April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि तिनाउ अस्पताल घेराउ

बुटवल– बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया (अप्रेसन) गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पताल घेराउ र नारबाजी गरेका छन् ।

Advertisement

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११, भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको बायाँ खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरवाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् ।

Advertisement

मृतकका आफन्तले माग पूरा नभएसम्म शब नबुझ्ने अडान लिएका छन् । सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा.योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् ।

३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनु पर्दैन भनेका र फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै मामाको मृत्युु भएको भान्जा हेमलालले बताए ।

४ वर्ष अघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए । अपे्रेसन अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताए । घटनाबारे अस्पताल प्रशासनसंग पटक पटक सम्पर्क गर्दा फोन रिसिभ गरेका छैनन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।