May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

तम्सेका छन् कलमहरू

सिमली छायामुनि बसेका बटुवाहरू 
भुन्भुनाइरहेका छन् 
फक्रँदा फूलहरूको बगैँचा हेरेर 
अत्याचार गरिरहेछन् बारम्बार मास्टरहरू 
चेली बलात्कार गर्ने स्वयं नादान गुरुहरू 
सधैँ मरिरहनुपर्ने 
अबोध सम्भावनाका फक्रँदा आमाहरू
समाउन जाँदा दुराचारीहरू 
आफैँ अनाहक मर्नुपर्ने स्वयं सुरक्षाहरू 
चिचिला मासेर 
फलको आशा गर्ने कस्ता नराधमहरू 
नकचराको औषधि 
निर्माण गरिदेओ न स्वाभिमानीहरू 
निर्निमेष बाँच्न नपाऊन् 
भूगोल प्रदूषण गर्ने दुराचारी बदनामीहरू 
                   ….
फोहोर गरिरहन्छन् बिग्रेका टाउकाहरू 
बर्बराइरहन्छन् विकृत उत्तेजनाहरू 
चोट खेपिरहन्छन् पटकपटक
मानव बस्तीका बैँसोन्मुख रहरिला फूलहरू 
न्याय मरेको छ सङ्घारमा 
नृसिंह नजन्मेसम्म 
किंकर्तव्यविमुढ छन् न्यायका ढोकाहरू 
राक्षसहरू 
लपलपाइरहेछन् अबोध चोलीहरू 
समाज भुत्तिएको छ 
मानवता प्रतिदिन रोइरहेको छ ।
सेती, राप्तीका बगरमा छरिएका लासहरू 
हेरिरहेका छन् 
रुझेका ढुकुर जस्ता टिठलाग्दा बूढाबूढीहरू 
अभीसप्त अपराध 
रित्याउने अठोट बोकेर 
होस गर अपराधी हो मूर्दाहरू गाउँ फर्कँदैछन् ।
                   ….

हत्या, हिंसा बलात्कार र झैझगडाले 
वर्तमान समय 
आक्रान्त भएको खबर कलम लेखिरहेछ 
मनको पत्रिकामा 
अधमको हुल डढेलो झोसिरहेको छ 
जत्रोसुकै जस्तोसुकै 
बम बारुदको पेटारो फुटाओ महारथीहरू 
टाउकामा कलमको टुँडो पड्किँदा 
मान्छेहरू मात्र होइन 
स्वयं मूर्दाहरू समेत मसानबाट उठेर 
अपराधको भग्नावषेश स्वस्फुर्त मर्काउनेछन् 
कति जिस्क्याइरहन्छौ 
बलशाली कलमहरूका प्राञ्जल आँखाहरूलाई 
विचारले मान्छेका वर्तमान अहंहरू 
निर्निमेष रित्याइदिनेछ 
होस् गर तमासेहरू हो 
नयाँ युग निर्माणका लागि 
युगसापेक्ष कलमहरू 
सुनौलो मसी भरेर तम्सिसकेका छन् ।
….

ratopati

Advertisement