June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

‘नेतृत्व पाएँ भने गाउँपालिकाको मुहार फेर्छु’

कलिलो उमेरदेखि नै उनी राजनीतिमा होमिएका छन्, रुपन्देहीको कोटहीमाई गाउँपालिका–३, मर्यादपुर निवासी अशोककुमार कलवार । देख्दा उनी राजनीतिमा सक्रिय रुपमा छन् भनेर पत्याउन मुस्किल हुन्छ । भारतको दिल्ली बिश्व बिद्यालयबाट बीबीए उतीर्ण गरेका कलवार २९ वर्षका छन् । घरकै बिजनेश सम्हालेका कलवार यस पटकको स्थानीय तहको निर्बाचनमा नेपाल जनता पार्टीकातर्फबाट कोटहीमाई गाउँपालिकाको प्रमुखको पदमा एक्कासी उम्मेदवारी दिए । उनको प्रचारप्रसार गर्ने शैली र राजनीतिक सक्रियता देखेर स्थानीयबासी अचम्म मान्छन् । प्रस्तुत छ, चुनाव प्रचारप्रसारको क्रममा भेटिएका कलवारसँग पब्लिक कुराका लागि गरिएको कुराकानीको सारसंक्षेप ।

Advertisement

कलिलै उमेरमा राजनीतिमा किन लाग्नुभयो ?
राजनीतिमा लाग्न उमेरले पाकै हुनु पर्ने भन्ने होइन् । समाजको नेतृत्व लिएर विकास निर्माण र सामाजिक कामलाई सफलतापूर्वक हाक्न सक्ने खुबी राजनीतिकर्मीमा हुन जरुरी छ । यसका लागि कपाल फुलेकै उमेरको आवश्यक पर्छ भन्ने होइन् । अर्को, हाम्रो नेपालमा धेरै राजनीतिक बिकृति देखा परेका छन् । त्यस्ता राजनीतिक बिकृतिको स्थानीय तहबाटै पनि अन्त्य गरेर देखाउन सक्नु पर्छ भनेर म राजनीतिमा लागेको हुँ ।

Advertisement

उम्मेदवारी दिन तपाइँलाई कुन कुराले प्रेरित गर्यो ?
कोटहीमाई गाउँपालिका मर्चवार क्षेत्रको केन्द्र बिन्दु हो । र, भविष्यको सवै भन्दा चाँडो बन्ने नगर पनि । अहिले पनि नगरोन्मुख अवस्थामा छ । तर, यही गाउँपालिकामा विकास निर्माणका कार्य जिरो अवस्थामा छ । पहिला निर्बाचित जनप्रतिनिधिले जनताको आकांक्षा अनुरुपको विकास निर्माणका कार्य र सामाजिक काम गरेर देखाउन सकेनन् । व्यक्तिगत स्वार्थमा लागे । आफू अनुकुलका मात्रै काम गरे । पाँच वर्षकै अवधिमा पनि कसरी यस क्षेत्रको विकास निर्माणका कार्य गर्न सकिन्छ भनेर देखाउन सक्नु पर्छ भन्ने लागेर उम्मेदवारी दिएको हो ।

यस क्षेत्रमा तपाइँको पहिलो प्रथामिकताका काम के हुन् ?
कोटहीमाई लगायत मर्चवार क्षेत्र अझै पनि शिक्षाको कमीले धेरै पछाडि परेको छ । अधिकांशमा अझै पनि पुरानै पुरातनबादी सोंच छ । अन्धबिश्वास कायमै छ । जसका कारण यसको धेरै असर महिला तथा स्कुले उमेरका वालिका माथि परेको छ । धेरै वालिकाहरु अध्ययनका लागि विद्यालय जाँदैनन् । शिक्षाबाट बिमुख भएका छन् । उनीहरुलाइ विद्यालय जाने, अध्ययन गरेर दक्ष जनशक्ति तयार पार्ने बातावरण तयार गर्ने मेरो पहिलो प्राथमिकता हो । गरिवलाई आवास पनि मेरो प्राथमिकताको विषय हो ।

यसका लागि तपाइँको योजना के छ त ?
यसका लागि मैले गाउँपासिलकामा आवश्यकता अनुसार छात्राका लागि अलग्गै विद्यालयको निर्माण गरि संचालनमा ल्याउने योजना छ । छात्राका लागि अलग्गै विद्यालय नभएकै कारण मर्चवार क्षेत्रका धेरै बालिका तथा छात्रालाई अभिभावकले स्कुल पठाउँदैनन् । विद्यालयमा छात्रासँगै आफ्नो छोरी बसेर पढेको अभिभावकले मन पराउँदैनन् । छात्रसँग संगै बसेर पढेमा छोरी असुरक्षित हुन्छे भन्ने पुरातनबादी सोंच छ । त्यसैले पहिला छात्रा विद्यालय संचालन गरेर छात्रालाई शिक्षा लिने अवसर दिलाइहाल्ने र क्रमशः पुरातनबादी सोंचमा पनि परिवर्तन ल्याएर अन्त्य गर्ने हो ।

युवा जनशक्तिको अवस्था कस्तो छ ?
मर्चवार क्षेत्रमा युवाशक्ति धेरै छ । तर, दक्ष छैन । अध्ययन र शिपयुक्त छैन । यहाँका धेरै युवा भारत लगायत खाडी मुलुकमा गएर पसिना बगाएका छन् । तर, सिप र प्राबिधिक ज्ञानको कमीले उनीहरुको श्रम सस्तो मूल्यमा बेच्नु परेको छ । स्थानीय तहमैं पनि मजदुरीको काममा दिनभरि पसिना बगाउने गर्छन् । ज्याला कम पाउँछन् । सिप जानेको जनशक्ति चाहिएमा भारतबाट मगाउनु पर्ने हुन्छ । तसर्थ दक्ष जनशक्ति तयार पार्नका लागि यस क्षेत्रमा प्राबिधिक शिक्षालयको स्थापना गर्ने लक्ष्य हो ।

यस क्षेत्रका मुख्य समस्या के–के छन् ?
कृषकले समयमा बीउ माल पाउँदैनन् । सिंचाइको अभाव छ । शुद्ध खानेपानी छैन । उत्पादित सामानले राम्रो बजार पाउँदैन । विकास निर्माण छैन । न्युन परिमाणमा भएका विकास निर्माण पनि गुणस्तरीयता छैनन् । कमसल निर्माणले एक बर्षमैं पीच सडक भत्किन्छ । जनता जागरुक छैनन् । जनप्रतिनिधिले समानुपातिक रुपमा भन्दा आफुलाई अनुकुल हुने गरि योजना संचालन गर्छन् । भ्रष्टाचार व्याप्त छ । शिक्षा, स्वास्थ्यको अवस्था दयनीय छ । गरिवी र पछौटेपन छ । सडक, बिद्युत, नाला निर्माण कलभर्ट लगायतका समस्या धेरै छ । यिनै समस्याको समाधान मेरो चुनावी मुद्दा हुन् ।

चुनावमा बिजयी हुने तपाइँको सुनिश्चितता के छ ?
मलाई स्थानीय सवैको साथ र सहयोग छ । बिशेषगरि, युवा सवै मेरो पक्षमा छन् । युवाको बल नै मेरो बिजयको सुनिश्चितताको आधार हो । युवा भनेको परिवर्तनको संवाहक हुन् । अर्कातर्फ मेरो बुवाले लामो समय यस क्षेत्रमा गरेको समाजसेवा हो । मेरो शिक्षा र दक्षता पनि जितका आधार हुन् ।