December 5, 2024, Thursday
२०८१ मंसिर २०

गठबन्धनको संकल्प : हरियाली सहर, स्वस्थ नगरबासी

भैरहवा– सत्ता साझेदार गठबन्धनकातर्फबाट स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले बिहीबार संकल्पपत्र सार्वजनिक गरेका छन् । अन्य दलले पूरा गर्न असम्भव विभिन्न घोषणा सार्वजनिक गरेको जनाउँदैं सिद्धार्थनगर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान र माओवादीबाट उपप्रमुख पदकी उम्मेदवार कमला थापाले कार्यकालमा पूरा गर्न सकिने वाचा समेटेर संकल्पपत्र जारी गरेको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराए ।

‘नगरको उन्नतीका लागि आवश्यक र पूरा गर्न सकिने कार्यक्रममात्रै सार्वजनिक गरेका हौं,’ प्रमुख पदका प्रत्यासी खानले भने, ‘हमी असम्भव कुरा गर्दैनौं ।’ दुबै उम्मेदवारले ‘भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता, हाम्रो सिद्धार्थनगर नगरपालिका’ नारा तय गरेका छन् । आफ्नो कार्यकालमा भ्रष्टाचार शून्य बनाउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि प्रशासनिक कार्यलाई चुस्त पारिने उनीहरुले बताए । नगरका सबै कार्यालयलाई सेवाग्राही मैत्री बनाउने उनीहरुको जोड छ । ‘निर्वाचन पूरा भएको ६ महिनाभित्र नगरपालिकाको दीर्घकालीन योजना तर्जुमा गरेर काम थाल्नेछौं,’ संकल्प पत्र सार्वजनिक गर्दै खानले भने, ‘नगरपालिका तथा प्रत्येक वडामा गुनासो तथा उजुरी पेटिका राखिने छ ।’

Advertisement

नगरपालिकाको शिक्षा स्तरोन्नतीका लागि विशेष योजना तय गर्ने उप प्रमुख पदकी प्रत्यासी थापाले बताइन । ‘नगरभित्रका सामुदायिक विद्यालयमा पठन–पाठन गर्ने विद्यार्थी कक्षा १२ सम्म निशुल्क शिक्षाको नीति अवलम्बन गरिनेछ,’ उनले भनिन्, ‘अध्ययनसँगै स्व–आर्जनका लागि प्राविधिक क्याम्पस सञ्चालन गरिनेछ ।’ उच्च शिक्षा अध्ययनकालागि गरिब, पिछडिएका वर्ग तथा अल्पसंख्यक समूहका छात्र–छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने उनले बताइन । ‘विद्यालयमा छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गरिनेछ,’ उनले भनिन्, ‘वेरोजगार तथा युवाकालागि सीपमूलक तालिम केन्द्र स्थापना गरिनेछ ।’

नगर प्रमुख पदका प्रत्यासी खानले मदरसा शिक्षालाई समायनुकुल बनाइने बताए । ‘सामुदायिक विद्यालयमा एक जना नर्सको व्यवस्था मिलाइने छ,’ उनले भने, ‘अपाङ्गता भएका विद्यार्थी लागि विशेष प्रोत्साहन भत्ता व्यवस्था गरिने छ ।’ सिद्धार्थनगर–२, मा रहेको बाल बहिरा विद्यालयलाई विशेष योजनाकासाथ अगाडि बढाउने लक्ष्य रहेको उनले बताए । नगर क्षेत्रमा कक्षा १० सम्म पढेका विद्यार्थीलाई रोजगारको लागि वायरिङ्ग, प्लाम्बिङ्ग, कुक, वेटर, कटाई, सिलाई बुनाई आदि सिपमूलक तालिमको लागि व्यवस्थ गरिने प्रमुख पदका उम्मेदवार खानले बताए ।

नागरिकलाई तन्दरुस्त राख्न अर्गानिक तरकारी उत्पादनमा जोड दिने उनले बताए । त्यसका लागि नगरपालिका भित्रका खाली जमिनमा विषादी र राससायनिक मल प्रयोग नगरी तरकारी उत्पादनलाई बढवा दिए बताए । यस्ता खेतीमा नीजि क्षेत्रले लगानी गर्ने र विपन्नले उत्पादन गर्ने नीति ल्याउने खानले जानकारी दिए । ‘भिम अस्पताललाई पाँच वर्षभित्र सुविधा सम्पन्न बनाएर शिक्षण अस्पतालमा परिणत गर्न पहल गर्ने छौं,’उनले भने, ‘प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको स्तर वृद्धि गरिने छ ।’ हरेक वडामा अपाङ्ग तथा जेष्ठ नागरिकलाई घर घरमै गई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । ‘नगरका सबै नागरिकलाई अनिवार्य स्वास्थ्य वीमा गर्न प्रेरित गरिनेछ,’ उनले भने, ‘क्यान्सर, मृगौला तथा दीर्घ रोग लागेका पीडित स्थानिय नागरिकलाई विशेष व्यवस्था गरिनेछ ।’

गठबन्धनले कृषि तथा पशुपालनलाई जोड दिएको छ । कृषकलाई आवश्यकता अनुसार बिऊ, मल, औषधी समयमा नै सर्व सुलभ रुपमा उचित मूल्यमा उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ । ‘प्र्राङ्गारिक मल उत्पादनमा घरेलु उद्योगलाई प्रोत्साहित गरिनेछ,’गठबन्धनको संकल्पपत्रमा उल्लेख छ, ‘प्रत्येक वडाको खेती योग्य जमिनको तथ्याङ्क सङ्ककलन गरी कृषि उत्पादन वृद्धि गर्न सिद्धार्थनगर नागरिक कृषि कार्यक्रम लागु गरिने छ ।’ कृषि तथा बाली बीमाको व्यवस्था गर्ने र घरेलु करेसावारीका लागि निःशुल्क विउ विजन उपलब्ध गराइने गठबन्धनले जनाएको छ । ‘सिद्धार्थनगर–५ स्थित हाटबजारमा नवनिर्मित कृषि व्यापारिक भवन तथा वडा नम्बर ८ स्थित वीपी पथमा रहेको फलफुल तथा तरकारी बजारलाई थप व्यवस्थित गरिने छ,’ गठबन्धनको संकल्प पत्रमा उल्लेख छ, ‘पशुपालन र दुग्ध उत्पादन कार्यमा संलग्न वयवसायीलाई प्रोत्साहित गरिने छ ।’ गठबन्धनले नीजि क्षेत्र र नागरिकलाई लाभ मिल्ने गरी नगरको कर व्यवस्थापन गरिने जनाएको छ ।

‘कर बढाउने निति भन्दा दायरा बढाई राजस्व वृद्धि गर्ने निति अवलम्बन गरिने छ,’ उक्त पत्रमा उल्लेख छ, ‘जनताको करबाट उठेको रकमलाई अनावश्यक रुपमा खर्च गरिने छैंन ।’ महिलाद्धारा सञ्चालित साना तथा लघु उद्योग स्थापना गरी नयाँ व्यवसाय सञ्चालन गर्न आउने उद्योगीहरुलाई ५ वर्षसम्म ५० प्रतिशत स्थानीय करमा छुट दिइने उल्लेख छ । खेल क्षेत्रको विकासकालागि प्रत्येक वडामा खेलमैदानको व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ । ‘युव–युवतीको शारीरिक विकासको लागि स्वास्थ्यको ख्याल गर्दै प्राथमिक तहलेदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा भाग लिन प्रोत्साहित गरिनेछ,’ पत्रमा उल्लेख छ, ‘५ वर्षभित्र (१) एउटा कवर्ड हल बनाइनेछ ।’

सिद्धार्थनगरलाई क्लिन, ग्रिन, इकोफ्रेन्ड्रली र फुलै फुलको शहर बनाइने गठबन्धनको लक्ष्य छ । ‘इकोनोमिकल्ली जिरो पोलुटेड र हाइजेनीक गर्न ५ लाख विरुवा वृक्षारोपण गरिनेछ,’प्रमुख प्रत्यासी खानले भने,‘ नगरक्षेत्रभित्रका सम्पूर्ण सडकहरुलाई कालोपत्रे वा ढलान गरिनेछ ।’ छाडा चौपायाको व्यवस्थापनको लागि नपाको अधिनमा रहेको जग्गामा पूर्वाधार खडा गरि निर्माण गर्ने उनले बताए ।

फोहोरमैला व्यवसथापना तथा सरसफाईका लागि गठबन्धनले फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर समाधान गर्ने जनाएको छ । नगरभित्रका सबै सडक, ढल, नाला तथा सार्वजनिक शौचालयको नियमित सरसफाई गरिने गठबन्धनले जनाएको छ । ‘प्रत्येक वडामा प्रत्येक ४–५ घरको अगडि फोहरमैला फाल्ने डस्टविनको व्यवस्था गरिने छ,’ पत्रमा उल्लेख छ, ‘आवश्यकता अनुसार वर्षायाममो पानीबाट डुवानको क्षति कम गर्न नालाको सरसफाईमा विशेष ध्यान दिइने छ ।’ वातावरण तथा विपद व्यस्थापनका लागि नगरक्षेत्रमा रहेको सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिनेछ र प्रत्येक सडक किनारमा हरियाली कायम हुने गरी विरुवाहरु लगाइने उल्लेख छ ।

‘सिद्धार्थनगरलाई सधंै हराभरा राख्ने सरकारी सार्वजनिक तथा नीजि भवनको छेउछाउमा विरुवा लगाउने व्यवस्था गर्ने । सो कार्यको लागि आवश्यक पर्ने विरुवा निःशुल्क उपलब्ध गराइने छ,’ गठबन्धनको संकल्पपत्रमा उल्लेख छ, ‘नीजि क्षेत्रबाट गरिने (वातावरण तथा विपद व्यवस्थापन) वृक्षारेपण हरियाली आदिको लागि उचित सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।’ यसका साथै नगरमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुलाई पुरस्कार सहित सम्मानपत्र नगरपदक बाट विभुषीत गर्ने, स्थानिय संस्कृतिलाई चिनाउने सास्कृतीक कार्यक्रम को लागि हलको व्यवस्था गरि दैनिक रुपमा फरक फरक कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने, खाना महोत्सव, मेला प्रदर्शनी, जस्ता नगर स्तरीय कार्यक्रमहरुलाई प्रोत्साहित गर्ने, नगर सुरक्षाका लागि सीसीटीभी जस्ता प्राविधिको प्रयोग गरि सुरक्षाको प्रबन्ध मिलाउने लगायत काम गरिने उल्लेख छ ।

‘विकशित मुलुकका विभिन्न शहरसंग भगिनी सम्बन्ध कायम गरि आपसी हितका क्षेत्रमा सिकाई एंव विकाशका कुराहरुलाई बढावा दिने निति अवलम्बन गरिनेछ,’ संकल्प पत्रमा उल्लेख छ, ‘नगर क्षेत्र भित्रका सार्वजनिक जग्गाको संरक्षण गरि उचित व्यवस्थापना गरिने छ ।’ नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिश खड्काको सभापत्विमा भएको कार्यक्रमको संचालन माओबादी केन्द्रका नगर अध्यक्ष नारायण हमालले गरेका थिए ।