April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

आमाको हृदय

छोरो पाउनासाथ तिनको पतिको मृत्यु भयो । तिनले छोरो पाएको हुनाले पतिको मृत्युलाई दुई–तीन थोपा आँसुले मात्र बिर्सिदिइन् । आफ्नो छोरालाई तिनी पतिको अंश मान्थिन् ।

Advertisement

र, त्यस कारण पतिको वियोगले तिनी विह्वल भइनन् । तर, तिनीमाथि यौटा जटिल समस्या उत्पन्न भयो– नवजात शिशुलाई के गरेर पाल्ने ?

Advertisement

पहिले त पतिको दिनभरिको परिश्रमले दुई प्राणी केही गरेर दुई साँझ भोजन गर्थे, र त्यसमा पनि कहिलेकाहीँ निराहार नै बस्नुपर्दथ्यो । तर, अब न पति नै थिए न थियो कमाउने नै बाटो ।

घरमा खानेकुरा केही थिएन । नवजात बालकलाई घरमा एक्लै छोडेर कहाँ काम गर्न जाऊन् तिनी ? तिनले सोचिन्— यदि, यो बालकलाई आफूसँग बोकेर भिक्षा माग्न जाऊँ भने सायद यसलाई देखेर मनुष्यको हृदयमा दया उत्पन्न भइहाल्दछ कि ?

एकपटक त तिनले यस्तो पनि गरिन्, तर मानिसहरूले यसलाई भीख माग्ने कायदा ठानेर भीख दिएनन् ।

आज दुई दिन भइसक्यो तिनी निराहारै बसेकी थिइन् । तर, तिनको फूलभन्दा कोमल र माणिकभन्दा प्यारो बालक तिनको काखमा सुती दूध खाँदै थियो ।

तिनले आफ्नो बालकको मुख हेरी दुनियाँलाई र पेटको बल्दो आगोलाई बिर्सिदिइन् । तिनले यो सोचेर कि ठूलो भएपछि यो बालक मलाई तोतेबोलीमा ‘आमा’ भन्नेछ— आफूलाई संसारभरको सबैभन्दा भाग्यवती सम्झिन् ।

तर, जस्तो कालो बादलमा बिजुली चम्किएर फेरि बादलैमा विलीन हुन्छ त्यस्तै गरी–गरी तिनको यो विचार पनि हृदयमा विलीन भयो । तिनले सोचिन्— बालकलाई के गरेर पाल्ने र ठूलो बनाउने ?

वास्तवमा तिनले यस्तो सोच्नुपर्ने कुरा हो, किनभने जब आफूलाई नै पेट पाल्ने ठिक उपाय छैन भने यो नवजात शिशुलाई— जसलाई पुष्टकारी भोजन खुवाउनुपर्दछ— कसरी पाल्ने ?

माताको नै पेट भरिँदैन भने तिनी कसरी छोरोलाई आफ्नो स्तनको दूधले जीवित राख्न सक्छिन् ? जब तिनी यस्तो सोच्न लाग्दथिन्, अकस्मात् तिनको आँखा शिशुतिर पर्दथ्यो र दुखियाको विह्वल हृदय पनि आनन्दले फुल्दथ्यो र यो सोचेर हृदयलाई सान्त्वना दिन्थिन् कि– जुन ईश्वरले यसलाई उत्पन्न ग¥यो त्यसैले नै यसको प्रतिपालन गर्दछ ।

तर, हृदयलाई मात्र सान्त्वना दिएर त हुँदैन, अनि तिनी फेरि आफ्नो भाग्यलाई धिक्कार्थिन्, ‘म माता भएर पनि एउटा बालकलाई पाल्न सकिनँ ।’

कहिलेकाहीँ तिनी सोच्दथिन्— यदि, यसले कुनै ठूलो घरानामा जन्म लिँदो हो त…? तर, यो मेरो त हुँदैनथ्यो, र यसले मलाई तोतेबोलीमा आमा त भन्दैनथ्यो ! र म आमा कसरी हुन्थेँ !

…अहँ, यो मेरै—यौटा गरिबैको छोरो भएको असल छ । म नै यसको आमा भएको असल छ । तर, तैपनि तिनको समस्या अधुरो नै रहन्थ्यो जब तिनी दूधको जटिल समस्या देख्दथिन् । ‘जब म तिनको प्रतिपालन नै गर्न सक्तिनँ भने म आमा भएको के काम हँ ?’

‘यदि यो बालकलाई कसैको ढोकामा छोडेर…? अहँ हँ हँ हँ ! यस्तो म केही गरे पनि गर्दिनँ ।’ एकपल्ट बालकको ललाटमा म्वाइँ खाइन् ।

‘राजा’— तिनले भनिन् । यद्यपि, तिनलाई दुई दिनदेखि खान नपाएर निराहार बस्नुपरेको थियो, तर तैपनि ‘राजमान’ले बालकलाई राजा भनेर नै सम्बोधन गरिन् ।

र, वास्तवमा त्यो बालक थियो तिनको ‘राजा’ —हृदयको— तिनको हृदयको मात्र । ‘राजा ! तिमी मलाई नछोड है !’ तिनले एकपल्ट फेरि बालकलाई म्वाइँ खाइन् । तिनको पेट भरियो ।

बालकको प्राणरक्षाको समस्याले मातृप्रेममाथि विजय पायो । प्रेमले प्रेमलाई जित्यो । अन्तमा तिनले आफ्नो ‘हृदय’लाई अर्काको ढोकामा छोड्ने निश्चय गरिन् ।

रात्रिको समय । सारा दुनियाँ दूधले नुहाउँदै थियो । माता आफ्नो दयालाई लिएर त्यो निर्जनतामा अगाडि बढ्दै थिइन् । तिनको मनमा विचारको तरंग उठी फेरि आफ्नो हृदयमा विलीन हुन्थ्यो ।

तिनी चाहन्थिन् बालकलाई कसैकहाँ फ्याँकेर आउन । तर, जब बादलको टुक्रामा तेलकासा खेलिरहेका चाँदनीको स्निग्ध ज्योतिमा नवजात शिशुको मुख देखिन्थ्यो तब तिनको कठोरता मातृप्रेममा परिणत हुन्थ्यो ।

तिनी एकटक आफ्नो छोराको मुखमा हेरिरहेकी थिइन् । तिनलाई प्रतीत भयो— मानौँ, त्यो निर्दोष बालक भन्दै थियो— आमा ! मलाई कहाँ लग्नुहुन्छ ?

अकस्मात् तिनी रुकिन् र यो फ्याँक्ने विषयलाई स्थगित गरिन् । ‘तर, यसलाई के ख्वाउने ? यदि, समय–समयमा ख्वाउन सकिएन भने निश्चय नै यसले मलाई छोड्नेछ । नाँ… नाँ… नाँ— हे ईश्वर ! यस्तो नहोस् ।’

अन्तिम शब्द तिनले रोएर र कराएर भनिन् । यो शब्द मर्मभेदी थियो । ‘यदि, यस्तो नहोस् त के गर्ने ?’

तिनी फेरि सोच्न लागिन्— यसको प्राणरक्षाको निमित्त पनि मैले कसैको ढोकामा छोडेर आउनुपर्दछ । यत्ति सोचेर तिनी फेरि निशीथको सन्नाटामा अगाडि–अगाडि बढ्न लागिन् ।

‘यदि, मैले यसलाई अर्काको घरमा छोडेँ भने सायद लावारिश भनेर अनाथालयमा पठाइदिने हुन् कि ? तब त यो खराब संगतमा परेर बिग्रिनेछ । यो पनि हुन सक्तछ कि ठूलो भएर दुनियाँको सबैभन्दा नामी मानिस होस् र आजकलका ठूला भनाउँदा पनि योसँग कुरा गर्नलाई आफ्नो भाग्य सम्झिऊन् । यसको के अपराध छ र ? म यसलाई —आफ्नो छोरोलाई— अर्काको ढोकामा फ्याँक्न चाहन्छु, यो कस्तो कठोर इच्छा हो ।’

यस्तै विचार गर्दै तिनी अज्ञात दिशातिर हिँडिरहेकी थिइन् ।

जून बादलको कालो टुक्रासँग तेलकासा खेल्दै थियो । तिनले अझसम्मन् यो निश्चय गर्न सकेकी थिइनन् कि यो काखको बालकलाई कसको ढोकामा छोडेर आउने । कहिले नदी किनारको व्यापारीको ढोकामा छोड्ने विचार गर्थिन् त कहिले अस्पतालअगाडिको ढोकामा ।

अकस्मात् तिनलाई आफ्नै देशको महाराजको ख्याल भयो, जसको खानदानको नाम राख्ने छोरो थिएन । महाराजले छोरो पाउनाको लागि प्राणप्रणले चेष्टा गरेका थिए, तर सब व्यर्थ भएको थियो ।

तिनलाई महाराजको ढोकामा छोरोलाई राखी आऊँ भन्ने इच्छा भयो । ‘सायद, महाराजले मेरो छोरोलाई भगवान्ले दिएको भन्ठानेर पोष्य पुत्र बनाउनेछन् कि ? मेरो छोरोले कस्तो सुख पाउनेछ । महाराजको पुत्र मेरो छोरो ! राजकुमार मेरो छोरो ! अहा ! कस्तो असल विचार ! म महाराजकै ढोकामा छोडेर आउँछु ।’ यति सोचेर तिनी सरासर राजदरबारको बाटो लागिन् ।

ढोकानेर पुगी तिनले देखिन्, यौटा पाले त्रिपाईमा बसी उँघिरहेको छ । मौका देखी तिनी सरासर ढोकाभित्र पसिन् र नवजात शिशुलाई बगैँचाको बेन्चमा राखिदिइन् ।

त्यो बिचरोको केही कसूर थिएन, न थियो माताको नै कसूर । एकपल्ट माताले छोरोको मुखमा टकटकी लगाई म्वाइँ खाइन् । नवजात सरल बालकको निर्दोष दृष्टि माताको उपर पर्यो । त्यसका ठूला–ठूला आँखा चाँदनीको प्रकाशले चम्किरहेका थिए ।
०००
भोलिपल्ट महाराजको छोरो भयो भन्ने खबर विद्युतझैँ फैलियो । प्रजाहरू यो खबर सुनी आश्चर्यको साथसाथ खुसी पनि भए । तर, तिनी आश्चर्यचकित भइनन्, किनभने तिनी यो खबर सुन्नलाई पहिलेदेखिन् नै प्रस्तुत थिइन् ।

महाराजले धूमधामसँग गरिबलाई भोजन गराए र ब्राह्मणहरूलाई बहुमूल्य सामग्रीहरू पनि दान गरे । तिनी पनि गरिब थिइन्, अझ पनि तिनले तीन दिनदेखि केही खाएकी थिइनन्—तिनलाई अझै भोक लागिरहेको थियो, तैपनि तिनी गरिबहरूको भोजनमा गइनन् ।

किन ‘राजमाता’ गरिबहरूसँग सामेल हुन्थिन् त ! तिनैको कारण आज सारा राजधानीका गरिबगुरुवाहरू भोजन गर्दै छन् भन्ने घमण्ड पनि भएको थियो ।

दुनियाँले यस्तो न थाहा पाए पनि तिनको हृदयले त थाहा पायो, तिनले त थाहा पाइन् ।

तर, जब तिनले यो सोचिन्— अब त त्यो बालक मेरो छैन, अब त त्यो ठूलो भएपछि आमाको श्रद्धा गर्ने छैन । तब तिनले आफूले गरेको कामलाई गल्ती देखिन् । तिनलाई अब इच्छा भयो त्यो बालकलाई लिएर आउने—फेरि आफ्नो बनाउने तर एकपल्ट गल्ती गरेपछि सपार्न मुस्किल पर्दछ र खास गरेर यो कामलाई ।

महाराजको दरबारबाट केही कुरो पनि चोरी गर्न असम्भव हुन्छ र ? तिनले देखिन् पनि यस्तै । तिनी यो सोच्दा–सोच्दै दुवै हातले मुख छोपी डाँको छोडी रून लागिन् ।

तिनको हृदयको मातृप्रेम उम्लिएर आँखाबाट आँसुको रूपमा पोखिन लाग्यो । रोएर के हुन्छ र ? बस्, एकैछिनको लागि हृदय ठण्डा भयो–एकैछिलाई मात्र ।
०००
आज त्यो बालकको चतुर्थ वार्षिकोत्सव मनाउने धूमधाम छ । चार वर्षअघि यही बालक यौटी गरिब माताको एक मात्र सहारा थियो । आज त्यही दिन हो जुन दिन ती दीन माताले यो भाग्यवान शिशुलाई युवराज बनाएकी थिइन् ।

युवराज त बनाइन्, तर यति लामो चार वर्ष तिनको हृदयमा यो बालकको स्मृतिले ठाउँ छोडेको थिएन । रातदिन तिनी आफ्नो छोरोको यादमा आँसु बगाइरहन्थिन् । बेलुका–बेलुका राजदरबारको ढोकामा, सायद बालकलाई महाराजको काखमा बसेको देख्न पाइहालिन्छ कि भनी तिनी कुरिरहन्थिन् ।

कहिले मोटरमा आफ्नो बुबाको काखमा बसिरहेको पाउँदथिन्–केही क्षणको लागि र कहिले यसै निराश भएर घर फर्कनुपर्दथ्यो । तर, जे गरेर पनि तिनले यो लामो–लामो चार वर्ष बिताएकी थिइन् ।

राजदरबारमा धूमधाम छ । तर, जसले त्यो दरबारमा यत्तिको चहलपहल गरायो, त्यसको घरमा तिनलाई खानेकुरा मात्र पनि छ कि छैन, हेर्ने कोही छैन ।

खानेकुरा नभएर पनि के त ? त्यो खुसीमा तिनको पेट यसै भरिएको छ  । तिनको घरमा पनि वार्षिकोत्सवको खुसीयाली हुँदै छ । दरबारमा बिजुली झलमलाउँदै छ भने तिनको घर टुकीले टिमटिमाउँदै छ ।

कुनचाहिँ राम्रो ? दरबार कि त्यो छाप्रो ! हुन् दुवैको पुत्र, तर कहाँ ज्यादा प्रेम र श्रद्धा देखिन्छ ?

आज तिनी अति विह्वल छिन् । बस् एकपल्ट छोरोको मुख हेर्नलाई । सधैँको जस्तो आज पनि साँझ पर्यो । सधैँको जस्तो राजकुमार घुम्न आऊलान् भन्ने आशाले तिनी त्यो ठूलो चौरनेरि जहाँबाट दरबारको ढोका स्पष्ट देखिन्थ्यो—आई आफ्नो तृषित नेत्रलाई ढोकातिर फ्याँकिन् ।

आज पनि पहिलेकै जस्तो राजकुमार त्यही सानो सेतो घोडामा सजधजका साथ यौटा सइसलाई लिई ढोकाबाट बाहिर निस्के । सइस घोडाको काठी समाती पछि पछि दुगुर्दै थियो ।

राजकुमार यौटा हातमा सानो गेँद लिई फ्याँक्दै त्यही सइसलाई ल्याउने हुकुम दिँदै अगाडि बढिरहेका थिए । बिस्तार–बिस्तार पूर्ववत् आफ्नो चौरको एक छेउमा खेल्ने ठाउँनेर आई खेल्न लागे ।

सइसले राजकुमारलाई अदबसँग घोडाबाट उतार्यो, राजकुमार पनि खुसी हुँदै गेँदलाई यताउता फ्याँक्दै ल्याउने हुकुुम दिँदै थिए ।

सबै मानिस त एकै हुन् नि । सइस दौडँदा–दौडँदा थाकेको थियो । ‘आमा’ मौका हेरिरहेकी थिइन् । फेरि पनि राजकुमारले ल्याउने आज्ञा दिए ।

थाकेको सइस बिस्तार–बिस्तार गेँदतिर बढ्यो । बालक गेँद ल्याउला भन्ने आशाले सइसतिर बडो प्रसन्नताका साथ हेरिरहेका थिए । ‘सइस ? झट्टै ल्या…बुआ…मुआ’—अन्तिम शब्द युवराजले कसैले मुख थुनेर बोल्न नदिएझैँ गरी भने ।

सइस फर्कनुभन्दा पहिले नै आमाको तृषित हृदयले बालकलाई टिपेर लगिसकेकी थिइन् ।

राजदरबार राजकुमारको लागि पागल छ र छाप्रो…?

(‘तारिणीप्रसाद कोइरालाका समग्र कथाहरू’बाट ।)  baahrakhari