May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

जिल्ला प्रशासन रूपन्देहीमा अत्यावश्यकबाहेकका सेवा बन्द

भैरहवा– केही कर्मचारी कोरोना संक्रमित र केहीमा मिल्दाजुल लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।

Advertisement

सूचनामा प्रशासनले सेवा लिन आउने सेवाग्राहीको भीड अत्ययिधक हुँदा संक्रमण थप फैलने जोखिमसमेत बढेको उल्लेख गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता÷नविकरण, पेन्सन सिफारिस÷प्रमाणित, नाबालक परिचय पत्र लगायतका सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको जानकारी दिए ।

‘माथि उल्लेखित सेवाहरु बन्द गरिए पनि शान्ति–सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा भने सुचारु हुनेछन्’, प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘हाम्रा धेरै कर्मचारीहरु विरामी पर्नुभएको छ । अर्कातर्फ सेवाग्राहीको भीड पनि थेगिनसक्नु छ । संक्रमण थप नफैलियोस् भनेर तत्कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।’

प्रशासनले जारी गरेको सूचनामा कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेको जनाइएको छ । सूचनामा अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएको जनाइएको छ । बुधबार नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनेको प्रशासनमा बाक्लो भीड थियो ।

प्रशासनमा सेवा लिन पुगेकाले भौतिक दूरीको पालना गरेका थिएनन् । सेवा लिन तँछाडमछाड गरिरहेका थिए । भोलिदेखि सेवा बन्द हुने भएकाले पनि आज भीडभाड बढीे थियो ।