May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

भैरहवामा विदेशी क्लब सम्मलित क्रिकेट च्याम्पियनसिप हुँदै

भैरहवा– नेपालमा पहिलोपटक विदेशी क्रिकेट क्लब सम्मलित प्रो क्लब च्याम्पियनसीप हुने भएको छ । काठमाडौंको जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चैत २५ देखि बैशाख ३ गतेसम्म टी–२० फम्र्याटमा क्लबस्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

Advertisement

आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी विश्व क्रिकेटका महारथि अष्ट्रेलियन क्रिकेटर स्वर्गीय सेन वार्नलाई स्मरण गर्दै प्रतियोगिता गर्न लागिएको जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र मलेशियाका क्रिकेट क्लबको सहभागिता हुने आयोजक संस्था जोरा इन्टरनेशनलका प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।

लिग र नकआउट चरणमा गरी प्रतियोगितामा कुल १७ खेल हुने छन् भने ८ क्लबको सहभागिता रहने आयोजकले जनाएका छन् । ८ मध्ये ३ विदेशी र ५ नेपाली क्लबहरु हुन् । पत्रकार सम्मेलनमा काठमाडौं केन्द्रित ठूला प्रतियोगितालाई विकेन्द्रिकृत गर्ने लक्ष्यसहित भैरहवामा गर्न लागिएको अख्तरले बताए ।

‘क्रिकेटका लागि गौरवमय इतिहास बोकेको भैरहवामा स्तरीय क्रिकेट मैदान, सुविधा सम्पन्न होटल र पछिल्लो समय संचालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि क्रिकेटका कुनै पनि ठूलो प्रतियोगिताहरु यहाँ सम्पन्न गर्न कठिनाई नहुने हाम्रो विश्वास छ’, उनले भने ।

चौथो संस्करणको फ्रेन्चाइज एभरेष्ट प्रिमियर लिगसमेत सम्पन्न गरिसकेको जोराले क्रिकेटका अन्य ठूला प्रतियोगिता पनि गरिसकेको छ । प्रतियोगितालाई क्रिकेट अष्ट्रेलिया र नेपालस्थित अष्ट्रेलियन दूताबासबाट समाजिक संजालमार्फत् सपोर्ट सुरु भइसकेको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा इङ्गल्याण्ड र आयरल्याण्डका कमेन्टेटर आउने जनाइएको छ । यस्तै, नेपालसहित भारत, बंगलादेश र मलेशियाका संचारमाध्यमले प्रत्यक्ष प्रशासरण गर्ने जनाइएको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई नगद पुरस्कार प्रदान गरिनेछ । यद्यपि पुरस्कारको राशी भने केही समय पछि घोषणा गरिने प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ र रुपन्देही क्रिकेट संघले सहयोग गरेका छन् । प्रबन्ध निर्देशक अख्तरले २० वर्ष अघि क्लबस्तरीय क्रिकेट हुने गरे पनि अहिले हुन छाडेको बताए । ‘धेरै प्रतियोगिता फ्रेन्चाइजमा केन्द्रित भए’, उनले भने, ‘हामीले क्लबस्तरीय प्रतियोगिता फेरि सुरु गर्नुपर्छ भनेर लागेका छौं ।’

रुपन्देही ९० भन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेटर उत्पादन गर्ने जिल्ला हो । यहाँका कयौं खेलाडी राष्ट्रियस्तरमा राम्रो दख्खल राख्छन् । यसले पनि रुपन्देहीको क्रिकेटलाई विशेष महत्व दिएर पहिलोपल्ट क्लबस्तरीय प्रतियोगिता गर्न रुपन्देहीलाई रोजिएको अख्तरले जनाए ।

नेपाली क्लबहरुको कप्तानमा राष्ट्रिय खेलाडीहरु रहनेछन् । क्रिकेटर संदीप लामिछाने, पारश खड्का, ज्ञानेन्द्र मल्ल जस्ता अब्बल खेलाडी प्रतियोगितामा सहभागी हुने जनाइएको छ । रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले क्रिकेट क्षेत्रलाई प्रतियोगिताले नयाँ आयम दिने बताए । उनले संघले प्रतियोगिता यहाँ ल्याउन विशेष पहल गरेको जनाए ।