December 10, 2024, Tuesday
२०८१ मंसिर २५

घट्दै औलोका विरामी

भैरहवा– विश्व औलो दिवसका अवसरमा मुलुकभर विभिन्न कार्यक्रम गरिएको छ । औलो दिवसका अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा वक्ता र स्वास्थ्यकर्मीले सबैले सामूहिक प्रयास गरे यसलाई मुलुकबाट निमूल पार्न सकिनेमा जोड दिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले सबैको सहयोगले मात्रा मलेरिया नियन्त्रण गर्न सकिने बताए । उनले सन् २०२५ सम्म सरकारले मलेरियालाई शून्यमा झार्ने लक्ष्य लिएको भन्दै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको औल्याए । ‘यसमा राजनीतिक दल, नागरिक समाज, स्वास्थ्यकर्मी सबैको भूमिका अहम् हुन्छ’, उनले भने, ‘तबमात्र सरकारी लक्ष्य पूरा गर्न सकिन्छ ।’

Advertisement

औलो अर्थात् मलेरिया लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन् ।

त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको संक्रमण बिरलै गराउने गरेको पाइन्छ । औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिएको साहले बताए । ‘नेपालभर औलो परीक्षण निःशुल्क हुन्छ । उपचार पनि सरकारले निःशुल्क गर्दै आएको छ’, साहले भने, ‘यसको उद्देश्य हो, २०२५ सम्म रोगलाई शुन्यमा झार्ने र नागरिकलाई रोगमुक्त बनाउने ।’

२०७८ को तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा ८३ जनालाई मलेरिया भएको थियो । पछिल्ला दिनमा यो रोग घट्दो क्रममा छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले औलो नियन्त्रणका लागि नगरपालिका कटिबद्ध भएर लाग्ने जनाए । उनले यसका लागि बजेट अभाव हुन नदिने र सबै स्वास्थ्य संस्थाबाट उपचार र परीक्षणको व्यवस्था गरिने बताए ।

औलो रोगका लक्षण
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ ।

यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ । नेपालीहरु कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन् । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन् । अफ्रिकन देशहरुमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुने गरेको साहले बताए ।

औलोको रोकथाम र उपचार
खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन् । ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरिएको छ । शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परीक्षण गरेपछि मात्र औलो भएनभएको पत्ता लगाउन सकिन्छ । नेपालमा औलो रोगको लक्षणहरुका आधारमा परीक्षण, सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ ।

औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ । परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुनेगर्छ । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधि निष्प्रभावि बन्दै जानु पनि औलो रोग नियन्त्रणमा समस्याको विषय हो । यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ । विशेषज्ञहरु अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन ।

हिमाली क्षेत्रमा पनि औलो
जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन् । जसले गर्दा ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना छ । तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा समेत जान थाले र त्यहाँ फोहोर, खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि हुन थालेको साहले जानकारी दिए ।

औलोबाट बच्ने उपाय
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो । शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ । स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ ।

जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ । घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ ।

कहिले बन्छ औलोमुक्त नेपाल ?
सन् १९५४ देखि औलो निवारणका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । योभन्दा पहिले औलो भएका बिरामीलाई उपचारमा पहुँच थिएन । यो रोग लागेपछि जटिलता उत्पन्न भएर मान्छेको मृत्यु हुन्थ्यो । नेपाल सरकारले औलो नियन्त्रणको प्रयास थालेदेखि क्रमशः बर्सेनि यो रोग कम हुँदै अहिले धेरै कम भइसकेको छ । नेपालका जुन भागमा औलो पाइन्छन् त्यो भागमा शून्य औलो बनाउने लक्ष्य लिइएको छ ।

सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने योजना छ । यसका लागि विभिन्न रणनीति बनाएर काम भइरहेको छ । २५ अप्रिललाई विश्व औलो दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यस वर्ष ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने नाराका साथ औलो नियन्त्रणको अभियान चलिरहको छ ।

औलोबारे केही सन्देश
– औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।
– काम ज्वरो आउनु औलो रोगको मुख्य लक्षण हो ।
– स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार निःशुल्क हुन्छ ।
– परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ ।
– लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय हो, त्यसैले सुत्दा झुलभित्र सुत्नुपर्छ ।
– घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गर्नुपर्छ ।