March 22, 2025, Saturday
२०८१ चैत्र १०

फागु पर्व र यसको महत्व

होलीलाई सद्भावको पर्वका रूपमा लिइन्छ । यो एउटा रहर पूरा गर्ने अवसर हो, तर आफ्नो रहर पूरा गर्ने घुनमा अरूलाई पीडा दिनु हुँदैन । परम्पराअनुसार यो अबिरको पर्व हो । आपसी सद्भाव, मित्रता, माया र प्रेम अभिव्यक्त गर्ने महान् पर्व हो होली । यसरी हो चाडलाई हामी फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रंग छ्यापेर तथा अबिर दलेर नाच्ने गाउने गरी विभिन्न किसिमका रंगले एक अर्कोमा रमाइलो मनाउने उत्सव हो । यही उत्सवलाई फागु अर्थात् होली नामबाट चिनिन्छ । यसकारणले गर्दा होली भनेकै रंगको पर्व हो । 

यसरी ऋतु परिवर्तनसँगै आउने होलीको रंग पनि विभिन्न प्रकारका छन् । युवाहरूका लागि होलीले जति उमंग लिएर आउँछ, कतिपय महिलाका लागि यसले पीडा दिइरहेको छ । होलीको दिन सडकमा न्यून संख्यामा मात्र महिला देखिन्छन् । महिलालाई लक्षित गरेर रंग र लोला हाल्ने प्रवृत्ति भने केही वर्ष यति बढेको देखिन्छ । यस पर्वलाई फागु वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडमध्ये यो एउटा रमाइलो चाड हो । 

Advertisement

यस पर्व होलीका नामकी राक्षसलाई मारेको खुशीमा मनाइने पर्व भएकोले होली या फागु भनिएको हो भन्ने किंवदन्ती छ । यसरी होलीका मरेको उपलक्ष्यमा सवैले खुशीयाली मनाउन होली खेल्ने चलन सुरु भएको कुरा भविष्य पुराणमा उल्लेख छ । यसर्थ वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल र भारत लगायत देशमा गरी मनाउने गरेको पाइन्छ ।

नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष यही चैत ३ गते परेको छ । फागु पर्वले नयाँ उत्साह, जोस्, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्रभाव मैत्री र भाइचारा जगाउने गर्दछ । उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागु उत्सवको उष्कर्ष फागु पूर्णिमा नै हो । सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृति प्रेमीको यो सिंगो चाड हाम्रो तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । 

मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू-भाग र काठमाडौं उपत्यकालगायत पहाडी पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चिरदाह’ को रूपमा लिइन्छ । असत्यमाथि सत्यको विजय, कुण्ठा, इष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रूपमा लिइने यस पर्वलाई मिथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ । विशेषगरी युवापुस्ताको लागि रंगिन र जीवन्त यो महोत्सव होलिका महोत्सवले चिनिएको छ ।

हाम्रो यहाँ फागु पर्व विभिन्न नामले मनाइन्छ । फगुवा, होली, होरी आदि नामले मनाइने यो पर्वलाई रंगको उत्सव एवं आपसी सद्भावको महान पर्व भन्दा फरक पर्दैन । होली एवं फागु पर्व नेपाल र भारतमा मात्र नभएर विभिन्न रूपमा विश्वभरि नै धुमधामसँग मनाइन्छ । नेपाल र भारतमा भने एकै प्रकारले प्रेम, सद्भाव प्रकट गरी रंग, अबिर दलेर रंग्गीन पानी छ्यापेर, शुभकामना आदानप्रदान गरेर नाचगान गरी मनाउने गर्दै आइएको छ । चीन, जावा, श्रीलंगामा आगोको पूजा अर्चना गरी फागु पर्व मनाइन्छ । बर्मा, थाइल्याण्डमा पानीको पूजार्चना गरी वौद्ध मठमा गएर भिक्षुलाई दान दिई यो पर्व मनाउने गरिन्छ ।

थाइल्याण्डमा ‘साक्रान’ र बर्मामा ‘टिंगुला’ नामको यो पर्व प्रचलित छ । जर्मनीमा इष्टरका रूपमा रंगीन पानी छ्यापेर नाचगान गरी यो पर्व मनाइन्छ भने इजिष्ट, जापान, सुमात्रा आदि देशमा नाचगान गर्दै नयाँ अन्नको स्वागत गरी पर्व मनाउने गरिन्छ । युनानमा यो पर्व मनाउन आगो बालेर नाचगान गरिन्छ भने स्विडेन, फ्रान्स, इटली, पोल्याण्डमा विशेष गरी नाचगान रमाइलो गरी मनाइन्छ । यसबाट फागु पर्वलाई एउटा खुशीयालीको विश्वव्यापी रंगीन पर्व मान्न सकिन्छ । तर, हाम्रो मुलुकमा भने विशेष गरी पहाडी भेगमा पूर्णिमाको दिनमा र तराईमा पूर्णिमाको भोलिपल्ट धुमधामका साथ मनाइन्छ । त्यसैगरी मुलुकका सुदूरपश्चिमका थारू एवं थकाली सम्प्रदायले ठूलो महत्वका साथ मनाउने गर्दछन् । थारूहरू फागु पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउँछन् ।

अन्तमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागु वा होली पनि एउटा विशेष महत्वको चाड हो । फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबिर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एक आपसमा अबिर दलादल गर्ने र मीठा मीठा कुरा खाने चलन छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन आफन्तबीच रंग र अबिरले रंगिएर बडो हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा अर्थात होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथा भेटिन्छन् जसको कारणले होली पर्व चलेको छ । 

प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । बाबुले आफ्नो छोरालाई विभिन्न कोसिस गरेर आफ्नो बाटो अगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलीकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलीका उल्टै भष्म भईन भने प्रल्हादलाई आगोले केही गर्न सकेन । 

सोही खुशीयालीमा होलीपर्व चलेको हो भन्ने किम्वदन्ती छ तर हाम्रो देशमा हिजोआज फागु पर्वभित्र विकृति देखा पर्न थालेको छ । फागु पर्व आउनुपूर्व नै पानी भरेर लोला हान्ने गरिन्छ । लोला हान्नु असभ्यता हो । इच्छाविपरीत लोला हान्नु, रंग दल्नु फागु पर्वको विशेषता होइन । मनका खराब भावलाई हटाएर, एकापसमा सम्बन्ध स्थापित गर्न रंग दलेर होली खेल्नुलाई यस पर्वको विशिष्टता मानिन्छ । 

त्यसैले, अन्तर कुन्तरमा लुकेर लोला हान्ने गर्नु असभ्यता हो, सोधेर, खुसियालीमा उमंग वातावरणमा होली खेल्नु पर्दछ । आफूभित्र भएको गलत प्रवृत्तिलाई त्यागेर सुमार्गतिर अभ्रिप्रेरित हुन फागु पर्वले निर्देश गरेको देखिन्छ । फागु धार्मिक, सामाजिक, पौराणिक, आयुर्वेदिक सबै दृष्टिले उत्कृष्ट पर्व हो । खराब प्रवृत्तिलाई त्यागेर सत्मार्गतिर लाग्नु र विजय देखाउनु फागु पर्वको मूल आशय हो । 

यसरी संस्कृति र सभ्यता समेतलाई नराम्रो गोरेटोमा धकेल्न थालेको फागु पर्वसम्बन्धी विसंगतिविरुद्व एकजुट हुनुपर्ने वर्तमान अवस्था हरेक परिवारका खासगरी अभिभावक वर्ग विशेष सजग सचेत हुनु अति जरुरी देखिन्छ । वर्षमा एकचोटी आउँने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू–आफूमा मात्र खेल्यौं भनेमात्र सही अर्थमा होलीको महत्व रहन्छ ।