May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

जसपाको प्रतीज्ञा : निःशुल्क एम्बुलेन्स, उज्यालो सिद्धार्थनगर

भैरहवा– जनता समाजवादी पार्टी (जसपा) सिद्धार्थनगर नगर समिति (भैरहवा)ले स्थानीय निर्वाचनको प्रतीज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी उसले प्रतीज्ञा पत्र सार्वजनिक गरेको हो ।

Advertisement

प्रतीज्ञा पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, भौतिक पूर्वाधार निर्माणलाई जोड दिइएको छ । यस्तै, मेयर शिक्षा योजना कार्यक्रम लागु गर्ने जनाइएको छ । ‘कक्षा १२ सम्मको सम्पूर्ण शिक्षा निःशुल्क प्रदान गर्ने, प्रतिष्पर्धाबाट प्रत्येक वर्ष ५ जनालाई एमबीबीएस तथा १० जनालाई इन्जिनियरिङ शिक्षाका लागि पूर्ण छात्रबृत्ति प्रदान गरिनेछ’, प्रतीज्ञा पत्रमा भनिएको छ ।

स्नातकसम्मको अध्ययन हुने सामुदायिक विश्वविद्यालय स्थापना गर्ने, सामुदायिक अस्पताल, प्रत्येक वडामा सुविधा सम्पन्न वडा क्लिनिक स्थापना, निःशुल्क एम्बुलेन्स सेवा, क्यान्सर रोग निधानका लागि डिटेक्सन सेन्टर स्थापना गर्ने जसपाले योजना अघि सारेको छ । ‘नगर भित्रका कच्ची सडकलाई पक्की बनाउने, नगरका बिभिन्न क्षेत्रमा सोलार बत्ति, उज्यालो सिद्धार्थनगर, बालीको बिमा, एक घर एक रोजगार, समस्या तथा गुनासाका लागि हेल्लो मेयर कार्यक्रम संचालन गरिनेछ’, प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ ।

महिला, जेष्ठ नागरिक तथा विद्यार्थीहरुका लागि नगरबसको व्यवस्था गर्ने, सिद्धार्थनगरको एउटा विशेष स्थानलाई वाकिङ स्ट्रिट बनाई पर्यटन प्रबद्र्धन गर्ने, एक घर दुई रुखको अवधारणा, निःशुल्क भोजनको लागि फुडब्यान्क लगायतका स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा उल्लेख भएका कुराहरु आफू निर्वाचित भए नगर बिकामा लागु गर्ने, भेदभावरहित बिकास गर्ने जसपाबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार मातृकाप्रसाद यादबले बताए । ‘मसँग अनुभव छ, लामो राजनीतिक जीवनमा कहीकतै खोट लाग्ने काम गरेको छैन’, उनले भने, ‘अवसर पाए गरेर देखाउँछु । यसपटक नगरबासीले मलाई अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

परिचय तथा घोषणापत्र सार्वजनिक कार्यक्रममा उप मेयर उम्मेदवार आश्मा खातुनले महिला हकहितसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधारमा ध्यान केन्द्रित हुने बताइन् । उनले भनिन्, ‘मैले महिलाहरुको उत्थानका लागि विशेष योजना ल्याउने छु । अन्य क्षेत्रको समग्र विकासमा लाग्नेछु ।’

जसपा लुम्बिनी प्रदेशका वरिष्ठ नेता महेन्द्र यादवले पार्टीले अघि सारेका योजना पूरा गर्ने दावी गरे । ‘यसका लागि हामीलाई अवसर चाहिन्छ’, उनले भने । यादवले जसपाले सबै क्षेत्रको प्रतिनिधित्व गर्ने बताए । ब्राहमण, क्षेत्री, जनजाति, मुस्लिम, यादव सबैको प्रतिनिधित्व हुने गरी उम्मेदवार बनाएको उनले जनाए ।

पार्टीका लुम्बिनी प्रदेश सदस्य रविकुमार रौनियारले सबै समुदायको साझा थलो पार्टी भएको बताए । उनले यसपटक नगरमा जसपाले जित्ने र बाचा गरेका सबै काम पूरा गर्ने दावी गरे । कार्यक्रममा जसपा केन्द्रिय सदस्य किस्मत बिकलगायतको उपस्थिति थियो ।