May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

लुम्बिनीका १,३१३,९८९ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्लामा टाइफाइट रोगविरुद्ध पहिलोपल्ट खोप अभियान संचालन गरिँदै छ । प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेशका सबै जिल्लामा गरी १३ लाख १३ हजार ९८९ बालबालिकालाई टाइफाइड रोगविरुद्धको ‘टाइफाइड कन्जुगेट खोप’ (टीसीभी) लगाउन लागिएको हो ।

Advertisement

सरकारले मुलुकभर ७५ लाख बालबालिकालाई खोप लगाउँदै छ । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा यही हप्तादेखि खोप अभियान सुरु हुँदैछ । टाइफाइडविरुद्धको खोप प्रदान गरी रोगको संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्न सरकारले खोप अभियान सुरु गरेको हो । शुरुमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई अभियानको रुपमा एक मात्रा खोप दिने तयारी छ ।

दिसा मिसिएको, दूषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलोपटक खोप सञ्चालन गर्न लागिएको हो । लुम्बिनीका रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । यस्तै रुकुमपूर्व, गुल्मी, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ ।

स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा चैत २२ देखि २७ गतेसम्म खोप अभियान सञ्चालन हुन लागेको हो । चैत २२ गतेदेखि देशभर खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजताअनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीमा दुई लाख ६६ हजार ५१८ बालबालिकालाई खोप लगाइने छ । यसका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने छ । अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छ वटा सहयोगी संघसंस्था परिचालन हुनेछन् । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको वर्गिकरण अनुसार प्रति १ लाख जनसँख्यामा १ सय भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्च दरमा वर्गिकरणमा गरिएको छ । नेपालमा टाइफाइड रोगको संक्रमण र जोखिम उच्च दरमा छ । जसले गर्दा पनि खोप अभियान सुरु गरिएको हो । खासगरी बालबालिकामा यो रोग बढी मात्रामा लाग्ने गरेको ढकालले जनाए ।

बहुवर्षीय खोप योजना (सन् २०१७–२०२१) अनुसार राष्ट्रिय खोप कार्यक्रममा क्रमशः नयाँ खोपहरू समावेश गर्दै जाने योजना अनुसार थप खोपको रुपमा टाइफाइड विरुद्धको खोप पनि नियमित खोपको रुपमा आर्थिक वर्ष २०७८–०७९ मा शुरुवात गर्न लागिएको उनले जनाए ।

तथ्यांकअनुसार संसारमा हरेक वर्ष करिब २ करोड व्यक्तिहरु टाइफाइडबाट संक्रमित हुने गर्छन् । तीमध्ये वार्षिक १ लाख ६१ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको पाइन्छ ।

विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो सथानमा छ भने अस्पताल भर्ना हुने विरामीहरुमध्ये चौथो कारण यहि रोग रहेको ढकालले बताए । टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण भएको पाइएको छ ।

पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, प्रति १ लाख जनसँख्यामा एक हजार ६२ जनामा टाइफाइड संक्रमण भएको पाइएको छ । त्यसमध्ये १५ वर्ष मुनिका प्रति १ लाख जनसँख्यामा १० हजार ९६० बालबालिकालाई टाइफाइड संक्रमण भएको पाइएको छ ।

समुदायमा टाइफाइड रोगविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन अभियानको समयमा यो खोपको कभरेज सबै स्थानीय तहमा ९५ प्रतिशत भएको एकिन गर्ने, अभियान पछि नियमित खोपमा यो खोप समावेस गरी १५ महिनाका बालबालिकालाई दादुरा–रुबेला खोपको दोश्रो मात्रा सँगै यो खोप दिएर ती दुबै खोपको कभरेज ९५ प्रतिशत रहेको एकिन गर्ने, अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुदृढीकरण गरी खोपको उपभोग दर बृद्धि गर्ने लक्ष्य रहेको ढकालले जानकारी दिए ।

खोप अभियान सञ्चालन रणनीति
– देशभरी अभियान एकै चरणमा सञ्चालन गर्ने
– संघ, प्रदेश र स्थानीय तह बीच समन्वय, सहकार्य र अपनत्वमा अभियान सञ्चालन गर्ने
– खोप तथा खोप सामग्री आपूर्ति व्यवस्थापनको सुनिश्चितता गर्ने
– जनशक्तिको क्षमता विकास गर्ने

टाइफाइड खोपको परिचय
– हाल नेपालमा प्रयोग गरिने खोप : टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी)
– यो खोप भारतमा उत्पादन भएको हो
– यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित खोप हो
– यो खोपको प्रभावकारिता ९६.९५ प्रतिशतसम्म रहेको अध्ययनले देखाएको छ
– यो खोप सुरक्षित र प्रभावकारी छ ।

मुख्य लक्षण तथा चिन्हहरू
– उच्च ज्वरो आउने
– जाडो हुने, पसिना आउने
– टाउको दुख्ने, जिउ दुख्ने
– जिब्रोमा सेतो लेत लाग्ने

अन्य लक्षण तथा चिन्हहरू
– पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने
– शरीरमा हल्का राता बिविराहरू आउने
– सुख्खा खोकी लाग्ने
– भोक नलाग्ने, वाकवाकी लाग्ने

पहिचान र निदान
लक्षण तथा चिन्हका आधारमा यस रोगको प्रारम्भिक पहिचान हुन्छ । साथै रगत, दिसा, पिसावको जाँच गरेर यो रोग पहिचान गर्न सकिन्छ ।

उपचार र रोकथाम
समयमै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्सअनुसार उपयुक्त प्रति जैविक औषधिको सेवनबाट यो रोगको उपचार गर्नुपर्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दुषित खाना र पानीको माध्यमबाट सर्ने भएको हुँदा यसबाट बच्ने मुख्य उपाय भनेकै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा एक मात्रा खोप लगाउनुपर्छ ।

खोप दिन नहुने अवस्था
– पहिला यो खोप वा अन्य खोप वा कुनै वस्तुबाट गम्भिर प्रकृतिको एलर्जीको प्रतिक्रिया भएको
– एड्स भएको अवस्था
– हाल उच्च ज्वरो, सिकिस्त विरामी भएकोे अवस्था
– गर्भवति महिला
– स्तनपान गराइरहेका महिला

खोप लगाएपछि हुनसक्ने सामान्य असर
– खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने
– हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने
– शरीरमा विमिराहरू आउने
– हातखुट्टा दुख्ने, जोर्नी दुख्ने
– वाकवाकी लाग्ने, वान्ता हुने
– एनाफाइल्याक्सिस् प्रतिक्रिया (अत्यन्तै विरलै सँख्यामा हुनसक्ने)

ढकालका अनुसार उपचार नगरेका करिब १० प्रतिशतले ३ महिना भन्दा पछिसम्म अरुलाई सार्न सक्ने र ५ प्रतिशत व्यक्तिहरूको पित्त थैलीमा ब्याक्टिेरिया लामो समयसम्म रही रहेर अरुलाई संक्रमण गराउन सक्ने हुन्छ । साथै सो ब्यक्तिलाई पित्त थैलीको क्यान्सर पनि हुन सक्ने सम्भावना हुन्छ ।