म पुग्ने बाटो निर्माणलाई तिब्रता दिइएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबीसी)मार्फत जर्मन स्तुपा उत्तर विहार बनाउन लागेको हो । उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ ।
विहारको वाउण्ड्री वाल बनाउने काम तिब्रताकासाथ भइरहेको छ । अहिले त्यहाँ प्रहरीले सुरक्षा दिन थालेको छ । उक्त विहार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउबाले संयुक्त रुपमा शिलन्यास गर्ने कार्यक्रम छ । मोदी आउने जानकारीपछि स्वागतका लागि तयारी थालेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।
भ्रमणबारे परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिने उनले बताए । सरकारबाट मोदीको भ्रमणको औपचारिक घोषणा भइसकेको छैन । यहीं बीचमा नेपाल र भारतका उच्च सुरक्षा अधिकारी लुम्बिनी आउने क्रम बाक्लिएको छ । भ्रमणको तयारीका लागि लुम्बिनीमा उनीहरु लुम्बिनी विकास कोषसंग पटक–पटक छलफल आयोजना गरिसकेका छ ।
प्रतिकृया दिनुहोस्