May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

गठबन्धनलाई मत दिने ज्योतिनगरबासीको आश्वासन

बुटवल– बुटवलको ज्योतिनगर क्षेत्रका पहिरो पीडित स्थानीयले बुटवल उपमहानगरपालिकाले आफूहरुको समस्या समाधानमा चासो नदेखाएको बताएका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डे र नेकपा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङसँगको भेटघाटमा ज्योतिनगरका बासिन्दाले उपमहानगरपालिकाका जनप्रतिनिधिले कुनै वास्ता नगरेको गुनासो गरेका हुन् ।

Advertisement

स्थानीय कृष्णकुमारी श्रेष्ठले ज्योतिनगर पहिरोको स्थायी समाधानको खोजी गर्नका लागि अगुवाई गर्न आग्रह गरेकी थिइन् । उनले एमालेका नेताहरुले पटकपटक समस्या समाधान गरिदिने आश्वासन दिलाए पनि कुनै काम नगरेको बताइन् । स्थानीय विनोद खनालले बुटवलमा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काम गरेको भन्दै एमालेलाई यसपटक दण्डित गर्नुपर्ने बताए ।

स्थानीय मञ्जु भण्डारीले धेरै वर्षदेखि अरु पार्टीलाई भोट दिए पनि यसपटक भने गठबन्धनलाई मत दिने बताइन् । उनले पहिरोका कारण भोगेको समस्या समाधानमा बुटवल उपमहानगरले कुनै चासो नदेखाएको र एमालेले पनि आश्वासन मात्रै बाँडेकाले यसपटक गठबन्धनलाई भोट दिने बताइन् ।

उनीहरुका समस्या सुनिसकेपछि उम्मेदवार खेलराज पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले अवलोकन गरेपश्चात् विज्ञहरुको टोलीले उपयुक्त समाधानको खोजी गरिरहेको बताए । पाण्डेले बुटवल उपमहानगरपालिकामा कांग्रेसले चुनाब जितिसकेपछि स्थायी समाधान खोजेर समस्या समाधान गर्ने बताए ।

उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता जनाए । गठबन्धनबाट उपप्रमुखका उम्मेदवार गुरुङले यसपटक गठबन्धनलाई जिताउन आह्वान गरे । मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उनले आमजनतालाई आग्रह गरेका थिए । आफूहरुले जिते पहिरो पीडितको पीडामा मल्हम लगाउन सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । सो क्षेत्रका एमालेमा असन्तुष्ट व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् ।