May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

बुटवलमा अर्कैको नाममा परीक्षा दिने चारजना पक्राउ

बुटवल– सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने नक्कली परीक्षार्थी बुटवलमा पक्राउ परेका छन् ।

Advertisement

अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने उनीहरु पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उदयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र सोही ठाउँका १९ वर्षीय महिप बर्मा छन् ।

पक्राउ परेका ४ जनालाई सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ढगबहादुर केसीले जानकारी दिए ।