वेश्या


गाउँकी जेवारनी बूढीले नथरीतिर फर्केर थुकिन् । उनले नथरीलाई देखेर जानीजानी थुकेकी थिइन् । नथरी पनि के कम थिइन् र ! उनले पनि जेवारनी बूढीतिर फर्केर पिच्च थुकिन् ।
जेवारनीतिर फर्केर थुक्दा उनको मन शान्त भयो । उनलाई घृणाले थुक्नेको अनुहारमा उनले पनि थुकिन् । अदम्य सहासले उनको छाती ढक्क फुल्यो ।
वेश्या हुनुमा उनलाई लाज लागेको थिएन । न त गौरव थियो । जसले उनलाई वेश्या बनायो, उसलाई पो लाज लाग्नुपर्ने । ऊ पो यो समाजमा टाउको निहुराएर हिँड्नुपर्ने । उनी किन टाउको निहुराएर हिँड्थिन् !
उनी घरतिर फर्किंदै गर्दा गाउँकी बेलीवाली काकीले भनिन्, ‘आइकौल वेश्या शिर ठारह् कैरके लरैछै ।’ (अचेल वेश्या पनि टाउको उठाएर हिँड्छे ।)
उनको कुरा सुनेर नथरीले जवाफ फर्काइन्, ‘कथि कहलिही ? फैन कहै ?’ (के भनिस् ? फेरि भन् ?ं)
उनको कुरा सुनेर बेलीवाली चुप लागिन् । फेरि, विस्तारै वेश्या भन्दै घरभित्र छिरिन् ।
उनको कुरा सुनेर उनले कड्किँदै भनिन्, ‘तोहे वेश्या ! तोहर घरवला वेश्या । तोहर पूराके पूरा खन्दान वेश्या । साहस छौ त बाहार आइबके कहै । हमर आइखमे देखके कहै । ने त घरमे ढुइकके झोटा पकैरके बहार आनबौ ।’ (तँ वेश्या ! तेरो लोग्ने वेश्या । तेरो पूराका पूरा खान्दान वेश्या । साहस छ भने बाहिर आएर भन् । मेरो आँखामा आँखा जुधाएर भन् । नत्र घरभित्रै छिरेर जगल्ट्याएर बाहिर ल्याउँछु ।)
उनको कुराको उताबाट केही जवाफ आएन । उनको मनमा यति धेरै रोष र क्रोधयुक्त ऊर्जा प्रकट भयो कि उताबाट केही जवाफ आएको भए उनले बेलीवाली काकीको गाला पड्काउने थिइन् ।
जवाफ नआउँदा उनी सरासर आफ्नो घरतिर लागिन् ।
उनी सबैका आँखामा वेश्या थिइन् । तर, उनले आफ्नो स्वाभिमान बेचेकी थिइनन् । उनी आफ्नो आँखामा पहिलाकै नथरी थिइन्, जुन नथरीका स–साना सपनाहरू थिए । नांगो खुट्टा हिँडेर रमाउँथिन् । सुक्खा रोटी खाएर हाँसीहाँसी खेल्थिन् ।
तराईका हरिया खेतहरूमा बाख्रा चराउँथिन् । वर्षामा रुझ्थिन् । रुझ्दै खेतका आलीहरूमा खुसीले उफ्रिन्थिन् । च्यातिएको पुरानो मैलो कमिज र स्कर्ट लगाए पनि खुसीले नाच्थिन् ।
साधारण जीवन थियो उनको । आकाश छुने सपना थिएन । परिश्रमको पसिनाले धरा भिजाउँदै आम मान्छेझैँ जीवन जिउने चाह थियो । उनलाई उनी हुनुमा गर्व थियो ।
उनलाई यहाँ सबैले नांगो देखिरहेका थिए । तर, उनले पनि यहाँ सबैलाई नांगो देखेकी थिइन् । उनको हात र वक्षस्थलमा भएको डामले उनलाई धेरै पिरोल्थ्यो । गिजोल्थ्यो ।
गिद्धजस्ता मान्छेका धेरै आँखा उनले पढेकी थिइन् । ती आँखाहरूमा गहिराइ थिएन । ती आँखाहरूमा दया, माया, मानवता वा करुणाभाव देखिनन् । ती आँखाहरूमा उनले हवसको गन्ध मात्र देखिन् ।
दया, माया, स्नेह वा कुनै मानवताको उदार भाव देखेकी भए उनले पनि सबैलाई प्रतिष्ठित र दयावान् देख्थिन् ।
उनी कहाँ आउने पुरुषहरूका जिउ पनि हड्डी र मासुले बनेका थिए । तैपनि, उनको मासु र हड्डीमा केको मोह थियो ! किन लुछालुछ गर्थे ? किन बहुलाझैँ चिथोर्थे, उनलाई ?
समाजमा आफूलाई प्रतिष्ठित भनाउनेहरू उनका अगाडि बन्द कोठामा नागिन्थे ।
उनलाई जबरजस्ती वेश्या बनाइएको थियो । तर, उनीकहाँ आउने पुरुष आफ्नो खुसीले वेश्या बन्थे । तैपनि, पुरुषहरूलाई कहिले किन वेश्याको आरोप लागेन ?
कोठीमा आउने पुरुषहरू त्यही समाजमा निर्धक्क डुलिरहँदा औँला ठड्याएर यो पुरुष वेश्या हो भनेर किन कसैले आरोप लगाएनन् ? उनलाई मात्रै किन वेश्याको आरोप लाग्यो ?
पूजारी (जो मन्दिरको पुजारी थियो) उसले नथरीको आँचल समातेर सुँघ्यो । उसको व्यबहारले उनी तर्सिन् । यति विध्वंशकारी, क्रूर र डरलाग्दो आँखा उनले कहिल्यै देखेकी थिइनन् ।
उसको निधारमा चन्दन र घाँटीमा माला थियो । दुब्लोपातलो पूजारीले उनको सारीको आँचल बेस्सरी तान्यो । उनी डरले तर्सिँदै दुई हात पर सरिन् । उनको सारीको काँटा फुस्केर आँचल तल झर्यो ।
ब्लाउजसहितकी उनले निर्वस्त्र भएको अनुभव गरिन् । तुरुन्तै आँचल भुइँबाट टिपेर छाती ढाकिन् । उनको जिउ लगलग काम्दै थियो । काम्दै भनिन्, ‘कथि करैचिही ? के चिही तोहे ? हमरसे दूर रह् । हमरा छुबैके तोकर अतहेक साहस ?’ (के गरेको ? को होस् तँ ? मभन्दा टाढा बस् । मलाई छुने तेरो यत्रो साहस ?)
पुजारीले उनको कपाल सुँघ्दै भन्यो, ‘मै तेरे उपर पैसा फेका हुँ । तु वेश्या है, लडकी ।’
वेश्या ! यो शब्द उनको कानमा यसरी गुञ्जियो, जसरी अग्लो पहाडमा ठोकिएको प्रतिध्वनि बारम्बार गुञ्जिन्छ । उनले सहन सकिनन् । पूजारीलाई बेस्सरी लातले हिर्काउँदै विरोध गर्दै कोठाको छेस्किनी खोलेर बाहिर दौडिन् ।
उनी निस्केको देखेर पूजारीले कराउँदै भन्यो, ‘अम्मा देखो ये लडकी मान नहि रहि है ।’
उनी निस्केको देखेर बैठकमा एक बिटो पैसा गनिरहेकी अम्माले उनको हात बेस्सरी अँठ्याएर गालामा एक झापड हानी । त्यो झापड उनको कानको जाली फुट्ने गरी बज्रियो ।
उनको गाला र कान छिनभरमै आगोझैँ तातो भयो । उनलाई अम्माले लातले हान्दै धकेली । अम्माले धकेल्दा उनी कोठीमा भएको खाटमा पछारिन पुगिन् ।
कोठीको ढोका थुन्दै अम्माले निस्किँदै भनी, ‘अपने काममे लगजा लडकी । नहि तो तेरा खैर नहि ।’
अम्माबाट कुनै सहयोगको आशा नदेखेपछि उनले पूजारीसँग हात जोड्दै भनिन्, ‘हमरा छोइर दे । हम तोहर हाथ जोरैचियौँ ।’ (मलाई छोड् । म तलाईं हात जोड्छु ।)
उनले हात जोडेको देखेरे पूजारीले उनले सहयोग माग्दै गरेको अनुमान लगायो । चिउडो समात्दै पूजारीले भन्यो, ‘तु इतनी सुन्दर है, कैसे छोड्दु लडकी ?’
उनले कोठीमा विरोधको आवाज बर्साइरहिन् । उनको चिच्च्याहटले पूजारीलाई कुनै फरक परेन । उसको क्रूर र घिनलाग्दा आँखा उनका निजी अंगहरूमा गाडिएको थियो ।
कहिले निर्वस्त्र नभएकी उनी आफ्नो अस्मिता बचाउन हात पटक–पटक जोडिरहेकी थिइन् । पुजारीको फलामजस्ता बलिया हातले उनका निजी अंगहरूलाई निर्ममतापूर्वक लुछिरहेको थियो ।
उनले पूजारीमा कुनै दया, माया, स्नेह र सहानुभूतिको भाव देखिनन् । तथापि, विरोधको आगो बर्साइरहेकी थिइन् ।
उनले यति विध्वंशकारी र घिनलाग्दा आँखा कहिले देखेकी थिइनन् । पुजारीको अनुहार सिनो खान नपाएर भोकले छटपटाइरहेको बाघजस्तो देखिन् ।
त्यो अनुहारमा कुनै दया भाव थिएन । जिउँदो जनावरलाई ठुङेर मासु लुछी घाइते बनाउने गिद्धझैँ पूजारीको व्यबहार देखिन् । यति निर्दयी मान्छे उनले कहिल्यै देखेकी थिइनन् । पैसाको बलले नाबालिग नथरीको मोल तोकेको थियो ।
अर्को रात समाजसेवी आयो । उनले फेरि पनि विरोध गरिन् । तर, यति बेलासम्म उनलाई थाहा भइसकेको थियो, उनले जति विरोध गरे पनि त्यो विरोध चार भित्ताभित्र मात्र कैद भएर सीमित रहनेछ ।
न उनलाई कसैले सहयोग गर्नेछ न उनी यहाँबाट आफ्नो इच्छाले निस्किन सक्नेछिन् ।
समाजसेवीले भन्यो, ‘मै समाजसेवी हुँ । समाजमे मेरा बहोत इज्जत है । तेरे उपर पैसा फेका हुँ । इसलिए अदबके साथ मेरा सेवा कर् लडकी ।’
समाजसेवीको कुरा सुनेर उसको अनुहारमा हेरिन् । समाजसेवीको अनुहार पनि सिनो खान छटपटाइरहेको जंगली जनावरझैँ देखिन् ।
आफूलाई समाजसुधारक भनाउँदा मान्छे, तर घटिया व्यबहार देखेर उनलाई समाजसेवीप्रति कुनै सम्मान जागेन । जब समाजसेवीले उनको हात स्पर्श गर्यो, घृणाले समाजसेवीको अनुहारमा ‘थू’ भन्दै थुकिन् ।
उनले थुकेको देखेर समाजसेवीले उनको कपाल भुत्ल्याउँदै गालामा एक झापड हान्यो । उनी बन्द कोठीमा विरोधका आवाज बर्साउँदै अस्मिता बचाउने हरसम्भव प्रयास गरिरहेकी थिइन् ।
सिकारीबाट बच्न भाग्दै गरेको हरिणझैँ उनको अवस्था थियो ।
अर्को रात पुलिस आयो । उसले भन्यो, ‘मै पुलिसवाला हुँ लडकी । तु सिधा अपने काममे लगजा । कहाँकी छोकरी है तु ?’
पुलिसलाई देखेपछि उनले धेरै आशाका साथ हेरिन् । उनले पुलिसलाई जनताको सुरक्षा गरेको मात्र देखेकी थिइन् । उनलाई लाग्यो, पुलिले सहयोग गर्नेछ ।
उनले आशापूर्ण नजरले हिन्दी भाषामै बोलिन्, ‘साहेब, मै नेपालसे हुँ । आप पुलिसवाले हो । मुझे सहयोग करो साहेब । मुझे यहाँसे निकालो ।’
उनको कुरा सुनेर उसले उनको तल्लो बंगारा कैदीझैँ बेस्सरी अँठ्याउँदै अनुहार माथि उचाल्दै भन्यो, ‘तुँ नेपालसे है, इसलिए तु हिमगिरि जैसी सफेद और सुन्दर है, लड्की ।’
‘मुझे आप सहयोग करोगे ना साहेब ?’
‘तु मुझे फसाएगी क्या ? तु अपनी औकातमे रह् । मै परिवारवाला इन्सान हुँ । तेरे जैसा नही हुँ मै । मेरा बहोत इज्जत है ।’
पुलिसले आफूलाई परिवार भएको धेरै इज्जतदार मान्छे बताइरहेको थियो । के, नथरी विनापरिवार र इज्जत नै नभएकी मान्छे थिइन् त ? उनको पनि परिवार थियो । उनी झन् नाबालिग थिइन् ।
पुलिस नथरीजस्तो मान्छे थिएन भने किन उनीकहाँ नाङ्गो हुन आयो ? समाजमा उसको इज्जत थियो भने किन आफ्नो इज्जत देखाउन कोठीमा आयो ?
उसमा पनि नथरीले कुनै दया भाव देखिनन् । पुलिसले नथरीको जिउमा, नङ्ग्रा र नीलो डाम जहाँ त्यहीँ बनायो । पुलिसमा उनले हिंस्रक जनावरको रूप देखिन् ।
सहन नसकेर पुलिसप्रति क्रोधित हुँदै भनिन्, ‘तूँ साला ! पुलिसके नाममे धब्बा हो ।’
उनले गाली गरेको सुनेर पान खाएको थुक पुलिसले उनको अनुहारमा थुक्यो ।
उनी पनि सहेर बसिनन् । पुलिसको अनुहारमा थुकिदिइन् । उनले थुकेको देखेर ऊ झन् रिसायो । उसले नथरीलाई झापड हान्न खोज्यो । तर, हानेन । के सोच्यो र कसेर बाँधेको मुड्की उनको अनुहारनजिक लग्यो । फेरि पनि हानेन ।
कोठीबाट निस्किँदै उसले भन्यो, ‘अम्मा, कोठे नं. ४ की लडकी का दिमाग ठीक करो । शिर पर चढती है, साली ।’
पुलिसको कुरा सुनेर अम्मा आएर उनको कपाल भुत्ल्याउन थाली । अनि, गालामा थप्पड हान्दै भनी, ‘अबसे तूँ अदबके साथ पेस आना लडकी । नही तो और मार पडेगी तुझे ।’
उनले विरोध गर्दा अम्मा र ग्राहकको हातबाट कुटाइ बर्सिन्थ्यो । उनी खान्थिन् । उनको अवस्था दीन–हीनझैँ भएको थियो । यसरी उनको आवाज कोठीको चार किल्लाभित्र कैद थियो ।
त्यहाँ उनको आवाज कसैले सुन्दैनथ्यो । उनको पीडा कसैले बुझ्दैनथ्यो । उनी एक्लै रुन्थिन् । एक्लै बर्बराउँथिन् । बर्बराउँदै अम्मा र उनीकहाँ आउने मान्छेलाई गाली गर्थिन् ।
सबैले उनको जिउको मासु मात्र लुछ्न खोज्थे । आफ्नै दुर्दशा देखेर उनी बहुलाउँथिन् पनि ।
उनलाई भारतको कोठीमा पुर्याउने गाउँका काका पर्नेलाई उनी मनमनै गाली गरिरहेकी थिइन् । बा–आमाको निर्दोष अनुहार सम्झिरहेकी थिइन् । उनका आँखाबाट क्रोध र आँसु दुवै सँगै बग्थ्यो ।
घरमा बा–आमासँग बाघजस्तो गर्जिन सक्ने नथरीले कोठीमा जति नै प्रतिकार र विरोध गर्दा पनि कसैलाई केही फरक पर्दैनथ्यो ।
उनीकहाँ साधारण रिक्सावालादेखि नेतासम्म आउँथे । त्यहाँ आउने पुरुषहरू आफ्नो मनको बह पोख्थे । कोही प्रेमिकाबाट असन्तुष्ट भएको सुनाउँथे । कसैले स्वास्नी मन नपरेको गुनासो गर्थे । कसैले स्वास्नी बितिसकेको दुःख पोख्थे ।
कोही निराशाले भरिएको बोझिलो जिन्दगीबारे गुनासो गर्थे । कोही जोस– जाँगरले भरिएको कुरा बोल्थे । कोही फोहोर र सुन्नै नसकिने खालका कुरा पनि उनलाई सुनाउँथे ।
कोही जिन्दगीको मज्जा लिन कोठीमा आउने गरेको बताउँथे । कोही असली मर्द बन्न कोठीमा आएको पतित पुरुषत्व देखाउँथे । कोही स्वास्नी अरूसँग लागेको प्रस्ट्याउँथे । कोही भने स्वास्नीलाई भर्खर कुटेर आएको नामर्द साहस सुनाउँथे ।
यस्ता कुरा सुनाउने र कोठीमा आउने सम्पूर्ण पुरुषलाई उनले वेश्या देखिन् । उनको इच्छाविरुद्ध अरूले उनलाई वेश्या बनाएको थियो, तर कोठीमा आफ्नो इच्छाले आउने पुरुषहरूलाई उनले वेश्याभन्दा पनि तल गिरेको देखिन् ।
चेलीबेटीलाई बेचेर वेश्या बन्न बाध्य बनाउने मान्छेलाई वेश्याभन्दा पनि नीच महावेश्या देखिन् ।
जीवनको उत्तराद्र्ध नदेखेकी र नभोगेकी नथरी पुरुषका कुरा सुनेर सोच्थिन्, यस्ता लोग्नेहरूका स्वास्नी त पराई पुरुषसँग लाग्छन् । पुरुषहरू आफ्नी स्वास्नी र प्रेमिकासँग असन्तुष्ट भएको वा मन नपरेको गुनासो र मनभरिको बह कोठीमा पोख्न आउँछन् भने, के महिलाहरूलाई उनका लोग्ने र प्रेमी सधैँ राम्रा लाग्छन् ?
जस्तोसुकै भए पनि मन पर्छन् ? पुरुषहरू आफ्नी स्वास्नी र प्रेमिकाबाट असन्तुष्ट भएको गुनासो पोख्छन् भने के महिलाहरू आफ्ना लोग्ने र प्रेमीबाट सन्तुष्ट छन् त ?
महिलाहरू खुलेआम मन नपरेका आफ्ना पुरुषबारे किन गुनासो पोख्दैनन् ? कोसँग किन डराउँछन् ? केको र कसको लाज र अप्ठ्यारो लाग्छ उनीहरूलाई ?
महिलाहरू आफ्नो गुनासो कहाँ पोख्छन् ? आफ्नो मनको पिर कहाँ बिसाउँछन् ? पुरुषहरूका इच्छा छन् भने महिलाहरूका इच्छा छैनन् ? उनीहरूले के आफ्नो प्रेमी वा लोग्ने कोठीमा आएको चाल पाउँछन् ?
यदि, चाल पाउँछन् भने किन विरोध गर्दैनन् ? कोठी भत्काउन किन घरबाट कुच्चो र बन्चरो बोकेर निस्किँदैनन् ? चेलीलाई कोठीमा बेच्ने महापापीहरूलाई किन समाजमा जिउँदै जलाउँदैनन् ?
मनको भारी बिसाउने ठाउँ पुरुषका लागि वेश्यालय हुन्छ भने महिलाहरूले कहाँ गएर मनको भारी बिसाउँछन् ?
आफ्नी चेली वेश्या बनेको सहन नसक्ने समाज अरूका चेलीलाई जबरजस्ती किन वेश्या बनाइरहेको छ ? खुलेआम वेश्यालय आउने पुरुषका स्वास्नी उनीहरूजसरी नै वेश्यालय आएका भए के यो समाजले तिनलाई स्वीकार्थ्यो ?
अथवा, पुरुष वेश्यालय भइदिएको भए महिलाहरू वेश्यालय गएको यो समाजले पचाउन सक्थ्यो ? तिनै पुरुषले आफ्नी स्वास्नीलाई खुलेआम परपुरुष कहाँ जान दिन्थे ?
कोठी चलाउने अम्मालाई नथरीले दानव देखिन् । अम्माले अरू व्यवसाय गरेर पनि जीवन धान्न सक्थिन् । तर, नारी भएर नारीको अस्मिताको रक्षा गर्न नसक्ने अम्मालाई उनले कलंक देखिन् ।
अम्मालाई देखेर उनलाई सधैँ घृणा उत्पन्न हुन्थ्यो । अम्मासँग उनी कहिल्यै राम्ररी बोल्दिनथिन् ।
नथरी दिनदिनै ग्राहकहरूबाट थाक्थिन् । उनलाई आफ्नै जिउ देखेर घृणा लाग्थ्यो । उनलाई आफ्नो ज्यानको पहिले धेरै माया लाग्थ्यो, तर उनको जिउ लुछेदेखि उनलाई आफ्नै जिउको अंगहरूप्रति चरम घृणा र क्रोध उत्पन्न हुन्थ्यो ।
आफ्नै जिउ टुक्रा–टुक्रामा विभाजन गरेर गंगामा विसर्जन गर्ने इच्छा जाग्थ्यो । उनीकहाँ आउने पुरुषहरूको जिउमा मट्टीतेल खन्याएर जिउँदै जलाइदिने इच्छा जाग्थ्यो ।
एक दिन उनले बजारबाट शृंगारका सामानहरू किनेर ल्याइन् । उनलाई अम्मा देखेर क्रोध उत्पन्न भइरहेको थियो नै, नारी भएर नारीलाई वेश्या बनाउने उनको दानवीय व्यवहार देखेर आजित भइसकेकी थिइन् ।
त्यस दिन उनले बडो साहसका साथ शृंगारका सामानहरू अम्माको अनुहारमा फालिन् । र, फाल्दै थुकिन् । अनि भनिन्, ‘शृंगार करके तूँ ग्राहक के सामने जा । फिर तुझे लडकीयोँ का तकलिफ महसुस होगी । तूँ इस समाज की कलंक हो ।’
नथरीले शृंगारको सामान फाल्दै थुकेको देखेर अम्माले उनको गालामा बेस्सरी थप्पड हानिन् । भनिन्, ‘अपनी औकात मे रह् छोकरी !’
यति भन्दै अम्माले उनलाई घचेट्दै कोठामा थुनी ।
१० वर्ष बितिसकेको थियो । उनी बाध्यताले पेसागत रूपमा वेश्यावृत्तिमा थिइन् । मनले हैन । १० वर्षमा उनले नेपाल फर्काइदिनका लागि आफूकहाँ आउने धेरै मान्छेको खुट्टा ढोगिन् । हात जोड्दै सहयोगको भिख मागिन् । आँसु झार्दै बा–आमाको गरिबी र आफू बेचिएको पीडा सुनाइन् ।
तर, उनको दुःख कसैले बुझेन । उनी निराश भइसकेकी थिइन् । उनले यो नर्कबाट छुटकारा पाउने कुनै बाटो देखिनन् ।
नथरीका बा अपांग थिए । उनका बा चार छोरी र स्वास्नीको खर्च जुटाउन असमर्थ थिए । उनकी आमाले एक्लै मेलापात गरेर जसोतसो छोरीहरू र उनका बा पालिरहेकी थिइन् ।
नथरी जेठी थिइन् । टोलकै रेवती उनकै उमेरकी थिइन् । हेटौँडामा बालश्रमिकका रूपमा नोकरी लागेकी । उनलाई नोकरी लगाइदिने टोलका सम्पैत काका थिए ।
बेलामौकामा रेवतीका मालिकले उनको घरमा पैसा पठाइदिन्थे । रेवतीजस्तै आफूले पनि सहरमा धनीको घरमा काम गरेर बा–आमालाई पैसा सहयोग गर्ने उनले सोचिन् ।
र, टोलका काका पर्ने सम्पैतलाई एक दिन भनिन्, ‘कका, हमरो सहरमे नोरी लग्यादे न । रेवतीके लग्या देने चिही तैहनङ नोकरी खोइज दे न ।’ (काका, मलाई पनि नोकरी लगाइदिनुस् । रेवतीलाई लगाइदिनुभएजस्तै नोकरी लगाइदिनुस् ।)
उनको कुरा सुनेर सम्पैतले भन्यो, ‘हम बुइझके खबर करबौ ।’ (बुझेर खबर गर्छु ।)
एक महिनापछि सम्पैतले खबर गर्यो, ‘सहरमे तोरा काम करैले बोलाइने छौ मालिक । चल् हम पुग्या देबौ ।’ (सहरमा तँलाई काम गर्न बोलाएको छ । हिँड् म पुर्याइदिन्छु ।)
उनी सहरमा काम गर्न जान लागेको सुनेर उनकी ठूलीआमाले आफ्नी छोरीलाई पनि सम्पैतसँग पठाइन् ।
नथरी र बच्ची बालमजदुरका रूपमा काम गर्न १५ वर्षको उमेरमै घरबाट निस्के । उनीहरू सहर आए । एकजना मान्छेको जिम्मा लगाउँदै सम्पैत गाउँ फर्कियो ।
त्यो मान्छेले अर्को मान्छेलाई जिम्मा लगायो । त्यसले ‘तिमीहरू दुवैजना एउटै मालिकको घरमा काम गर्न सक्दैनौ’ भनेर बच्चीलाई अर्कै ठाउँमा लग्यो । नथरी एक्लैलाई फेरि अर्कै मान्छेको हातमा पुर्यायो ।
उनी पढ्न जान्दिन थिइन् । सडकमा राखिएको बोर्डमा लेखेका अक्षरतिर पटक–पटक हेर्थिन् । तर, बोर्डमा अक्षर लेखिएको थियो कि बुट्टा कोरिएको थियो, उनलाई थाहा भएन ।
सडकमा झुन्डिएका बोर्डमा अंकित रङ मात्र चिन्थिन् । उनले कहिल्यै ठूलो सहर देखेकी थिइनन् ।
जब उनी चौथो मानिसको हातमा गइन्, अनि मात्र हिन्दी भाषा सुनिन् । उनले आफ्नै टोलका ठूलाबाको घरमा टीभीमा हिन्दी फिल्म हेर्दाहेर्दै थोरबहुत हिन्दी भाषा बुझ्ने भएकी थिइन् । तर, बोल्न जान्दिन थिइन् ।
उनले हिन्दी भाषा सुनेर आफू भारत आएको अनुमान लगाइन् । उनलाई लगेको ठाउँमा अरू ठिटीहरू पनि थिए, तर ती केटी को थिए, कहाँका थिए, उनलाई थाहा भएन ।
एकजना मोटी आइमाई थिई । उसलाई सबैले ‘अम्मा’ भन्थे । चौथो मान्छेले ‘आज से अम्मा तेरी मालकिन है । तँु अम्माके घरमे काम करेगी’ भन्दै त्यहाँबाट निस्कियो ।
दुई दिनपछि उनलाई महँगो सारी र शृंगार गर्न लगाइयो । उनले हाँसीखुसी शृंगार गरिन् । उनलाई लाग्यो, मालिकनी धनी भएकीले होला उनलाई राम्रो लुगा र शृंगारका सामान दिइएको ।
शृंगारले सजिएकी नथरीलाई जब एउटा कोठामा अम्माले धेकेलेर बाहिरबाट थुनिन्, बल्ल मात्र उनले आफूसँग कुनै अनर्थ घटना भएको अनुमान लगाइन् ।
उनले झलझली बच्चीलाई सम्झिइन् । बच्ची पनि आफूजस्तै गलत मान्छेको हातमा परेकी त छैन् भनेर मनमा शंका लाग्यो ।
एकजना शरदबाबु थियो, उनीकहाँ आउने । शरदसँग एकजना ठिटो आउँथ्यो । त्यो ठिटोको नाम रघुनन्दन थियो । रघुनन्दन उनलाई धेरै सरल लाग्थ्यो ।
उनीकहाँ आउने कुनै मान्छे मन परेन । तर, रघुनन्दन उनलाई मन पर्न थाल्यो । रघुनन्दनको बायाँपट्टिको गालामा डिम्पल बस्थ्यो ।
फराकिलो निधार, चौडा अनुहार, लामो नाक, गोरो, मझौला कद, मिलेका आँखा, घना तर छोटा कपाल, राता ओठ, दारी, जुँगाको रेखा प्रस्ट देखिने रघुनन्दनलाई उनी मनमनै मन पराउन थालिन् ।
उनीकहाँ जतिजना पुरुषहरू आए पनि उनले कसैमा मानवता देखिनन् । सबैमा जनावरको व्यवहार देखिन् । तर, शरदसँग आउने रघुनन्दनलाई कहिले पनि कोही ठिटीको कोठीमा गएको उनले देखिनन् ।
अम्माको छेउमा बसेर रघुनन्दन किताब पढिरहन्थ्यो । उनलाई अम्माले जिस्काएर भन्थी, ‘लडकीयाँ तुझे पसन्द नही है तों तु क्यू इधर आता है रे ?’
उनी अम्माको जवाफ सुनेर मुसुक्क हाँस्दै भन्थे, ‘शरद मेरो साथी हो । म उसैको साथी भएरै आउँछु ।’
उसको जवाफ सुनेर अम्मा भन्थी, ‘तँ केटा होस् कि हिजडा ? केटीहरू देखेर तिमीलाई केही हुँदैन ?’
‘म धेरै पढ्न चाहन्छु, अम्मा ।’
‘पढेर केही हुनेवाला छैन । जिउनु छ त मर्द बनेर जिउनु । मर्द बन ।’
अम्माको जवाफ सुनेर ऊ मुसुक्क हाँस्थ्यो ।
उनको यही हँसाइ र इमानदार बानीले नथरीले उनलाई मनमनै मन पराउन थालिन् । एक दिन अम्मा नभएको मौका छोपेर उनले रघुनन्दनलाई हिन्दीमा भनिन्, ‘म नेपालकी हुँ । तपाईंले मलाई सहयोग गर्नुस् । मलाई नेपाल पठाउनमा मद्दत गर्नुस् । तपाईंजस्तो मानिस कहाँ भेटिन्छन् र यहाँ । तपाईं अलग किसिमको हुनुहुन्छ । राम्रो हुनुहुन्छ । सुन्दर हुनुहुन्छ ।’
कुरा सुनेर रघुनन्दनले उनको अनुहारमा एक छिन हेरिरहे । सायद, उनको अनुहारमा रघुनन्दनले छटपटी, पीडा, त्यहाँको वातारणले वाक्क भएकी एक निर्दोष नेपाली ठिटीलाई देख्यो । उनले भने, ‘ये काम तो मुस्किल है । लेकिन मै प्रयास करके देखता हुँ ।’
जवाफ सुनेर नथरीको मनमा नेपाल फकिर्ने झिनो आशा पलायो । त्यहाँबाट निस्किने बेला रघुनन्दनले उनलाई साउतीमा भने, ‘आइतबार रेलवे स्टेसननजिकको पान दुकानमा चार बजे आउनू । म केही व्यवस्था गर्छु । अरूलाई केही नभन्नू ।’
यति भन्दै उनी निस्किए । कुरा सुनेर नथरीलाई रघुनन्दनमाथि विश्वास गरूँ कि नगरूँ भन्ने भयो । तर, एकपल्ट विश्वास गरेरै हेरूँ भन्ने विचारमा उनी दृढ भइन् ।
आइतबार शृंगारको सामान किन्ने बहानामा साथीहरूसँग निस्किइन् । भिडमा साथीहरूसँग छुट्टिएर रघुनन्दनले बोलाएको पान दुकानछेउमा गइन् ।
रघुनन्दन त्यहाँ पहिलादेखि नै बसिरहेका थिए । उनलाई देख्नेबित्तिकै रघुनन्दनले इसारा गरे, ‘मेरो पछिपछि आऊ’ । रघुनन्दनको पछिपछि लागिन् नथरी ।
उनी जतिजति हिँडिरहेकी थिइन्, उनको मनमा शंका र खुसी दुवै उब्जिरहेको थियो । उनीसँग फेरि धोका हुन्छ वा यो नर्कबाट छुटकारा मिल्छ, उनी दोधारमा थिइन् ।
उनी पछि लागेर रघुनन्दनसँगै ट्रेनमा बसिन् । कति घण्टा लाग्यो, उनले चाल पाइनन् । उनी निदाइसकेकी थिइन् । ट्रेन रोकिएपछि नै उनको पनि आँखा खुल्यो ।
रघुनन्दनले उनलाई भने, ‘हामी दिल्ली आइसकेका छौँ । मेरो घर नोयडामा छ । मेरे घर हिँड । पछि तिमीलाई नेपाल पठाइदिन्छु ।’
उनी टाउको हल्लाउँदै रघुनन्दनको पछि लागिन् । बसमा चढिन् । रघुनन्दनको घर पुग्दा मध्यरात भइसकेको थियो ।
रघुनन्दनसँग केटी आएको देख्दा उसका बा–आमाले शंका गर्दै सोधे, ‘ये लडकी कौन है ?’
उनले भने, ‘नेपालबाट आएकी हो । आफ्नो बा–आमासँग घुम्न
दिल्ली आएकी थिई । हराइछ !
उसको कुरा सुनेर आमाले भनिन्, ‘तो तूँ क्यू लेकर आया ? इसको पुलिस के पास ले जाना चाहिए था ।’
रघुनन्दनले बा–आमाको कुरालाई बेवास्ता गर्दै भने, ‘कल इसको नेपाल भेजना है । सहयोग कर रहा हुँ ।’
रघुनन्दनको कुरा सुनेर नथरीको मनमा रघुनन्दनप्रति झन् प्रेम र सम्मान बढ्यो । पहिलेभन्दा पनि बढी मनमनै प्रेम गर्न थालिन् ।
रघुनन्दनको घरमा उनकी सानीआमा घुम्न आएकी थिइन् । रघुनन्दनको कुरा सुनेर सानीआमाले नथरीलाई सोधिन्, ‘तेरा घर नेपाल मे कहाँ है बेटी ?’
उनले जवाफ फर्काइन्, ‘लहानमे ।’
लहानको नाम सुनेर उनकी सानीआमाले खुसी हुँदै भनिन्, ‘अच्छा, लहानमे ! जहाँ पर आँखका अस्पताल है ।’
‘हाँ, वहीँ पर मेरा घर है ।’
उनको कुरा सुनेर रघुनन्दनकी सानीआमाले रघुनन्दनलाई भनिन्, ‘यसलाई मसँगै दरभंगा पठाइदे, बेटा । हाम्रो गाउँका मानिस पनि उपचारका लागि लहान जाने गरेका छन् । तिनीहरूसँगै यसलाई म घर पठाइदिन्छु ।’
रघुनन्दनका बा–आमाले उनको सानीआमाको कुरामा सहमति जनाए । तर, रघुनन्दन दोधारमा थिए । नथरीले रघुनन्दनको अनुहार हेरिन् । रघुनन्दनले इसारा गर्दै ढुक्क भएर बस भन्ने संकेत गरे ।
उनी दुई दिन रघुनन्दनको घरमा बसिन् । उनका बा–आमाले उनलाई छोरीजस्तै माया र हेरचाह गरे ।
उनका बा–आमाले विचार गरे, रघुकी सानीआमासँगै पठाउनु राम्रो । उनको गाउँका मान्छे पनि सिधै नथरीको गाउँ जान्छन् ।
पछि रघुनन्दनले पनि बा–आमाको कुरामा स्वीकृति जनाए । दुई दिनपछि जब रघुनन्दनसँग छुट्ने बेला भयो । नथरीका गह भरिए । उनी रघुनन्दनसँग एकतर्फी प्रेममा परिसकेकी थिइन् ।
उनलाई लाग्यो, रघुनन्दनलाई आफ्नो मनभित्र भएको प्रेम व्यक्त गरेर यहीँ घरजम गरेर बसूँ । तर, उनले निर्दोष रघुनन्दनलाई यो सबै बताउन सकिनन् । उनले आफू घर फर्किने उद्देश्य सम्झिइन् ।
बा–आमासँग भेट्न उनी लालायित थिइन् । उनले रघुनन्दनलाई केही बताइनन् । रघुनन्दनले पनि उनलाई मन पराउथे वा मन पराउँदैनथे, उनलाई थाहा भएन । मन नपराएको भए किन उनलाई सहयोग गर्थे र ?
दया भावले पनि त सहयोग गर्न सक्छन् भन्ने सोचेर उनले रघुनन्दनलाई केही बताइनन् । छुट्ने बेलामा उनले रघुनन्दनको आँखामा हेर्न सकिनन् । उनको खुट्टातिर हेर्दै दुई हात जोड्दै धन्यवाद भनिन् ।
रघुनन्दनले एउटा कागज दिँदै भने, ‘घर पहुच जाओगी तो मुझे फोन करना । ये मेरा नम्बर है ।’
रघुनन्दनकी सानीआमाले उनलाई दरभंगा लिएर आइन् । उनी रघुनन्दनकी सानीआमाको घरमा दुई दिन बसिन् । उनकी सानीआमाले लहान आँखा अस्पतालमा आँखा जँचाउन जाने मान्छे गाउँभरि खोजिन् ।
करिब १० जनाको समूह लहान आउन लागेको रहेछ । रघुकी सानीआमाले नथरीलाई त्यही समूहका मान्छेको जिम्मा लगाउँदै लहान पठाइन् ।
जब बस लहानमा रोकियो, उनले आफ्नो गाउँठाउँ चिनिन् । टेलिफोन पसलेलाई कागज दिँदै रघुनन्दनलाई फोन लगाइदिन अनुरोध गरिन् ।
उनले फोनमा कुरा गर्दै आफू सकुशल गाउँ पुगिसकेको रघुलाई जानकारी गराइन् । उनको कुरा सुनेर रघुनन्दन औधी खुसी भए ।
उनी टेम्पो चढेर गाउँ आइन् । गाउँनजिकै बजार बनिसकेको थियो । पुराना घर पक्की घरमा परिवर्तन भइसकेको थियो ।
उनी खुसी हुँदै आफ्नो घरको आँगनमा प्रवेश गरिन् । आँगन सुनसान थियो । उनको माटोको गारो, खरको छाना भएको दुईवटा घर थियो । घर कुप्रो परिसकेको थियो । गरा घरबाट छुट्टिइसकेको थियो ।
घरसँग छुट्टिएको गारोबाट घरभित्रका माटाका भकारी र भाँडाकुँडा प्रस्टै देखिन्थ्यो । आँगन र आँगनमा भएको चुलोमा घाँस उम्रिसकेको थियो । ओसरा र आँगनमा गड्यौलाहरूले माटोको भुरभुरी पारेका थिए ।
आँगनमा घाँस उम्रिएको देखेर घरमा कोही नबसेको उनले अनुमान लगाइन् । घरको ढोकामा सानो ताल्चा झुन्डिएको थियो । ताल्चामा खिया लागिसकेको थियो । आफ्नो घर सुनसान देखेर दौडिँदै उनी काकीको घर गइन् ।
काकीको घर जाँदा काकीबाट थाहा पाइन्, आर्थिक संकट झेल्दै भए पनि उनकी आमाले सबै बहिनीहरूको बिहे गराइसकेकी थिइन् । गाउँभरि हल्ला थियो, ‘नथरी मालिकको घरबाट भागी । भागेर बम्बईमा आफ्नो इच्छाले वेश्या बनेकी छ ।’
उनकी आमा नथरीकै पिरले बितिन् । बा सिकिस्त भएर माइलो ज्वाइँले बुईमा बोकेर आफ्नो घर लगे । बा उतै माइलीको घरमा नै बिते ।
यो सुनेर उनी भावुक भइन् । उनको अवस्था बुझ्ने उनका बा–आमा नै नभएकोमा भक्कानो छुट्यो । उनले आफू एक्लो भएको अनुभव गरिन् ।
उनले काकीबाटै यो पनि थाहा पाइन्, उनीसँगै काम गर्न गएकी बच्ची पनि कोठीमा बेचिएकी थिइन् । बच्ची कोठीबाट भागेर घरजम गरेर भारतको मथुरामा बसिरहेकी छे । दुईजना छोरा छन् । समय–समयमा बा–आमालाई भेट्न गाउँ आउँछे ।
बच्चीबारे सुनेर उनले मनमनै भनिन्– उसलाई बेच्ने मान्छेलाई बच्चीले किन सजाय दिइन ? के उसले बदनाम हुने डरले कसैलाई केही भनिन ?
उनले काकीलाई अरू केही सोधिनन् । सिधै घर फर्किइन् । घर आएर एउटा पत्थरले ताल्चामा हानिन् । ताल्चा फुट्यो । ढोका खोलेर घरभित्र छिरिन् ।
घरमा माटोको भकारीमाथि खुकुरी थियो । खुकुरी लिएर सम्पैतको घाँटी छिनाल्छु भनेर निस्किन् । उनी सम्पैतको घर गइन् । बेलीवाली सम्पैतकी स्वास्नी थिइन् । उनको घर गएर बेलीवालीलाई सोधिन्, ‘काकी, कका कत छौ ? आइके घेच नै काइटके नै छोरबै ।’ (काकी, काका कहाँ हुनुहुन्छ ? आज घाँटी नरेटी छोड्दिनँ ।)
बेलीवाली काकीले उनलाई चिन्न सकिनन् । खुकुरी बोकेर आवेगमा रहेकी नथरीलाई सोधिन्, ‘तोहे के चिही ?’ (को होस् तँ ?)
‘हम नथरी ।’ (म नथरी ।)
‘ऊ बसके ठोकर लाइगके मरेला दू वरीस भ्यागेलै ।’ (उनी बस दुर्घटनामा बितेको दुई वर्ष भइसक्यो ।)
‘कका हमरा बम्बईके कोठीमे बेचने छेलै ।’ (काकाले मलाई बम्बईको कोठीमा बेचेका थिए ।)
उनको कुरा सुनेर बेलीवालीले रिसाउँदै भनिन्, ‘वेश्या ! हमर घरवलाके दोष नै लगा । अतसे निकल (वेश्या ! तँ मेरो लोग्नेलाई दोष नदे । यहाँबाट निस्की ।)
काकीले काकाको पक्ष लिएको देखेर उनी काकीलाई नै छप्काउन गइन् । उनी ज्यान जोगाउँदै त्यहाँबाट भागिन् । र, भाग्दै भनिन्, ‘हमर घरवलाके दोष नै लगा । तोरा नै छोरबौ हम ।’ (मेरो लोग्नेलाई दोष नलगा । तँलाई छोड्ने छैन म ।)
उनी निराश थिइन् । आफूले न्याय नपाएकोमा धेरै दुःखी थिइन् । घरपछाडिको आँपगाछीमा सम्पैतलाई जलाइएको कुरा टोलकै भाउजूबाट थाहा पाइन् ।
उनी आँपगाछी गइन् । गाछीमा सम्पैतको सरा (लास जलाएपछि बनाइएको माटोको ढिस्को) थियो । सरामा खुकुरीले छप्काइन् । र, छप्काउँदै सम्पैतको सरा भत्काइन् ।
सम्पैत जिउँदो भइदिएको भए टुक्रा–टुक्रा गरेर चोक्टा बनाउँथिन् ।
उनी घर फर्केको सुनेर उनका बहिनीहरू उनलाई भेट्न आए । उनले बहिनीहरूलाई र गाउँलेलाई आफू बेचिएको सारा वृत्तान्त बताइन् । सबै सम्पैतलाई गाली गरिरहेका थिए ।
उनले बहिनीहरूसँग रातभरि सुख–दुःखका कुरा गरिन् । नथरीले न्याय नपाएकामा उनका बहिनीहरू पनि दुःखी थिए ।
उनको गाउँका मान्छे भारतको लौकहा बजार नुनतेल किन्न जान्थे । लौकहा बजार नेपाल र भारतको सीमामा पर्छ । त्यहाँ सस्तोमा सामानहरू पाइन्थ्यो ।
त्यहाँबाट खुलेआम नेपालका मान्छे भारत र भारतका मान्छे नेपाल प्रवेश गर्थे । नथरीका सबै दिदीबहिनी भोलिपल्ट झोला बोकेर लौकहा गए । त्यहाँबाट उनीहरू ट्रेन समातेर दुई दिनमा बम्बई पुगे ।
नथरीलाई राखिएको कोठीभित्र चारै दिदीबहिनी सारसर छिरे । भित्र छिरेर अम्माको सुरक्षामा तैनाथ दुईजना केटाहरूलाई नथरीका बहिनीहरूले समातेर हात अँठ्याएर बाँधे । मुखमा टेप टाले ।
उनीहरूले घरबाट झोलामा रस्सी, टेप, खुकुरी र हँसिया लगेका थिए । केटाहरूलाई बाँधेको देखेर भर्याङबाट ओर्लिँँदै गरेकी अम्माले नथरीतिर हेर्दै भनी, ‘के गरिरहेकी छस् ? यी केटीहरू को हुन् ? यतिका दिनदेखि तँ कहाँ हराएकी थिइस् ?
उसको कुरा सुनेर नथरीले जवाफ फर्काइन्, ‘तेरी मा को लेने गई थी । आज से तेरा धन्दा बन्द ।’
उनका अंगरक्षकहरूलाई बाँधेको देखेर अम्मा भाग्न खोजिन् । भाग्न खोज्दा चारैजना दिदीबहिनी मिलेर अम्मालाई समातेर मुखमा टेप टाले । हात अँठ्याएर खामोमा बाँधे ।
माइली र साइँलीले हँसिया देखाउँदै बाँधिएकी अम्मा र उनका अंगरक्षकको निगरानी गरिरहेका थिए । नथरी र कान्छीले कोठीका सबै ढोका ढकढकाउँदै ‘तुम लोग आजसे आवाद हो, अपने अपने घर जाऊ’ भन्दै सबै कोठीको ढोका खोल्न लगाए ।
केटीहरू कोही ग्राहकसँग सुतिरहेका थिए । कोही लुगा लगाउँदै थिए । कोही शृंगार गर्न व्यस्त थिए । कोही यतिकै बसिरहेका थिए । नथरीको कुरा सुनेर ग्राहकसँग सुतिरहेका केटीहरू ग्राहकलाई गाली गर्दै बाहिरिए ।
कोठीमा २२ जना केटीहरू थिए । सबै केटीहरूले नथरीको झोलामा भएको हँसिया र खुकुरी झिके । हतियार बोकेर अम्मा र उनका अंगरक्षकलाई घेराउ गरे ।
केटीहरूको रौद्र रूप देखेर अम्मा र उनका अंगरक्षक डरले लगलग कामिरहेका थिए ।
कोठीमा भएका केटी र तिनका बहिनीहरूले अम्मा र उनका अंगरक्षकको घाँटी रेट्नुपर्छ भने, तर नथरीले हत्या गर्ने अनुमति दिइनन् ।
नथरीले बहिनीहरूको सहयोगमा सबै केटीहरूलाई कोठीबाट मुक्त गराइन् । केटीहरू खुसीले हतारिँदै कोठीबाट निस्किए । आ–आफ्ना घर फर्के ।
नथरी र उनका बहिनीहरू पनि अम्मा र उनको अंगरक्षकलाई मुखमा टेप टालेर हातखुट्टा बाँधिएकै अवस्थामा छोडेर निस्के । भोलिपल्ट कोठीबाट तीनजनाको शव निकाले ।
नथरी धेरै दिनदेखि बिरामी परिरहेकी थिइन् । ज्वरो आउने, पखाला लाग्ने र ओठमा खटिरा देखिन्थ्यो । उनका बहिनीहरू उनलाई लिएर अस्पताल गए । अस्पतालमा रगत परीक्षण गर्दा थाहा भयो, उनलाई एड्स लागिसकेको रहेछ ।
एड्स कस्तो रोग हो उनलाई थाहा छैन । डाक्टरले भने, ‘यो रोगको उपचार छैन ।’
उनी निराश छिन् । कुप्रो परेको घर र गारो भत्केको भित्ता हेरेर टोलाउँछिन् । टाढा–टाढा हेर्दै उनका आँखा रसाउँछन् । आफ्नै अतीत सम्झेर झस्किन्छिन् ।
कसैले अचानक उनलाई स्पर्श गर्यो भने उनी तर्सिन्छिन् । रघुनन्दनलाई सम्झेर उनी मनमनै खुसी हुन्छिन् । घरको जस्तै उनको अवस्था पनि जीर्ण छ । उनलाई बेच्ने अत्याचारीप्रति उनको मनमा अझै क्रोध उत्पन्न भइरहन्छ । baarakhari
प्रतिकृया दिनुहोस्