March 22, 2025, Saturday
२०८१ चैत्र १०

आधा पुरुष !

हरेक मान्छे सुनिदिनुपर्ने, पढिदिनुपर्ने कथा रहेछ । कागजका सेता पानामा लेखिएका पात्रहरू मात्र कथा होइन रहेछ । लेखिन बाँकी हरेक मान्छे कथाको साँचो पात्र रहेछ । उसले भनेको र मैले सुनेको उसको कथा—     

मलाई वास्तवमा के भइरहेको थियो आफैँलाई पनि थाहा थिएन । सोचेर बस्न पाए अनि मनमा भएका कुराहरूसँग घोरिन पाए पुग्थ्यो । जिउलाई थिचेर बस्दा केही आराम भएजस्तो लाग्थ्यो । उठेर कतै हिँड्न परे कुदेर सास मुखबाट नआँटी आओस् र आन्द्राभुँडी नै निक्लियोस्जस्तो हुन्थ्यो ।

Advertisement

कुनै कुरा सामान्य भएको मन पर्दैन थियो । कपाल समातेर झुल्थेँ, तर एक छिनमा कपाल नै उखेलूँ पनि लाग्थ्यो । जिउ हेर्थेँ अनि तिघ्राको मासुमा नङ गाड्न मन पर्थ्यो । त्यो सेतो फिलामा उम्रेका कैला–कैला मसिना रौँहरूका ढोपमा औँला घोच्न मन पर्थ्यो ।

हातमा पालेर राखेको नङ एकै छिनमा काटेर ठुटो पारिदिन्थेँ, खुसी लाग्थ्यो हेरेर । आफैँलाई मनपरी के–के, के–के गरिरहन पाए आनन्द हुन्थ्यो ।

आफ्नो जिउसँग के भएर हो खासै मोह थिएन । जिउका कति ठाउँहरू हेर्दा भएजति सबै रिस थुरेर आउँथ्यो । घृणासिवाय अरू क्यै सोच्न सक्दिन थिएँ । त्यै घृणामा म बाँच्ने हिम्मत पाउँथेँ ।

आफ्नो जिउ हेरेर कुनि किन हो, आफैँलाई नसुहाएको जस्तो अप्ठेरो लाग्थ्यो । छाती किन भुक्क माथि उठिबस्छ सधैँ, यसलाई गलाएर छातीमै लिपाउन सकिँदैन ! यो यति माथि किन उठेको होला ?

भएको कपडालाई बेरेर छातीको बीचको खाल्टामा थुपारेर मैदान बनाउन चाहन्थेँ । जिउ सबै गिलो लाग्थ्यो । यसलाई निचोरेर कठोर पार्ने कुनै उपाय पो छन् कि ! वास्तवमा आफ्नो मनको कुन आग्रहले जिउको उपस्थिति चाहँदैन थियो ।

जीवन थाक्दै जाँदा आएको उदासी पनि होइन यो । जीवन थाकेकै कहाँ थियो, थाकोस् कसरी ! बाँच्दै जाँदा भोग्न पाएको आवश्यकता भन्दा पनि लागेको चाहले सताएको अरू नै के हो ।

जीवन थाक्नु भनेको त आशा मारेर आधा बाँच्नु हो । के म आधा बाँचेर आधा नै मान्छे भइरहेको थिइनँ ! होइन–होइन म पूरै थिएँ, मनले यै भन्थ्यो ।

मलाई जति मनको विश्वास छ यस दुनियाँको छैन । मेरा लागि दुनियाँ भनेको मान्छे र मन होइन । दुनियाँ भनेको मेरा बा हुन् ।        
०००
म बच्चो थिएँ, घरमा म र बा मात्र थियौँ । बा नै मेरा लागि सबै थोक थिए । बाबाहेक अरू सोच्न पनि सक्दिन थिएँ । मामु कस्ती थिइन् थाहा छैन मलाई । बाले भन्नुभएको, मामुलाई बिहे गरेर घर ल्याउँदा तिनले सत्र पुगेर अठार मात्र टेकेकी थिइन् अरे !

म मामुको अनुहार राम्ररी थाहा पाउँदिनँ । अहिले मामुलाई सम्झिँदा फोटोमा देखेको अनुहार एकै छिन पर्खिनुपर्छ । सायद, नदेखेर होला याद निकै कम आउँछ मामुको । आँखाले नदेखेसम्म माया पनि नबस्दो रहेछ ।

फोटोमा देखेको मामु त मेरा लागि कल्पना मात्र न हो । तर, अहिले धेरै मिस गर्छु । मान्छे जति हुर्किंदै जान्छ उसलाई मामु चाहिँदो रहेछ । बाले मामु मरेपछि अर्की मामु ल्याउनुभयो ।

त्यसमा बालाई फरक परेन । कारण, बाका लागि दुवै ओछ्यान समान थियो । क्षणिकका निम्ति तातो अँगालो काफी थियो ।

तर, मेरा लागि त्यो अँगालो र त्यो ओछ्यान समान थिएन । यसैले बाले फेरि दोस्रो बिहे गरेर घर उज्यालो बनाएपछि अँध्यारो कालो छायाले मलाई विस्तारो पछ्याउन थालेको थियो ।

घरमा भाइको रहर बालाई सबैभन्दा बेसी थियो । मनले त्यस बेला एउटै कुरा मात्र सोच्थेँ– म भाइ भएर किन जन्मिनँ ? धमिलो याद छ, कोही–कोही बेला बाले घरमा भाइ भनेर बोलाउँदा म लजाउँथेँ ।

मलाई भाइ भन्दा बाका अनुहार रमाउँथ्यो । ओठमाथिका रौँ ठाडा पर्थे । बाले दसैँमा सधैँ नयाँ सर्ट–प्यान्ट किनिदिनुहुन्थ्यो । त्यै प्यान्ट–सर्ट लाएर तिहारमा म देउसी खेल्न घर–घर पुग्थेँ ।

भाइटीकाको दिन बाले मलाई फुपू पर्नेको घरमा लानुहुन्थ्यो । म पनि बालेजस्तै टीका–माला लाउँथे । छिमेककी छोरीले यस दिन उसका बा र काकाहरूलाई तामाको लोटाबाट दूध र पानी सारेर खुवाउँथी ।

बा र काकाले त्यसलाई गोडामा शिर छोएर ढोग्थे । त्यसलाई पैसा दिन्थे । त्यससित त्यो दिन धेरै पैसा हुन्थ्यो । तर, बाले मलाई कैल्यै त्यसो गराउनु भएन । उल्टै टीका लाएर ‘फुपूलाई यो पैसा दिनू’ भनेर मेरो खल्तीमा पैसा कोचिदिनुहुन्थ्यो । आफूले त्यति धेरै पैसा फुपूलाई दिनु पर्दा मनै खिन्न हुन्थ्यो ।

छोटो बुथुरे पारेर घरमै बाल काटिदिनुहुन्थ्यो बाले । नङ बढाएर राख्न मन पर्थ्यो, तर स्कुलमा दिँदैन भनी बा आफैँले मुडाएर ठुटो पारिदिनुहुन्थ्यो ।

कुनै कुनै दिन त मलाई भाइ भनेर बाले एक छिन छातीमा टाँस्दा जुन मायाको अनुभूत गर्थेँ, त्यो बिर्सन कहाँ सक्छु । बाल्यजीवनको सत्यता यै थियो, तर किशोर हुँदै गएपछि यथार्थ फरक बन्दै गयो ।

बाले दोस्रो बिहे गरेर घर ल्याएपछि मेरो ओछ्यान साटियो । काखी खोसियो । बाको काखीबाट आउने पुरुष गन्ध नाकमा फेरि–फेरि परेन । कैले–कैले बा नजिक हुँदा त्यो पुरानो काखीको गन्धमा स्वास्नीमान्छेको गन्ध मिसिएर आउँथ्यो ।

त्यै बेलादेखि मैले स्वास्नीमान्छेको गन्ध पनि थाहा पाएँ । बा र सानीमामुको गन्धलाई पचाउने अभ्यास हुँदै गए पनि मलाई भने आफ्नो शरीरको गन्ध कस्तो थियो, कति सम्झिँदा पनि पछि नाकमा त्यो गन्ध आएको थाहा पाउँदिनँ ।

आफ्नो ओछ्यान र बाको काखी कसैले खोसेपछि मलाई त्यस कुराले औधी सताउन थालेको र स्वास्नीमान्छेसँग घृणा जाग्दै आएको कुरो याद छ । भाइ बन्छु भन्ने कटिबद्धता त्यै बेला मनमा अंकुुरिएको रहेछ ।

बाकी दोस्री स्वास्नीलाई मैले कहिलेदेखि मामु भन्न थालेँ, थाहा भएन । मसँग मामु र बा जीवनधात्री हुन् भन्ने संज्ञान भएपछि फेरि मैले बाकी सानीलाई कसरी मामु भन्न सकेँ होला !

मैले यसरी अचेतनमा बाकी सानीलाई मामु भन्न थालेपछि मेरो चेतनले उही बाकी सानीलाई अपनाउनु सक्नु नै मेरो जीवनको चुनौती थियो ।

ऊ बेलादेखि नै म एकोहोरो बन्न थालेको रहेछु । म नटेर्ने, अलिक अरूहरूभन्दा बेग्लै हुनाले प्रायः खेल्ने साथीहरू पनि थिएनन् ।

सानोमा बाले भन्नुभएको गाउँमा झन्डै मजस्तै मान्छे थियो अरे ! त्यो मान्छे गाउँबाट एक दिन आफैँ हरायो अरे ! कुनि किन त्यो मान्छेको कुरो गर्न दिनु हुन्नथ्यो बाले घरमा ।

‘त्यो मान्छेजस्तो नहुनू’ बाले मलाई सानो हुँदा सधैँ भन्नुहुन्थ्यो । मलाई बाको कुरा सुनेर त्यो मान्छेको कल्पना आँखामा आउँथ्यो, अल्गो, गोरो, बाल छोटाएको, नितम्ब केही माथि उठेको । छाती अल्गो–होचो दुवै ।

खस्रो हत्केला, नङ मासुमै लिपिएको । ओठमाथि र चिउँडोमा रौँ पलाएको । खुट्टामा गोलस्टार जुत्ता लाएको । फिलामा सर्प चढेको जस्तो नस माथि आएको ।

कम्मरमा खुकुरी । हात र खुट्टाका औँला क्यै लामो । कान छेडेको तर बुच्चो । आँखीभौँ मोटो । हिँड्दा लच्किएर हिँड्ने, बोल्दा लजाउँदै बोल्ने । के…के…’

बाले भनेको त्यो मान्छे मेरो कल्पनामा यसरी आउँथ्यो । अरू कुरा मलाई त्यसबारे केही थाहा थिएन । पछि कुनि किन सानीमामु कराउँदै भन्थिन्– अब यसले पनि नाक कटाउने भई ।

मामुको कुरा सुनेर पनि बा बोल्दैन थिए । मैले क्यै नराम्रो गरेको थिएँ हुँला र सानीमामुले त्यसो भनेकी हुन् । बाका आँखामा पनि मेरा लागि कुनै माया देख्दिन थिएँ । न सहानुभूति नै ।

मलाई देखेपछि बाको अनुहार अशान्त हुन्थ्यो । म गोली खेल्थेँ । खोपी खेल्थेँ । पौडी खेल्न कसैले भ्याउँदैन’थे मलाई । दाइभाइहरूले मलाई खुप सर्काउँथे । लाप्पा खेलाउँथे ।

मलाई जिउ नै ट्याप्प समाउने कपडा मन पर्दैन थियो । सानामा बाले नै ठूलठूला ह्वांग परेका सर्टहरू किनिदिनुहुन्थ्यो । अनि, प्यान्ट पनि । पछि गाउँमा के सुन्नुभो, पहिलोपल्ट कुर्ता–सुरुवाल किनेर ल्याइदिनुभो बाले ।

त्यो खुप संकोेचले लाएँ । दुई दिनजस्तो घरबाट निस्किनँ । स्कुल पनि गइनँ । ‘प्यान्टले नै सुहाउँछ तँलाई’ भन्थे कति त । हुन पनि काँधिँदै आएको जिउको भारीसँग त्यस्तो अस्पट लुगा लगाउनु पर्दा धेरै असजिलो हुन्थ्यो ।

म सानामा गाउँकै स्कुल जान्थेँ । एक दिन के कारणले हो, कक्षामा पस्नेबितिक्कै स्कुल छुट्टी भयो । हामी रमाएर घण्टी लाग्न नपाउँदै बाहिर कुद्यौँ ।

घर नपुग्दै बाटामा केही साथी जम्मा भएर माटाको गोटी खेलिरहेका रहेछन् । म नबोली हेरिरहेको थिएँ ‘ऊ केटा’ भनेर ओठ र चिउँडो सबै एकै ठाउँ थुपारेर इसारा गरी मतिर एउटीले ।

पछि फर्केर हेरेँ, तर पछाडि कोही केटा थिएनन् । रिसले मेरो कान रातो भयो । हुनसक्छ, यो उमेरसम्म आइपुग्दा मलाई कसैले केटा भनेको मन पर्दैन थियो ।

कसेर लात हानेँ, त्यसको मुखबाट रगत आएछ । बेलुकी घरमा त्यसका बा–आमा आएर मलाई जोडले हपारे । पछि बासँग के–के बात गरे, म कोठाँ’ छिरिहालेँ ।

राति बाले साह्रो कराएर भन्नुभयो, ‘भोलिदेखि मेरो पत्लुन लाएर हिँड् ।’ बाका कुराले मन हल्लियो ।

जति–जति मेरो ज्ञान हुर्कँदै आउन लागेथ्यो उति नै अनुहारमा बाको आकार मिसिन आएको पाएँ । र, बाको आँट र पुरुषत्वले आफ्नो पाखुरीमा पनि ओज दिएको भान भयो ।

यस्तो मनोदशा प्रतिदिन छिपिन्न थालेपछि बाका इन्द्रियहरू देखेर मलाई ईष्र्या लाग्नु स्वाभाविक थियो । म केही बोल्न सक्दिन थिएँ । सास थुनेर बस्थेँ । ऐले सम्झिँदा बा र मेरो ‘पर्सोना’ मिलेको रहेछ ।

घरमा बा–मामु नभएको बेला अनेक उपद्रो गर्न खुब आनन्द आउँथ्यो । गाउँका कतिजनाले मेरो उपद्रो देखेर ‘यो त केटा नै हो’ पनि भन्थे । अनि, कतिले ‘यसको…’ भनी खुब कुदाउँथे पनि ।

म भागेर रूखमा चढेर टुप्पो पुग्थेँ । मलाई पक्रिन सक्दैन थिए तिनीहरूले । अरूलाई हराउन सकेकोमा आफूलाई जितेको लाग्थ्यो । तर, त्यस बेला के थाहा मलाई जिन्दगी न हार हो न जित ।

पछि–पछि त बाले एकोहोरो लगाएर हेरिबस्नुहुन्थ्यो मलाई । बासँग आँखा गाँसिँदा आफैँलाई चाहिँ कस्तो पनि नलाग्ने । सानीमामुचाहिँ ‘यसलाई बिगार्ने तिमी पनि हो’ भनेर कराउँथिन् बालाई ।

यसरी सानीमामुको कुरा सुनेर बालाई पहिलोपल्ट दोषी लाग्यो । अनि, बाको दुनियाँ, समाज र संस्कारलाई पनि धिक्कारेँ । वातावरण त्यो बेला मान्छेभन्दा धेरै शक्तिशाली र समर्थ लाग्यो ।

संसारमा कोही पनि स्त्री–पुरुष भई नजन्मिँदो रहेछ । स्त्री र पुरुष त वातावरण र परिवेशले पो बनाउँदो रहेछ मान्छेको समाजमा । बाँचुन्जेल मान्छे आधा पुरुष, आधा स्त्री भएर बाँच्दो रहेछ । त्यै कारण हरेक मान्छे आधा पुरुष, आधा स्त्री रहेछ ।

सानीमामुले मलाई हेर्नसम्म मान्दिन थिइन् । मलाई हेर्ने सानीमामुको आँखा परम्परा, संस्कार र समाजको थियो । आमाको आँखा थिएन । मेरो जिउको गन्धमा ‘वासना छैन’ भन्थिन् ।

मलाई दिलमा घाउ लाग्थ्यो त्यो सुनेर । तर, आँखामा आँसु आउँदैनथ्यो पटक्कै । रुन सक्ने भए आँसुले मन धुन्थ्यो होला । म अरूजस्तै सलल पानीजस्तो बग्ने थिएँ, सायद ।

तर, परेलीको डिलसम्म आएको आँसुलाई भित्र कता लुकाएर म जम्न चाहन्थेँ । आखिर थिएँ नै म पुरानो परिभाषामा नअटाउने नयाँ परिभाषाको मान्छे !

म आफैँ यी सबै बनिरहेको थिइनँ, तर म भइरहेको थिएँ यस्तै नै । म बाको मनमा विरानो बन्दै गएँ, सानीमामुको मनबाट फालिएँ । गाउँमा मेरो दर्जा फरक भयो ।

सानीमामुले कैलेकाहीँ ‘केटी भएर केटीजस्तो बस्’ भनेर जोडले थर्काउँदा मनै बेरमाइलो लागेर आउँथ्यो । को केटी ? को केटा ? यै गह्रौँ प्रश्नले मनलाई थिचेर राख्थ्यो ।

मलाई समाजमा केटा–केटी भएर होइन, मान्छे मात्र भएर जिउने चाह थियो । तर, मान्छे भएर आफू बाँच्न नपाएको खेदले मन सेकिएको थियो ।

मनको भारी बिसाउने मेरो कोही थिएन । म एक्लो थिएँ । एक्लोपनले अझ मलाई एक्लो पार्दै ल्याएको थियो ।

सानीमामुको कुरा सुनेर त्यस दिनभरि नबोली घरै बसेँ । राति सुत्न कोठामा पसेपछि टाङमुनि घोप्टेर के–के हेरेँ । जिरो बल्बको पहेँलो उज्यालोमा ऐनाको अघि जिउ फर्काइ–फर्काइ हेरेँ । पहेँलो उज्यालोमा भुँडीको रङ पनि पहेँलो लाग्यो । अनुहार पनि पहेँलै । वरिपरि सबै पहेँलै ।

मनले अह्राएको मात्र आँखाले देख्दो हो । आँखाको त रङ हुँदैन रहेछ भनेर उही बेला मैले बुझेँ । त्यसपछि चिरा–चिरा परेको अनि सेता थुकको लर्को जामेर भुक्क उठेको बाग्लो आफ्नो ओठ छामेँ । त्यो सबै देखेर मलाई कस्तो पनि लागेन ।

तर, दुवै कान बज्यो । म एक्कासि मुख थुनेर थुचुक्क बसेँ । तातो हावा शिरदेखि पाइतालासम्म कसैले फुकेझैँ छोएर कुद्यो । छातीको ढुकढुक आवाज साह्रो–साह्रो कराएको बाहिरसम्म सुनेँ । यो अवस्था त्यसपछि पटक–पटक दोहोरिरह्यो । अनि त म जे हो त्यो म होइनजस्तो लाग्न थाल्यो ।

आफ्नो कथा आफैँले सुनाउनुजति कठिन केही हुँदैन रहेछ । उसले कथा बनाएर आफैँलाई भनिसक्दा ऊ जीवनभन्दा कोसौँ टाढो कल्पनाको मान्छे भएको थियो । 
(दार्जिलिङ) baarakhari