लघुकथा : चुनाव
चुनावको मत परिणाम पर्खेर बसेका पार्टीका कार्यकर्ताहरूले उसलाई पत्याएकै थिएनन् । कामबिनाको कुकुरझैँ ऊ लखरलखर डुली हिँडेको देखिन्थ्यो । तर, विगत थाहा पाउनेहरूले उसलाई विभिन्न पार्टीमा प्रवेश गर्दै छाड्ने गरेको देखेका थिए । ठेक्कापट्टा र कमिसनका लागि मन्त्रीको ढोकाअगाडि कुरिरहेको अवस्थामा भेटेका थिए । व्यापारी र उद्योगपतिसँग जबर्जस्ती चन्दा असुली गरेको आरोपमा पक्राउ परेको कुरा सुनेका थिए ।
पेसा बेगरको आफ्नो श्रीमान्को डुलाइ श्रीमतीलाई मन परेको थिएन । उसको चाला देखेर एक दिन श्रीमतीलाई खुब रिस उठ्यो । ‘चुनावको बेला छ, पार्टीका कार्यकर्ताहरूले उमेदवारी घोषणा गरिसके, पार्टी नहुनेहरूले स्वतन्त्र उमेदवारी दिइसके । पहुँच र पैसा हुने कसैले अरू पार्टीको चुनाव चिह्न किने, कसैले भाडामा लिएर भोट माग्न थालिसके, तपाईंचाहिँ यता र उता कति दिन डुल्ने ? यस्तो डुलाइले कसरी घर चल्छ ?’
कहिल्यै केही नभनेकी श्रीमतीको कुराले उसलाई ठूलो चोट लाग्यो । त्यो चोट बोकेर रक्सीभट्टी पुग्यो । भट्टीमा जम्मा भएका परिचितलाई आफ्नो चोट सुनायो । तिनीहरूले आसन्न चुनावमा उमेदवार बनाइहाले । नतिजा उसैको पक्षमा आउने परिणाम पनि सुनाए ।
त्यही भट्टी गफ थियो उसको स्वतन्त्र उमेदवारी । संयोगवश सबैले छाडेको कुकुर चुनाव चिह्न उसको भागमा परेको थियो । आफ्नो चुनावी अभियानलाई घरदैलो कार्यक्रममार्फत अगाडि बढायो ।
तर, राजनीतिक पार्टीका कार्यकर्ताहरूलाई उसको उमेदवारी मन परेको थिएन । उसको चुनाव चिह्नप्रति खिसी टियुरी गरे । उसलाई उडाउन थाले ।
सहनुको पनि सीमा हुन्छ । सीमा नाघेपछि उसको दिमाग तात्यो । तर, चुनावमा उठेको उमेदवार भएकोले संयमता अपनायो । उसले शान्त भएर भन्यो, ‘तपाईंहरू सबैले वर्षमा एक दिन कुकुरको पूजा गर्नुहुन्छ । पाँच वर्षमा एक दिन अर्को कुकुरको पूजा गर्न तपाईंहरूलाई के आपति ! किन अप्ठ्यारो ?’ उसको तार्किक जवाफ सुनेर विरोधीहरू चुप लागे ।
निर्धारित समयमा शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न भयो । भोलिपल्टको अखबार र अनलाइन पत्रिकाहरूमा चुनावसम्बन्धी समाचार छापिएको थियो । समाचारको मुख्य शीर्षक थियो, ‘कुकुरले चुनाव जित्यो !’ baahrakhari
प्रतिकृया दिनुहोस्