दलहरुले काढे आचारसंहिताको ‘उछितो’


भैरहवा– स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ताका क्रममा दलहरुले आचारसंहिताको उछितो नै काढेका छन् । निर्वाचनलाई मर्यादित तुल्याउन आचारसंहिता पालना गर्नुपर्ने दलले उल्घंन व्यापकरुपमा गरेका छन् । दलबीच आचारसंहिता पालना भन्दा उल्घंनको होड देखियो ।
आइतबार र सोमबार विभिन्न दलका उम्मेदवारले सम्बन्धित स्थानीय पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए । त्यस क्रममा उनीहरुले आचारसंहिताको खिल्ली नै उडाए ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा माओवादीका उम्मेदवार जितेन्द्रनाथ शुक्लाले त सय बढी गाडी र मोटरसाइकलको र्याली नै निकालेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए । उनले सबैजसो भारतीय गाडी प्रयोग गरेका थिए ।
त्यसक्रममा राजनीतिक दलले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको उछितो काढिएको छ । निर्वाचन आयोगले दलका लागि जारी गरेको आचारसंहितामा जे नगर्न भनिएको थियो, दलका नेता कार्यकर्ताले त्यही गरेको देखियो ।
लुम्बिनी प्रदेशका जिल्लामा दलले मनोनयनका क्रममा निकालेका जुलुसमा बालबालिकाको समेत प्रयोग गरेको पाइयो । आचारसंहिताले १८ वर्षभन्दा मुनिका बालबालिकालाई र्याली, जुलुसमा प्रयोग गर्न नपाइने उल्लेख गरेको छ । त्यस विपरित बालबालिका प्रयोग गरेपछि दलहरुको आलोचना भएको छ ।
मुलुकका ठूलादेखि साना राजनीतिक दलले बालबालिका प्रयोग गरेको पाइयो । यसको सरोकारवाला मानवअधिकारकर्मी र संघसंस्थाले आलोचना गर्दै यस्ता कार्य रोक्न भनेका छन् । जिल्ला मुकाम र पालिकास्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ताका लागि सोमार पुगेका दलले तडकभडक प्रदर्शन गरेका थिए ।
उनीहरुले प्रत्येक पालिकामा शक्ति प्रदर्शन गरेका थिए । सवारी साधनको अत्यधिक प्रयोगलाई आचारसंहिताले निरुत्साहित गरेको छ । त्यस विपरित दलले लावालस्कर प्रदर्शन गरेका छन् । एउटै दलले साइकल, रिक्सा, मोटरसाइकल देखि ठूला गाडीको प्रयोग गरेका थिए । निर्वाचन कार्यालय परिसरमा नल्याएपछि दलले नजिकै सडक र चौरमा सवारीका साधन पार्किङ गरेका थिए ।
तराईका जिल्लाका सहर भन्दा ग्रामीण क्षेत्रमा गाडी प्रयोग मनपरी थियो । तामझाम र साधनस्रोतको प्रयोग धेरै गरेको पाइएको छ । ठूला झण्डा, चुनाव चिन्ह उल्लेख गरिएका पहिरन उलेख्य थिए । मनोनयन भन्दा विजय जुलुसको झल्को थियो । पालिकास्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा ठूलठूला झण्डा, पम्पलेट, चुनाव चिन्ह अंकित टिसर्ट देखिएका थिए । माइक र साउण्ड बक्सबाट गीत घन्काइएका थिए । आवागमन अवरुद्ध हुने गरि सडकमा कार्यकर्ता उतारिएको थियो ।
निर्वाचन आचारसंहितामा सार्वजनिक सम्पत्तिको प्रयोग तथा यातायात आवागमनलाई प्रभावित पर्ने गरी प्रयोग गर्न नपाइने उल्लेख छ । आचारसंहिताले तोकेभन्दा ठूलो आकारका झण्डा यहाँ फहराइएका थिए । उम्मेदवारको समर्थनमा शक्ति प्रदर्शनका लागि कार्यकर्ता उतार्ने क्रममा गाडी तथा मोटरसाइकलको अत्यधिक प्रयोग गरिएको थियो । सहर र गाउँका पेट्रोल पम्पमा लामो लाइन थिए ।
सोमबार भैरहवा–लुम्बिनी सडक सडक अवरुद्ध पारेर दलले गाडी तथा मोटरसाइकलको र्याली नै निकाले । र्यालीमा बालबालिकाको प्रयोग गरिएको थियो । र्यालीमा भारतीय नम्बर प्लेटका गाडी र मोटरसाइकलको बाहुल्य थियो । यस्तै दृश्य रूपन्देहीको मर्चवार क्षेत्रमा पनि देखिएको थियो ।
रूपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले आचारसंहिता पालना भएनभएको अनुगमनका लागि सहायक निर्वाचन अधिकृतलाई तोकिएको भए पनि स्रोत साधनविहीन भएकाले प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए । ‘जिल्लाभरिकै आचारसंहिताको कार्यान्वयन गराउन एक जना अधिकृत छन्,’ उनले भने, ‘उनलाई न कुनै गाडी छ, न त कुनै मोटरसाइकल नै ।’
कसैको घरको छतमाथि गएर नियमन गर्न नसकिने उनले बताए । प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित अधिकृतलाई स्रोतसाधनविहीन बनाइएपछि यसबारेमा गरिएको व्यवस्था हात्तीको देखाउने दाँतजस्तै भएको उनले टिप्पणी गरे ।
उम्मेदवारी दर्ताका क्रममा दाङका सबै राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेका छन् । उम्मेदवारी दर्ता गर्दा तामझामका साथ जुलुस निकालिएको छ । व्यापक रूपमा झण्डा, चुनावी गीत र बाजागाजाको प्रयोग भएको छ । चुनाव चिन्ह अंकित टिसर्ट, टोपी, लोगो र झण्डाहरू पनि व्यापक रूपमा प्रयोग गरिए ।
जुलुसमा बालबालिकाको पनि अत्यधिक प्रयोग भएको छ । बालबालिका चुनाव चिन्ह अंकित झण्डा बोकेर जुलुसमा हिंडेका थिए । निर्वाचन कार्यालय अगाडि ठूलो स्वरमा साउन्ड सिस्टम बजाएर दिनभर नाचगान गरिएको थियो । बजारभरि चुनाव चिन्ह अंकित झण्डाका साथ जुलुस प्रदर्शन गरिएको थियो ।








प्रतिकृया दिनुहोस्