May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइँदै, नखुवाए देखिन सक्छन् यस्ता समस्या

भैरहवा–बालबालिकालाईआजबाट ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइँदै छ । सरकारले आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागेको हो ।

Advertisement

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाउन लागिएको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा अधिकृत गितादेवी न्यौपाने पोखरेलले बताइन् ।

यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन उनले आग्रह गरिन् । वितरण केन्द्रमा जाँदा कोभिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेवीकाले घरदैलो कार्यक्रम गरी ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने कार्यक्रम छ । यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई ‘बालभिटा’ खुवाइने मन्त्रालयले जनाएको छ ।

शारीरिक विकास र स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व नै भिटामिन हो । शरीरलाई स्वास्थ राख्न र रोगबाट बचाउन भिटामिन अनिवार्य नै हुन्छ । भिटामिन मुख्यतयाः पानीमा घुल्ने र चिल्लो पदार्थमा घुल्ने प्रकृतिका हुन्छन् । भिटामिन ‘बी’ तथा ‘सी’ पानीमा घुल्ने र भिटामिन ‘ए’, ‘डी’, ‘ई’, र ‘के’ चिल्लो पदार्थमा घुल्ने हुन्छन् ।

भिटामिन ‘ए’ भएका तत्वहरु समग्र रुपमा स्वास्थ रहन र दीर्घरोगविरुद्ध उत्कृष्ट मानिन्छन् । दैनिक आहारमा भिटामिन ‘ए’ को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यस्तै राति नदेख्ने रतन्धो रोगबाट जोगाउँछ। आँखा तेजिलो बनाउँछ। यति मात्र होइन, भिटामिन ‘ए’ ले छाला, श्वासप्रश्वास तथा प्रजनन् स्वास्थ्यसम्बन्धी रोग लाग्न दिँदैन।

भिटामिन ‘ए’ को क्लिनिकल प्रयोग
विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरुमा भिटामिन ‘ए’ को प्रयोग गरिन्छ। जस्तैः रतन्धो, दादुरा, दीर्घ झाडापखला, कडा कुपोषण, छालाको रोग आदि।

भिटामिन ‘ए’ को कमीबाट हुने असर
प्रायजसो भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्छ। यसको कमीले रतन्धो रोग लाग्छ। त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घ रोगहरु देखा पर्छ।

भिटामिन ‘ए’ कमी हुँदा देखिने लक्षण
– छाला सुख्खा हुनु र छालामा पटकपटक संक्रमण हुनु।
– आँखा सुख्खा हुनु ।
– राति आँखा देख्न गाह्रो हुनु।
– गर्भाधान नहुनु ।
– बालबालिकाको ढिलो विकास हुनु ।
– पटकपटक छाति तथा घाँटीको संक्रमण हुनु ।
– घाउ ढिलो निको हुनु ।

भिटामिन ‘ए’ कसरी पाइन्छ ?
भिटामिन ‘ए’ को महत्वपूर्ण स्रोतहरुमा गाँजर, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी, पहेंला फलफूल, माछा, घ्यू, अन्डाको पहेंलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदि पर्दछन्।

त्यसैगरी नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। वर्षको दुई पटक कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गरिन्छ।

यी औषधिहरु विगत २५ वर्षदेखि वितरण गरिंदै आएको छ। यस पटक पनि वैशाख ६ र ७ गते देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट वितरण गरिंदै छ।आफ्ना बच्चालाई नजिकैको भिटामिन ‘ए’ वितरण केन्द्र वा स्वास्थ्य संस्थामा लगेर भिटामिन ‘ए’ खुवाई यसको कमीवाट हुने असरबाट बचाऔं र बाल मृत्युदर घटाऔं।

जुका
पेटमा जुका पर्दा आन्द्रामा जुकाको संक्रमण हुन्छ । राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका जुका हुने गर्छन् । वर्षायामको समयमा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । विशेषगरी, पेटको जुकाबाट बालबालिका बढी पीडित हुने गर्छन् । विभिन्न माध्यमबाट जुकाको फुल पेटमा प्रवेश गरेपछि त्यो आन्द्रामा गएर बस्छ । दुई–तीन हप्ताको समयमा त्यो लार्भामा परिणत हुन्छ । जुकाका फुल दिशाको माध्यमले बाहिर निस्कन्छन् । अनुकूल वातावरण पाएपछि पेटमा संक्रमण सुरु हुन्छ । गर्भाधानपछि जुकाले लाखौँको संख्यामा फुल पार्छ ।

कारण
जुकाका फुल घरवरपरको फोहर, नाली, तरकारी, सागपात आदिमा हुने गर्छ । तरकारी, फलफुल तथा काँचै खाइने खानेकुरा राम्ररी नपखालीकन खाएमा जुकाको संक्रमण हुने गर्छ । सरसफाइमा ध्यान नदिँदा भुइँमा खसेको खानेकुरा खाएमा तथा खानेकुरा राम्ररी नपखालेर खाने गरेमासमेत जुका पर्छ ।

राम्ररी नपकाइएका खानेकुरा तथा सडक छेउमा राखिएका खानेकुराले समेत जुकाको संक्रमण गराउँछ । जुकाका फुल फोहोर, नाली, सागसब्जी आदिमा हुने गर्छन् । तरकारी, फलफूल तथा काँचै खाइने खानेकुरा राम्ररी नपखालीकन खाएमा जुकाको संक्रमण हुन्छ ।

लक्षण
जुका विकसित भइसकेपछि सानो आन्द्राको भित्तालाई छेडेर रक्तनलीमा पस्छ । त्यसपछि पुनः फोक्सोबाट घाँटीमा आइपुग्छ । बिस्तारै अन्ननली हुँदै आमाशयमार्फत सानो आन्द्रामा जान्छ । यसर्थ, जुका घातक पनि हुन सक्छ ।

जुका पर्दा पेट दुख्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने तथा तौल घट्दै जानेजस्ता लक्षण देखापर्छन् । बच्चाहरूकुपोषणको सिकारसमेत हुने गर्छन् ।रक्तनली हुँदै फोक्सोमा जुका पुगेमा खोकी लाग्ने र स्वास छिटो–छिटो चल्ने हुन्छ ।कतिपय अवस्थामा जुकाले आन्द्रामा रोकावट सिर्जना गर्छ । जसले गर्दा पेट दुख्ने, कब्जियत हुने र बान्ता हुने हुन्छ । समस्या जटिल हुँदै गएमा आन्द्रा च्यातिने वा प्वाल पर्ने हुन्छ ।

रोकथाम र उपचार
घरवरिपरी र टोलछिमेक सफा राख्नुपर्छ । बालबालिकाले माटोमा खेल्ने भएकाले जुकाका फुल उनीहरूका पेटमा सजिलै पुग्छ । नङ टोकिरहने तथा हात नधोईकन खाना खाने गर्दा जुकाको संक्रमण हुन सक्छ । तसर्थ, बालबालिकालाई फोहर खेल्न दिनुहँुदैन, सधैँ सफा राख्नुपर्छ । बासी तथा राम्ररी सफा नगरेका खानेकुरा नखाने । पानी शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ । जुकाको लक्षण देखिनेबित्तिकै चेकजाँच गराएर उपचार गराउनुपर्छ । चिकित्सकको सल्लाहमा औषधिको सेवन गरेर जुकाका संक्रमणबाट बच्न सकिन्छ । जुकाको अवस्था र प्रकृतिका आधारमा फरक–फरक औषधि प्रयोगमा ल्याउन सकिन्छ ।