December 4, 2024, Wednesday
२०८१ मंसिर २०

बुटवलमा गठबन्धनको संकल्पः प्रत्येक वडामा प्रयोगशाला र आकस्मिक स्वास्थ्य सेवा

बुटवल– पाँच दलीय गठबन्धनले बुटवल उपमहानगरपालिकामा चुनाबी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पाँच दलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा.बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गरेका थिए ।

Advertisement

साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ । संकल्प पत्र सार्वजनिक कार्यक्रममा उम्मेदवाहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका थिए ।

उनीहरुले बुटवलमा विकासका ठूला–ठूला चर्चा गरिए पनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका थिए । संकल्प पत्रमा भनिएको छ, ‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’

पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।

घण्टौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ । यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पु¥याइने, सार्वजनिक प्रशासनलाई भ्रष्टाचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।

हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ ।
बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, इ–रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ ।

यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।

यस्तै, संकल्प पत्रमा भनिएको छ, ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ । बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’

यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ । ‘आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने छ ।’

यस्तै, नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

‘बुटवलको फोहोर व्यवस्थापनमा ५आर प्रणाली अवलम्बन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरिने छ । फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ । घरेलु फोहोर संकलन वापत लिइँदै आएको दस्तुर घटाइने छ’, गठबन्धनले संकल्प पत्रमा भनेको छ, ‘बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।’

यस्तै, संकल्प पत्रमा आवश्यक रंगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ । ‘सडक छेउमा उपयुक्त फूल, वनस्पती एवम् वृक्षरोपण गरी हरियाली बेल्ट निर्माण गरिने छ । पैदल यात्रुहरुको सुबिधाका लागि छहारीसहित कुर्सीहरुको व्यवस्था गरिने छ, सहरी वन अवधारणाअन्तर्गत बजार एवम् आवासीय क्षेत्रका सार्वजनिक जग्गाहरु पहिचान गरी सहरी वन क्षेत्रका रुपमा विकास गरिने छ । पोखरी एवम् तालको निर्माण गर्दै जलसम्पदा र जैविक विविधताको संरक्षण गरिने छ’, संकल्प पत्रमा भनिएको छ ।

बुटवललाई विश्रामस्थलका रुपमा विकास गर्ने भनिएको छ । ‘वाल्मिकी आश्रम, त्रिवेणीधाम, रामग्राम, लुम्बिनी, तिलौराकोट, श्रीनगर, भैरवस्थान, रेसुङ्गा, सुपादेउराली लगायतका पर्यटकीय क्षेत्रहरुको केन्द्र भागमा पर्ने बुटवल उपमहानगरपालिका क्षेत्रलाई पर्यटक विश्रामस्थलका रुपमा विकास गरिने छ । ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन गर्दै यसको ऐतिहासिकतालाई चित्रण गर्ने वृत्तचित्र निर्माण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरि पर्यटक आकर्षित गरिने छ,’, संकल्प पत्रमा उल्लेख छ, ‘आदिमानव रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कहरुको विस्तार तथा स्तरोन्नति गरिने छ । सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गरिने छ ।’

सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्ति सहित पुनस्र्थापना गर्ने योजना पनि संकल्प पत्रमा उल्लेख गरिएको छ ।

‘नक्सा पास नगरी बनेका घरभवनहरुको अभिलेखीकरण गरी आवश्यक प्रक्रियामार्फत् निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गरिने छ । पुरानो बुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गरिने छ’, संकल्प पत्रमा भनिएको छ, ‘बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवम् पहल गरिने छ ।’