April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

हर्षोल्लाससाथ मनाइँदै नयाँ वर्ष

भैरहवा– आज नयाँ वर्ष । आजदेखि विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल सुरु भएको छ । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदैछ ।

Advertisement

वैशाख १ गते नयाँ वर्षको पहिलो दिन विभिन्न पर्यटकीय स्थलमा चहलपहल छ । कोरोना महामारीले लामो समय गुम्सिएका नेपालीहरु घुमफिर गर्दै रमाइरहेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

Advertisement

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको पुरोहित हेमराज पोखरेलले बताए । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो’, पोखरेलले भने, ‘सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ ।’

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ । चैत १९ गतेदेखि नल नामको संवत्सर सुरु हुन्छ ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको नल ५० औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने गर्छ ।