May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

प्रेम र परिभाषा

अब तिमीसँग मेरो भेटै हुँदैन
यसो भन्दिनँ म ।

Advertisement

भेट हुन्छ
कुनै फुलेको फूलमा
कुनै बगेको नदीमा
तारामा, जूनमा, गोधूलिमा
कहीँ न कहीँ भेट हुन्छ ।

तिमीलाई बिर्सने कुरा त कसरी सम्भव हुन्छ र !
मैले क्यानभासमा यादको रङले तिम्रै चित्र त कोर्ने हुँ
मैले रचना गर्ने कवितामा तिमी त हुने हौ  ।

माया गर्नेले हरपल सम्झिरहनुपर्छ भन्ने पनि छैन
नबिर्से पुग्छ
तिमीले मलाई सम्झिरहू पनि भन्दिनँ म
सक्छ्यौ भने बिर्स
मलाई कतै भेट्दा नचिनेझैँ गर ।

आकाशको जूनलाई पनि प्रेम गर्न सकिन्छ
म्वाइँ नखाए पनि, अँगाल्न नपाए पनि ।
तिमी अप्राप्य भएपछि म तिमीलाई अझ प्रेम गर्छु कि त !

म तिमीलाई जीवनभर प्रेमिका मान्न चाहन्छु
विवाहले प्रेमलाई नाजायज बनाइदिन्छ ।
मेरो विचारसँग असहमति राख्ने तिम्रो हक छ ।

अब तिमीसँग मेरो भेटै नहुन पनि सक्छ
कारण,
तिमीले प्रेमको परिभाषा खोज्न थालिछ्यौ
प्रेमको पनि कहीँ परिभाषा हुन्छ !

भेटै हुँदैन
यसो पनि भन्दिनँ म ।

baarakhari