March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पार्टीको कार्यक्रममा भैरहवा आएका महन्थ ठाकुर विरामी, हेलिकोप्टरबाट काठमाडौं लगियो

भैरहवा– पार्टीको कार्यक्रममा सहभागी हुन भैरहवामा आएका लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर विरामी परेका छन् । उनलाई भैरहवा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

Advertisement

ठाकुरसहित पार्टीका अन्य नेताको टिम मंगलवारदेखि भैरहवामा थियो । मंगलवार विमानबाट भैरहवा आएका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकिए पश्चात् भैरहवास्थित होटल पौवामा आएर बसेका थिए ।

Advertisement

बुधवार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो । ‘उहाँको छातीमा समस्या हनुको साथै उच्च ज्वरो र निमोनियाको समस्या देखियो’, चिकित्सक पाण्डेले भने, ‘उपचारपछि उहाँको स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो ।’

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गर्ने गरि भैरहवाबाट हेलिकोप्टरमा ठाकुरलाई लगिएको हो । ठाकुरको स्वास्थ्यमा समस्या आएको जानकारी भएपछि चिकित्सक पाण्डेसहितको टोली उनी बसेको होटेलमैं बिहान करिव ८ बजेतिर पुगि स्वास्थ्य जाँच गरेका थिए । उनले आज दिउँसो काठमाडौं लगिएको हो ।

ठाकुरलाई उच्च ज्वरो आएको छ भने निमोनिया र अक्सिजनको लेवल समेत घटेको थियो । ठाकुरको स्मरण शक्तिमा समेत केही समस्या देखिएको थियो । अस्पतालमा लामो समसयसम्म उपचार गरेपछि ठाकुरको स्वास्थ्यमा धेरै सुधार आएको र सुधार आएपछि नै थप उपचारका लागि काठमाडौंका लागि रेफर गरिएको उनले बताए ।

ठाकुरलाई बिहान ९ बजेतिर उपचारका लागि भीम अस्पताल पुर्याइएको थियो । दिउँसो १ः२० को समयमा भीम अस्पतालबाट गौतम बुद्ध विमानस्थल लगिएको थियो । १ः४५ मा विमानस्थलबाट हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

पार्टीको प्रदेश स्तरीय कार्यक्रमका लागि भैरहवा आइपुगेका ठाकुरसहित उनको साथमा पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, नेता सर्वेन्द्रनाथ शुक्लालगायतका थिए ।

तस्बीर सौजन्य : गोविन्द ज्ञवाली/भीम अस्पताल