March 22, 2025, Saturday
२०८१ चैत्र १०

एक असफल चित्र

‘सर, मेरो चित्र सबैभन्दा राम्रो थियो हैन र ! तर, तपाईंले मेरो चित्रलाई तेस्रो पनि बनाइदिनु भएन । मलाई कस्तो पिर लागेको छ । हेर्नु न, तपाईंलाई कति पाप लाग्छ । म अब कहिल्यै पनि चित्रकलामा भाग लिन्नँ !’

सञ्जयको कुराले मेरो मथिंगल बेस्सरी हल्यायो । साँच्चै, म अपराधबोधले थिल्थिलो भएँ । छातीमा जाँतोले थिचेजस्तो गह्रौँ अनुभव भइरह्यो । बोल्नै सकिनँ ।

Advertisement

चित्रकलाको रिजल्ट सुनाउँदा नै मलाई खट्केको कुरा थियो त्यो । हो, गल्ती भएकै हो । सञ्जयको चित्र पुरस्कृत हुनैपर्ने थियो ।

विद्यालयको वार्षिक क्यालेन्डरअनुसार त्यो हप्ताको शुक्रबार नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत चित्रकला प्रतियोगिता थियो । कक्षा चारदेखि कक्षा दशसम्मका भाइबैनी सहभागी भएका थिए ।

संयोजनको जिम्मेवारी मेरै थियो । सधैँ म नै सबै कार्यक्रमको जाँजोपाँजो मिलाउँथेँ । त्यो दिन पनि चित्रकलामा कक्षागत प्रतियोगिता हुने व्यवस्था मिलाएको थिएँ ।

कतिपय विद्यार्थी त निकै राम्रा चित्र बनाउँथे । राम्राजतिलाई छानेर पत्रिकामा छपाउन पठाइदिन्छेँ । पत्रिकामा आफ्ना चित्र छापिएर आउँदा नानीहरूको भुइँमा खुट्टा हुँदैनथे ।

मलाई पनि औधी खुसी लाग्थ्यो । सञ्जयको पनि दुइटा चित्र पत्रिकामा छापिएका थिए ।

सञ्जय सोधिरहन्थ्यो, ‘चित्रकला कहिले हुन्छ ?’ प्रतियोगिता त वर्षको दुई चारपटक त हो नि !

मैले यो महिनाको यति गते हुन्छ भनेपछि ऊ त्यसैको प्रतीक्षामा बस्थ्यो । म भन्थेँ, ‘तिमी चित्र बनाउने काम गरिराख न ।’

अघिपछि पनि सञ्जय चित्र बनाइरहन्थ्यो । हरेक चित्र मलाई देखाउन ल्याउँथ्यो । म उसलाई पृष्ठपोषणसहित तारिफ गरिदिन्थेँ । कहिले ऊ रंगिन बालपुस्तकका चित्र उतार्थ्यो । कहिले मौलिक चित्र बनाउँथ्यो ।

उसमा चित्र बनाउने विशेष कला थियो, जुन निकै मौलिक थियो । चित्रमा वस्तुहरूको रङ संयोजन कुनै सिपालु चित्रकारले झैँ मिलाएर गर्थ्यो । भविष्यमा सञ्जय राम्रो चित्रकार बन्ने सम्भावना थियो ।

म पनि उसलाई हौसला दिइरहन्थेँ । भन्थेँ, ‘सञ्जय, तिमी बहुत राम्रा चित्र बनाउँछौ । एक दिन तिमी राम्रो चित्रकार बन्नेछौ ।’

ऊ झनै फुर्किन्थ्यो । झनै मौलिक र सुन्दर चित्र बनाउँथ्यो । म उसलाई कक्षामा चित्र टाँस्न लगाइदिन्थेँ । उसका साथीहरू सञ्जयका चित्र देखेर अचम्म मान्थे, ‘हामीले पनि यस्तै चित्र बनाउन पाए…!’

नानीहरू स्वभावैले पढ्नभन्दा खेल्न मन पराउँछन् । उनीहरूलाई शुक्रबार मनपर्छ, किनभने उनीहरूले अतिरिक्त क्रियाकलापमा भाग लिन पाउँछन् । एक बजेको छोटो छुट्टीमा खेल्दाखेल्दै घण्टी लागिहाल्छ ।

उनीहरूको खेल पूरा भएको हुँदैन । खल्लो मन पारेर नानीहरू हुरुरु कक्षा पस्छन् र तिनै दिक्क लाग्दा किताबका पाठ घोक्न थाल्छन् । वाक्क लाग्दा पाठ घोक्न र दिनकै कापीभरि गृहकार्य गर्नभन्दा नानीहरूलाई मनोरञ्जन गर्न मन पर्छ । त्यसैले उनीहरू शुक्रबारको अतिरिक्त क्रियाकलाप पर्खिराखेका हुन्छन् ।

सञ्जय यो गाउँको विद्यार्थी थिएन । ऊ मावली घरमा बसेर पढ्न यहाँ भर्ना भएको थियो । ०७२ को भुइँचालोपछि उसका बाआमा यो गाउँ आएका थिए ।

उसको बाबाआमा घर बनाउने ठाउँमा इँटा–बालुवाको काम गर्थे रे ! ज्यामी काम गरेर पनि सञ्जयका दाजुबैनीलाई राम्रै स्कुलमा पढाएका थिए रे !

उसको मामा जागिरमा गएपछि खेतीपाती हेर्न र नयाँ घर बनाउन उसैले दिदीभिनाजु र भान्जाभान्जीलाई यता पठाएको थियो । त्यसपछि सञ्जय गाउँकै विद्यालयमा पढ्न थालेको थियो ।

सञ्जय मानिस सानो भए पनि निकै परिपक्व कुरा गर्थ्यो । व्यवहार पनि परिपक्व थियो । साथीसँग बोल्दा पनि ऊ नम्र भएर बोल्थ्यो । सरम्याडमहरूसँग घुलमिल हुन अरू विद्यार्थीभन्दा सिपालु थियो ।

चित्रकला प्रतियोगिताको दिन सहभागी हुन लागेका नानीहरू फुरङ्ङ परेका थिए । उनीहरूले नै रङहरू ल्याएका थिए । स्वतन्त्र चित्र बनाउन वा चित्र पुस्तकबाट उतार्न विद्यार्थीलाई छुट थियो ।

सञ्जय यो स्कुलमा पहिलोचोटि चित्रकला प्रतियोगितामा भाग लिँदै थियो । पृष्ठभागमा सगरमाथा राखेर बुद्धको चित्र बनाउँदै थियो ऊ । म उसको चित्रले तानिएर पटकपटक हेर्न आएको थिएँ ।

‘यत्तिको चित्र त दश कक्षाको विद्यार्थीले पनि बनाउन सक्दैनन् !’ मैले सोचेथेँ ।

चित्र बनाउने काम सकिएपछि तीन दिनको समय दिएर मैले कक्षा शिक्षकलाई नै चित्र जाँच्ने जिम्मा दिएको थिएँ । अरू कक्षाको चित्रकलाको नतिजा अपेक्षित नै आएको थियो ।

तर, कक्षा चारको नतिजाले उति बेलै मलाई खल्लो बनाएको थियो । रङैरङ लत्पतिएका, रङ संयोजन नमिलेका र स्वाभाविक नदेखिने चित्रले प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान पाएका थिए ।

कक्षा शिक्षकबाट आएको नतिजालाई अविश्वास गर्नु पनि भएन । सोही नतिजा बाहिर ल्याउन पनि अप्ठेरो लागेको थियो मलाई ।

म बहुत धर्मसंकटमा परेको थिएँ । ‘सञ्जयको सबैभन्दा राम्रो चित्र किन सान्त्वना पनि आएन !’ कक्षा शिक्षकलाई पुनर्विचार गर्न दिन पनि आँटेको थिएँ । सबै शिक्षक बसेर छलफल गराउन पनि आँटेको थिएँ । तर, मेरो अन्तर्मनले ‘त्यसो नगर्’ भन्यो ।

चित्रकलाको नतिजा सुनाउने दिन । चौरमा जम्मा भएका विद्यार्थी निकै उत्सुक भएका थिए । माथिल्लो कक्षाबाट नतिजा सुनाउँदै गएँ म । पाँचदेखि दश कक्षासम्मको नतिजा विद्यार्थीले अड्कल गरेअनुसारै आएको थियो ।

कक्षा चारको सान्त्वनाबाट नतिजा सुरु गरेर द्वितीयसम्म घोषणा गरेपछि म एक छिन रोकिएँ । विद्यार्थीहरू कराउन थाले, ‘सञ्जय फस्ट ! सञ्जय फस्ट !’

अफसोस ! सञ्जय फस्ट भएको थिएन । सान्त्वना पनि भएको थिएन । मलाई नतिजा भन्न मन लागेको थिएन । एक छिन रोकिएँ । दुई छिन रोकिएँ । तीन छिन रोकिएँ ।

त्यसभन्दा बढी रोकिने अनुमति मलाई समयले दिएन । म नतिजा भन्न बाध्य थिएँ । मेरो मुखबाट सञ्जयको नाम नभएर अरू कसैको नाम उच्चरित भयो ।

नतिजा भनिसकेपछि मैले प्रतियोगी नानीहरूका चित्र उनीहरूलाई नै फिर्ता दिएँ । विजयले गाह्रो मानेर आफ्नो चित्र समात्यो । मलाई पनि बढो खल्लो अनुभव भयो ।

चित्रकला प्रतियोगितामा सञ्जयको यो नै पहिलो र अन्तिम सहभागिता बन्यो ।

यसअघि सञ्जय मसँग झुम्मिन आउँथ्यो । पुस्तकालयबाट पुस्तकहरू लगेर पढ्थ्यो । मेरो घरबाट पनि पुस्तक लैजान्थ्यो । किताबका चित्र हेरेर मलाई चित्रको बारेमा बताउँथ्यो ।

‘यो चित्रमा यो आकार मिलेन, यो चित्रमा यो रङ मिलेन, यो चित्रमा यो रङ बढी भयो ।’ भन्थ्यो ।

सञ्जय मसँग झ्याम्मिन छाड्यो । पर–पर हुन थाल्यो । पुस्तकालय पनि आउन छाड्यो । चित्रको त कुरै गर्न छाड्यो । कक्षामा प्रश्न सोध्न पनि छाड्यो ।

सञ्जयले त्यसपछिका चित्रकलामा भाग लिएन । लिँदै लिएन । मैले ‘चित्रकलामा भाग लिनेले नाम देऊ’ भन्दा पनि नाम टिपाएन ।

उसले साथीहरूसँग भनेछ, ‘म यो स्कुलमा कहिल्यै पनि चित्रकलामा भाग लिन्नँ । यहाँका टिचर चित्र जाँच्नै जान्दैनन् ।’

एक दिन बिहानै सञ्जय मेरै घरमा आयो । खाटमा बस्यो । हत्त्पत्ति बोलेन । मैले नै सोधेँ, ‘सञ्जय, के भन्न आयौ तिमी ? कथाका किताब लिन आएका हौ ?’

ऊ एकदमै गम्भीर देखिएको थियो । गम्भीर भएरै उसले भन्यो, ‘सर, म तपाईंकोबाट कहिल्यै किताब लाँदिनँ । यो स्कुलमा चित्र पनि बनाउँदिनँ । नयाँ चित्र तपाईंलाई देखाउँदा पनि देखाउँदिनँ ।’

उसले मेरोबाट पढ्न लगेका पुस्तक खाटमा राखिदियो । मेरो मन फाटेको दूधजस्तो तम्तम्याइलो भएर आयो । केही भन्न सकिनँ । ऊ गयो । म उसलाई हेरिरहेँ ।

अर्को दिन सञ्जयका बाआमा र बैनी माथिबाट झर्दै गरेको देखेँ । उसले गह्रौँ गरी झोला बोकेको थियो । बैनीले सानो झोला बोकेकी थिई । बाआमाले धोक्रामा टन्नै सामान बोकेका थिए । ऊ सबैभन्दा पछाडि थियो ।

बाआमा र बैनी झरिसकेपछि ऊ मेरो आँगनमा आयो । मैले सोधेँ, ‘सञ्जय, सबैजना कता जान लागेका ? झोलामा के बोकेका छौ ?’ उसले अँध्यारो भएर भन्यो, ‘सर, म अब त्यो स्कुलमा पढ्दिनँ । सहरकै स्कुलमा जाने भयौँ हामी ।’

मैले सोधेँ, ‘किन र सञ्जय ? यहाँ किन नपढ्ने ?’ उसले भन्यो, ‘मलाई यहाँ पढ्नै मन लागेन सर ? यहाँका सरहरूलाई चित्र हेर्न पनि नआउने रै’छ ।’

सञ्जयले मलाई तिखो सुइरोले रोप्यो । उसले मलाई नै भनेको थियो । मेरो मन ढुंगाले थिचेझैँ गह्रौँ भयो । म केही बोल्न सकिनँ ।

ऊ नै फेरि बोल्यो, ‘सर, चित्रकलामा फेल भएको मेरो चित्र तपाईं नै राख्नु ल !’ मैले सोधेँ, ‘किन सञ्जय ? तिम्रो चित्र तिमी नै लैजाऊ न । मलाई किन छाडेर जान्छौ ?’

उसले त्यो असफल चित्र झिक्यो । गम लगायो र मेरै घरको दलानको भित्तामा टाँस्यो । अनि भन्यो, ‘सर, रङ उडेर नखुइलिएसम्म यो चित्र नउप्काउनु है !’

‘ऊ किन यसो गरिरहेछ !’ सोचेँ । तर, बोल्न सकिनँ । विद्यार्थीको प्रतिभामा सामान्य खेलाँची हुँदा उनीहरूमा कस्तो मनोवैज्ञानिक असर पार्दो रहेछ ! मैले आफैँसँग संशयको प्रश्न सोधेँ ।

तर, सञ्जयको हकमा समय ढिलो भइसकेको थियो । पुलिसको घेराबन्दीमा चोर परेझैँ मेरो मन संशयको घेराबन्दीमा पर्यो । घेराबन्दीबाट उम्कनै सकिनँ । मनैले मलाई अपराधी करार गर्यो ।

सबैभन्दा राम्रो तर असफल चित्र सञ्जयले भित्तामा टाँसेर गयो । सायद, उसले मेरो खेलाँचीलाई राम्रो सबक सिकाएको थियो । 
मलाई औडाहा छुट्लाजस्तो भयो । पश्चात्तापले मलाई खँगार्यो ।

नहेरूँ भन्दा पनि चित्र सामुन्नेमै थियो । आँखैमा आइहाल्थ्यो । अब मलाई चित्रले गिज्याउन थाल्यो । मेरो कमजोरीमाथि तीर हान्न लाग्यो । क्षणक्षणमा सताउन लाग्यो ।

सगरमाथा र सगरमाथाको अग्रभागमा खिचिएको बुद्धको चित्रले मलाई कुरीकुरी गर्न लाग्यो । तर पनि मैले त्यो चित्र भित्ताबाट हटाइनँ । किन ? किनभने, मेरो खेलाँचीको प्रायश्चित्त यसै चित्रको दृश्यपानबाट होस् ।

दुई वर्षपछि, एउटा बालपत्रिकामा उसको अन्तर्वार्ता छापिएको रहेछ । मैले देखेँ । पढेँ । हतारहतार पढेँ । मनोयोगपूर्वक पढेँ, ‘केटो त पत्रिकामा चित्रकारको हैसियतमा अन्तर्वार्ता दिने भइसकेछ !’

म खुसीले गद्गद भएँ । बधाई दिन मन लागेको थियो, तर उसको सम्पर्क नम्बर मसँग थिएन ।

उसको अन्तर्वार्ता उत्सुकतापूर्वक पढ्दै गएँ । छैटौँ कक्षामा पुग्दा नै उसले घेरै प्रतियोगिताहरूमा प्रथम स्थान हासिल गरेछ । केही महिनापछि उसले एकल चित्रकला प्रदर्शन पनि गर्दै रहेछ । म झनै खुसी भएँ ।

‘चित्र बनाउने दौरानमा तपाईंलाई खल्लो लागेको कुनै घटना वा प्रसंग छ ? भए बताइदिनुहुन्थ्यो कि ?’  पत्रिकाले सोधेको अन्तिम प्रश्न थियो यो ।

उसको उत्तर थियो, ‘मैले एक वर्ष पहाडको स्कुलमा पढेँ । त्यहाँ पनि चित्रकला प्रतियोगिता भएको थियो । मैले पनि भाग लिएको थिएँ । तर, सरले रद्दी चित्रलाई पुरस्कार दिएर मेरोलाई आउट गर्नुभएको थियो । त्यो क्षणले मेरो चित्त दुखाइरहन्छ ।’

एक छिन म स्तब्ध भएँ । उसले स्कुलको र मेरो नाम लिएको थिएन । ‘मेरो नामै लिएर भनेको भए ?’ मेरो मनले पटकपटक प्रश्न गरिरह्यो ।

सञ्जयको असफल चित्रमा हेरेँ । चित्रको रङ खुइलिएर फुंग उडेको थियो । सगरमाथा र बुद्ध अस्पष्ट भइसकेका थिए । baarakhari