April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

शक्ति प्रदर्शन गर्दै मनोनयन

भैरहवा– स्थानीय तह निर्वाचनमा गठबन्धन र एकल प्रतिष्पर्धामा उत्रिएका दलले सोमबार शक्ति प्रदर्शनसहित मनोनयन दर्ता गराएका छन् । अघिल्ला चुनावमा एक दिन मात्रै मनोनयनका लागि छुट्याउने गरिएको थियो । एक दिन छुटयाउँदा मनोनयन दर्तामा लामो समय लाग्ने र झण्झटिलो भएपछि निर्वाचन आयोगले यसपाली दुई दिन समय दिएको थियो ।

Advertisement

मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार स्थानीय तहमा स्थापना गरिएका निर्वाचन कार्यालयमा पुगेर दलले उम्मेदवारी दर्ता गराएका थिए । सोमबार बिहान १० बजेबाट कार्यालय खुलेपछि ठूला दल अपरान्ह मात्र मनोनयन दर्ता गर्न पुगेका थिए । केही साना दल र स्वतन्त्र उम्मेदवारले आइतबारै मनोनयन दर्ता गराएका थिए ।

Advertisement

पहिलो दिन सुनसान थियो । तामझाम बिनै उम्मेदवारी दर्ता गराएका थिए । सोमबार मनोनयन गर्दा गराउने सबै दलले आफ्नो शक्ति प्रदर्शन गरेका थिए । यसक्रममा पार्टी कार्यालय र पालिकाका बजारबाट निर्वाचन कार्यालयसम्म र्याली आयोजना गरेका थिए । झण्डा र चुनाव चिन्ह अंकित प्रचार सामाग्रीसहित उनीहरु पुगेका थिए ।

कसैले मौलिक बाजाको प्रयोग गरेका थिए । केहीले आफ्नो दलका प्रचार गीत बजाएर रमाइलो गरेका थिए । आफ्नो दलको चुनाव चिन्हमा भोट हाल्न आव्हान गरेका थिए । दलहरुको जुलुस निर्वाचन कार्यालय बाहिर पुगेपछि भीडभाड देखिएको थियो । उनीहरुले कार्यालय बाहिर घण्टौं नाराबाजी गरेका थिए । एउटै दललाई मनोनय पूरा गर्न दुईदेख तीन घण्टासम्म समय लागेको थियो ।

रुपन्देही सदरमुकामस्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन कार्यालय बाहिर सडकमा दिनभर भीड थियो । जिल्लाका १६ वटै पालिकाका निर्वाचन अधिकृत कार्यालय अघि दिनभर दलका कार्यकर्ताको भीड लागेको थियो । बिहान १० बजेपछि राप्रापाले सिद्धार्थनगर नगरपालिका प्रमुख, उप्रमुख लगायत पदमा मनोनयन दर्ता गराएको थियो ।

त्यसपछि मधेशबादी दलका उम्मेदवारले पालैपालो दर्ता गराएका थिए । उनीहरु कार्यालयसम्म समर्थकसहित नाराबाजी गर्दै आएका थिए । कार्यालय भित्र उम्मेदवार र दलका मुख्य व्यक्तिलाई प्रवेश दिइएको थियो । दिउँसो एमाले ठूलो जुलुससहित मनोनयनका लागि आएको थियो । नाचगान गर्दै आएको जुलुसमा सहभागीले केही बेर सडकमा नाराबाजी गरेका थिए ।

मनोनयनका क्रममा एमाले संघीय सांसद घनश्याम भुषाल र सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी आएका थिए । लगत्तै माओवादी केन्द्र नाराबाजीसहित कार्यालय आएको थियो । सत्ताधारी गठबन्धनमा आबद्ध दल भए पनि माओवादीले सिद्धार्थनगरमा नगर प्रमुख, उपप्रमुख लगायत पदमा उम्मेदवारी दर्ता गराएको छ ।

गठबन्धनमै आवद्ध एकिकृत समाजबादी शक्ति प्रदर्शनसहित आएको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी पनि शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ताका लागि आएका थिए । यसबीचमा नाराबाजी गर्दै नेपाली कांग्रेस उम्मेदवारी मनोनयका लागि आएको थियो । सबै दलको मनोनयन पूरा गर्न समय लागेको थियो ।