May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

सियारी र शुद्धोधनका अध्यक्षद्वारा गाडी फिर्ता

भैरहवा– रुपन्देहीका दुई स्थानीय तहका प्रमुखले आफू चढ्ने सरकारी सवारी साधन पालिकामा फिर्ता गरेका छन् । निर्वाचन आयोगले चुनाव लड्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिने र सेवा सुविधा त्याग्नु पर्ने जनाएको छ । त्यसैले दुई पालिका अध्यक्ष सवारी फिर्ता गरेका हुन् ।

Advertisement

जिल्लाको शुद्धोधन र सियारी गाउँपालिकाका अध्यक्षहरूले आफूहरूले प्रयोग गर्दै गाडी फिर्ता गरेको जनाएका छन् । सियारीका अध्यक्ष अयोध्या थारू र शुद्धोधनका अध्यक्ष किशुनचन्द चौधरीले जनप्रतिनिधि भएपछि आफूले लिँदै आएको सेवा सुविधा त्याग गरेका हुन् ।

शुद्धोधन अध्यक्ष चौधरीले आफूहले पालिकाबाट सुविधा वापत लिएको गाडी फिर्ता गरेको पब्लिक कुरालाई जानकारी दिए । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पार्टीको निर्वाचनका लागि खटिनुपर्ने र जनप्रतिनिधिको रूपमा पाएको सेवा सुविधा लिएर पार्टीको काममा खटिनु उचित नहुने भएकोले सेवा–सुविधा त्याग गरेको सियारी अध्यक्ष थारुले बताए ।

‘म अब चुनावमा केन्द्रित हुन्छु, यस्ताबेला सरकारी सेवासुविधा लिनु उचित होइन्’, उनले भने, ‘त्यसैले गाडी फिर्ता गरेको हुँ, फेरि जनप्रतिनिधि भइयो भने सुविधा लिने कुरा फरक हो ।’

२०७४ साल जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा दुवै जना नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । सियारी र शुद्धोधनमा आगामी निर्वाचनका लागि समेत थारू र चौधरी दुवै जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् ।