May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

लुम्बिनीका तीन जिल्लामा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान

भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, कपिलवस्तु र नवलपरासीमा आजदेखि टाइफाइड रोगविरुद्धको ‘टाइफाइड कन्जुगेट खोप’ (टीसीभी) लगाउन सुरु भएको छ । दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गते (भोलि)देखि खोप अभियान सञ्चालन हुँदैछ । यस्तै रुकुमपूर्व, गुल्मी, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ ।

Advertisement

सरकारले टाइफाइड रोगविरुद्ध पहिलोपल्ट खोप अभियान संचालन गरेको हो । प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेशका सबै जिल्लामा गरी १३ लाख १३ हजार ९८९ बालबालिकालाई खोप दिइँदै छ । टाइफाइडविरुद्धको खोप प्रदान गरी रोगको संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्न सरकारले खोप अभियान सुरु गरेको हो । शुरुमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई अभियानको रुपमा एक मात्रा खोप दिने तयारी छ ।

दिसा मिसिएको, दूषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलोपटक खोप सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा आज देखि २७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । आजदेखि देशभर खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजताअनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताए ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीमा दुई लाख ६६ हजार ५१८ बालबालिकालाई खोप लगाइने छ । यसका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिएको छ । अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छ वटा सहयोगी संघसंस्था परिचालन गरिएको छ । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।

मुख्य लक्षण तथा चिन्हहरू
– उच्च ज्वरो आउने
– जाडो हुने, पसिना आउने
– टाउको दुख्ने, जिउ दुख्ने
– जिब्रोमा सेतो लेत लाग्ने

अन्य लक्षण तथा चिन्हहरू
– पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने
– शरीरमा हल्का राता बिविराहरू आउने
– सुख्खा खोकी लाग्ने
– भोक नलाग्ने, वाकवाकी लाग्ने

पहिचान र निदान
लक्षण तथा चिन्हका आधारमा यस रोगको प्रारम्भिक पहिचान हुन्छ । साथै रगत, दिसा, पिसावको जाँच गरेर यो रोग पहिचान गर्न सकिन्छ ।

उपचार र रोकथाम
समयमै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्सअनुसार उपयुक्त प्रति जैविक औषधिको सेवनबाट यो रोगको उपचार गर्नुपर्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दुषित खाना र पानीको माध्यमबाट सर्ने भएको हुँदा यसबाट बच्ने मुख्य उपाय भनेकै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा एक मात्रा खोप लगाउनुपर्छ ।

खोप दिन नहुने अवस्था
– पहिला यो खोप वा अन्य खोप वा कुनै वस्तुबाट गम्भिर प्रकृतिको एलर्जीको प्रतिक्रिया भएको
– एड्स भएको अवस्था
– हाल उच्च ज्वरो, सिकिस्त विरामी भएकोे अवस्था
– गर्भवति महिला
– स्तनपान गराइरहेका महिला

खोप लगाएपछि हुनसक्ने सामान्य असर
– खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने
– हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने
– शरीरमा विमिराहरू आउने
– हातखुट्टा दुख्ने, जोर्नी दुख्ने
– वाकवाकी लाग्ने, वान्ता हुने
– एनाफाइल्याक्सिस् प्रतिक्रिया (अत्यन्तै विरलै सँख्यामा हुनसक्ने)