March 22, 2025, Saturday
२०८१ चैत्र १०

तत्काल एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा एमालेसँग गठबन्धन नहुने बताएका छन् । ‘अहिले ५ दलको गठबन्धनमा छौं, तत्काल एमालेसँग गठबन्धन र तालमेल हुने सम्भावना छैन’, उनले भने ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा संकट आएकाबेला माओवादी सहज ढंगले छलफल गर्ने र निकास दिने गरेको बताउँदै वर्तमान अवस्थामा एमालेसँगको सहकार्य नहुने प्रष्ट्याए ।

Advertisement

‘एमसीसी पास गर्नेबेला हामी एमाले अध्यक्षलाई भेट्न गएका थियौं तर उहाँमा देशप्रति कुनै चिन्ता देखिएन’, उनले भने, ‘सभामुख हटाउने, गठबन्धन तोड्ने मनसाय देखियो । ओली त अझै पूर्वाग्रही र निषेधात्मक रहेछन् । किन कुरा गर्न आइएछ भन्ने भयो ।’

उनले एमालेसँग तालमेल गर्ने कुरा एक हदसम्म नेपाली काँग्रेसको ब्यवहारमा भर पर्ने जनाए । ‘काँग्रेसका केही नेताहरु भन्ने गर्छन् नी माओवादी केन्द्रसँग गठबन्धन नै हुन सक्दैन भनेर, उहाँहरु अस्वभाविक ढंगले बोलिरहनुभएको छ’, उनले भने, ‘तर, प्रधानमन्त्रीले बोल्न बन्द गर भन्नुभएको छ । तर काँग्रेसले लखेट्न नै थाल्यो भने त तालमेलबारे परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’

उनले राजनीतिमा असम्भव भन्ने नहुने बताए । ‘सम्भावनाको खेल हो’, उनले भने । अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनबीच सबै ठाउँमा तालमेल हुन्छ भन्ने नभएको जनाए । ‘हाम्रो मूल उद्देश्य आफ्नै बलमा, एजेन्डा र संगठनका बलमा निर्वाचन जित्ने हो । परिणाम लिने र गठबन्धन बचाउने हो’, उनले भने ।

निर्वाचनमा तालेमल गर्ने कुरामा प्रमुख नेतृत्व पंक्तिमा कुनै असहमति नरहेको उनले जनाए । ‘लोकतन्त्रका लागि बनाइएको गठबन्धन हो । पछिसम्म पनि गठबन्धन रहन्छ’, उनले भने । एमसीसीका कारण गठबन्धन टुट्ने हो की भन्ने थियो, तर आफूहरुले ब्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेपछि सहजता आएको जनाए । एमसीसीको १२ बुँदे ब्याख्यात्मक घोषणा कानूनको रुपमा गइसकेको उनले बताए ।

‘गठबन्धन अब झन बलियो ढंगल अघि बढ्ने आधार तयार भएको छ । सरकार र गठबन्धन झनै दरिलो बनेको छ’, उनले भने । दलहरु निर्वाचन केन्द्रित भइसकेको उनले बताए । उनले भने, ‘दलहरु आ–आफ्नो एजेन्डा लिएर निर्वाचनमा जान्छन् । बाहिर निर्वाचन हुँदैन भन्ने हल्ला छ । तर तोकिएकै समयमा निर्वाचन हुन्छ । त्यसमा कुनै कन्फ्यूजन छैन । त्यसैले हामी तयारीमा लागेका छौं’, उनले भने । आवश्यकताअनुसार गठबन्धनबीच तालमेल गर्ने कुरालाई केन्द्रमा राखेर पार्टी अघि बढेको उनले जनाए ।

अध्यक्ष दाहालले अहिले पनि प्रतिगमनको खतरा नटरेको बताए । दाहालले देशभित्रका संविधान मास्ने तत्व र सदन विघटन गर्ने तत्वलाई समर्थन गर्न चाहने बाह्य शक्ति गठबन्धन टुटाउन लागिपरेको आरोप लगाए । ‘यसमा हिजो सेटिङ गर्ने र असंवैधानिक र अलोकतान्त्रिक काम गर्ने तत्वहरु अहिले पनि प्रतिगमनतिर जान लागिपरेको छन्’, उनले भने ।

उनले पार्टी निर्वाचनको तयारीका लागि देशभर प्रशिक्षणमा लागेको बताए । ‘हाम्रो एजेन्डा लगेर जनतामाझ गएका छौं र जान्छौं, आफ्नै तागतमा निर्वाचनमा लाग्न हामीले कार्यकर्तालाई निर्देश्न गरिसकेका छौं’, उनले भने ।

सदन अवरोध, कानुनी, असंवैधानिक र अलोकतान्त्रिक कुरा भएको प्रचण्डले बताए । ‘अदालतमा विचारधीन कुरालाई लिएर सभामुखमाथि प्रहार भएको छ । हिजोको प्रतिगमनलाई प्रमाणित गर्न सदन चल्न दिइएको छैन । गठबन्धनका तर्फबाट कुरा गरेर सदन खुलाउने प्रयास गरिएको छ’, उनले भने ।