December 10, 2024, Tuesday
२०८१ मंसिर २५

वडाध्यक्षसहित काँग्रेस सिद्धार्थनगरका तीनजनाले गरे पार्टी परित्याग

भैरहवा– टिकट वितरणमा असन्तुष्ट वडाध्यक्षसहित रुपन्देहीको सिद्धार्थनगरका तीन काँग्रेस कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा काँग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल, वडाअध्यक्ष भीमसेन कर्माचार्य र वडा सचिव अमृत कर्माचार्य छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका–७ बाट भीमसेन वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement

काँग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उनीहरुले बताएका छन् । पार्टीमा लामो योगदान गरे पनि नेतृत्वले निर्वाचनका बेला मूल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हावी भएकाले पार्टी परित्याग गर्ने निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।

यसअघि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि काँग्रेस नेता मातृकाप्रसाद यादवले पनि पार्टी छाडेका थिए । बुटवल उपमहानगरपालिका–३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए ।