April 18, 2025, Friday
२०८२ बैशाख ५

डढेलो नियन्त्रणका लागि उपभोक्ता एकजुट

बुटवल– वनलाई डढेलोबाट जोगाउन पाल्पाको तिनाउ गाउँपालिकाका सामुदायिक वनका उपभोक्ताहरु एकजुट भएका छन् । गाउँपालिकाका ८७ वटा सामुदायिक वनमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना फैलाउँदै उनीहरु एकजुट भएका हुन् ।

सबै वनहरुको साझा संस्था सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले दोभानमा डढेलो नियन्त्रण सम्बन्धी वृहत आमसभा गरी खडेरीको समयमा लाग्ने डढेलो नियन्त्रणका लागि सबै उपभोक्तालाई सचेत गराएका हो । आमसभामा बोल्दै लुम्बिनी प्रदेशका वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले डढेलो नियन्त्रणका लागि पूर्व तयारी र सचेतना आवश्यक रहेको बताए ।

Advertisement

उनले समन्वय समितिले गरेको कामको प्रशंसा गर्दै उपभोक्ताको सक्रियताले वनमा डढेलो नियन्त्रणमा सहयोग पुग्ने जनाए । वनमा लाग्ने डढेलोले जमिन, जंगल र जनावरको क्षति हुने भएकाले उपभोक्तालाई सचेत रहन उनले आग्रह गरे ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवालीले वनको विकासमा डढेलो ठूलो बाधक भएको बताउँदै हुरीबतासको मौसम शुरु भएसंगै वन–जंगलमा फेरि डढेलो लाग्न थालेकोले उपभोक्ताले सक्रियता बढाउनु पर्ने बताए । ज्ञवालीले कार्यक्रम बनाउँदा उपभोक्ताको हित र आयआर्जनसंग जोड्ने गरी ल्याउने जनाए ।

उनले चैत महिना सुरु भएसंगै सुख्खा बढ्ने हुनाले प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने बताउँदै उपभोक्ताले ख्याल गर्नुपर्ने बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाले सबै वनहरुसँग समन्वय गरी डढेलो नियन्त्रणका लागि काम गरिरहेको जनाए । डढेलोबाट वनलाई जोगाउने तयारी भने कमजोर रहेकोले वर्षेनि अमूल्य वनस्पति र वन्यजन्तु नास हुँदै गएकोले सबै सचेत हुन आवश्यक रहेको उनले बताए । उनले तिनाउ गाउँपालिकालाई हरित तिनाउ बनाउने गरी काम गरिरहेको जानकारी दिए ।

सामुदायिक वन समन्व्य समिति तिनाउ पाल्पाका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरूङले जल, जमिन, जंगल र जनावरको संरक्षण अहिलको दायित्व रहेको बताए । सामुदायिक वन समन्व्य समिति तिनाउ पाल्पाका अध्यक्ष पदमलाल श्रेष्ठले डढेलो नियन्त्रण शतप्रतिशत झार्न नसके पनि कम्तीमा ५० प्रतिशतमा झानुपर्ने बताए । उनले वन जोगाउँदा बन्यजन्तु बढेको र बन्यजन्तुले उपभोक्तालाई दुःख दिएको बताउँदै राज्यले वन्यजन्तुबाट मानिस र अन्नवाली जोगाउने गरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, महेन्द्र पाण्डे, कृष्ण रेग्मी उपभोक्ता सीताराम सोमरे कुमारी खड्का, दिनेश जिसी लगायतले बोल्दै उपभोक्ताको समस्या समाधनमा सरोकारवाला निकाय गम्भिर नभएकाले क्षति व्यहोरिरहन परेको गुनासो गरे । उपभोक्ताले सबै एकजुट भएर डढेलो नियन्त्रणमा काम गर्ने प्रतिबद्धता जनाए ।